१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार ०८:३०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कवि मञ्जुलको ‘हाम्रा कवि र साहित्यकार’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार ०८:३०:००

चित्रकार सुरेशकुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरू समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ चित्र कवितासंग्रह प्रकाशित भएको छ । संग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविता छन् । 

चित्रकार सुरेश कुमारलाई साहित्यकारका सिर्जनामा पाइने भाव र उनीहरूका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने लाग्छ । त्यसैअनुरूप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए । ती मुहारचित्र हेरेर कवि मञ्जुलले कविता नै लेखे । तिनै चित्र र कविताहरू पुस्तकमा हेर्न र पढ्न पाइन्छ । संग्रहमा भानुभक्त आचार्यदेखि सरुभक्त र स्वयं कवि मञ्जुललगायत ५५ कवि तथा साहित्यकार समेटिएका छन् ।

पुस्तकको एकातिर उदास आँखाभित्र विद्रोह बोकेकी पारिजातको विशिष्ट मुहारचित्र हेर्दै अर्कोपट्टि यही मुहारचित्रमा आधारित ‘माथि शैलुङमा’ कविता पढ्दा पाठकलाई कला सम्मिश्रणको नौलो अनुभवजस्तो लाग्छ । बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलाहरूलाई हेर्दै पढ्दै गरिरहँदाको अनुभूति सिनेमाजस्तो लाग्छ ।

पुस्तकमा चित्र र शब्दको प्रयोग गरेर कलाको रोचक प्रयोग गरिएको छ । ‘हाम्रा कवि र साहित्यकार’ कवि र चित्रकारको संगमले नयाँ आयाम ल्याउन सक्दोरहेछ भन्ने उदाहरण दिने पुस्तक बनेको छ । संग्रहका चित्रकार सुरेशकुमारले देशविदेशमा थुप्रै कला प्रदर्शनी गरेका छन् ।

उनले ‘क्यान कला पुरस्कार’, ‘भानुभक्त मुहारचित्र प्रतियोगिता’लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । प्रसिद्ध उपन्यास ‘छेकुडोल्मा’का लेखक कवि मञ्जुलले ‘शिक्षा पुरस्कार’, ‘साझा पुरस्कार’लगायत पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।