Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ पौष १७ शुक्रबार ०६:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिमाली जिल्लालाई जोड्न यसरी छिचोलिँदै छ कर्णाली करिडोर

Read Time : > 1 मिनेट
२०७७ पौष १७ शुक्रबार ०६:३१:००

कालिकोट–हुम्ला एक सय ३७ किमिमध्ये एक सय २२ किमिमा गाडी गुड्यो, हुम्लालाई सडक सञ्जालमा जोड्न १५ किमि बाँकी, सेनालाई नै जिम्मा दिन स्थानीय बासिन्दाको माग

हिमाली जिल्ला हुम्लालाई बाँकी देशसँग सडक सञ्जालमा जोड्न नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकमा गाडी गुड्न थालेको छ । गाउँनजिकै गाडी पुग्न थालेपछि हुम्लावासी खुसी भएका छन् भने बाँकी काम पनि सेनालाई दिन माग गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने एक सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्र्याक खुलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किलोमिटर सडकमा ट्र्याक खुलेको नेपाली सेनाले जनाएको छ । ट्र्याक खुलेसँगै गाडी गुड्न थालेका छन् । 

यो सडकखण्ड निर्माणका लागि ९ चैत ०७१ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मिलन कार्कीले सल्लीसल्लासम्म ट्र्याक खुलेको बताए । ‘सल्लीसल्लासम्म एक सय २२ दशमलव ७५ किलोमिटर ट्र्याक खुलेको छ,’ इन्जिनियरसमेत रहेका मेजर कार्कीले नयाँ पत्रिकासँग भने, ‘खुलालुदेखि जैर खच्चासम्म एक सय १४ किलोमिटर सेनाले पनि तेलसहित गाडी गुडाउने गरेको छ । खच्चादेखि ८ दशमलव ७५ किलोमिटरमा गाडी गुडेको छैन । त्यसमा पनि छिटै गाडी गुड्छ ।’

सेनाले एक सय २५ किलोमिटर ट्र्याक निर्माणको जिम्मा पाएको थियो । त्यसमध्ये अब दुई दशमलव दुई किलोमिटर मात्रै बाँकी रहेको मेजर कार्कीले बताए । ‘हामीलाई जिम्मा दिएको सडकखण्डको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ, अब २२ सय मिटर बाँकी छ । त्यो पनि छिटै सक्छौँ,’ उनले भने । 

अब सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न १५ किलोमिटर मात्रै बाँकी छ । त्यो सडकखण्डको ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ‘सेना आफ्नो काम सकेर फर्किने तयारीमा छ । अब बाँकी काम पनि सेनालाई दिनुपर्छ,’ अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले भने, ‘ठेकेदारलाई जिम्मा दिए त यो काम पनि कैयौँ वर्ष लाग्छ ।’

बाँकी १५ किलोमिटर सडकखण्डमा पनि सेनालाई नै ट्र्याक खोल्ने जिम्मा दिएमा एक वर्षभित्रै हुम्ला सडक सञ्जालमा जोडिने जनाइएको छ । बाँकी खण्डको काम पनि सेनालाई नै दिए एक वर्षभित्र पूरा हुने निर्माण कार्यदलले जनाएको छ । तर, त्यसको जिम्मा अहिलेसम्म सेनालाई दिइएको छैन । 

हुम्लावासी हर्षित
कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म ट्र्याक खुलेपछि गाडी गुड्न थालेका छन् । गाउँनजिकै गाडी आउन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । गाउँनजिकै गाडी देखेका अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले खुसी भएको बताए । कर्णाली चिसापानी हुँदै भारतमा मजदुरी गर्न जाँदा पहिलोपटक गाडी देखेको सुनाउँदै उनले भने, ‘भारत जाँदा गाडी चढेको हुँ । हुम्लामा गाडी चढ्न पाउँछु भन्ने सोचेको थिइनँ । अब गाउँमै गाडी चढ्न पाउने भएका छौँ ।’

गाउँमै गाडी गुडेको देख्दा सपनाजस्तै भएको अदानचुली गाउँपालिकाकै अदानकला महताराले बताइन् । ‘सिमकोट जाँदा भारी बोकेर हिँड्नुपथ्र्यो । अब भारी बोक्ने दुःख सकिएलान्,’ उनले भनिन् । बाँकी काम पनि सेनालाई नै दिनुपर्ने उनको भनाइ छ । 

चार पुल निर्माण
खुलालुदेखि सल्लीसल्लासम्मको सडकखण्डमा पर्ने खोला तथा नदीमा सेनाले चार पुल पनि निर्माण गरेको छ । कालिकोटको सन्नीघाट र फुघाटमा दुईवटा पुल निर्माण भएका छन् ।  यस्तैगरी, हुम्ला र बाजुराको कबाडी खोलामा बेलिबिज्र निर्माण सम्पन्न भएको सेनाको निर्माण कार्यदलका प्रमुख कार्कीले बताए । गल्फागाडमा पनि भर्खरै पुल निर्माण भएको छ । अहिले बाजुराको जुक्तीखोलामा पुल निर्माणाधीन अवस्थामा छ । त्यस्तै, सल्लीसल्लामा पनि एउटा पुल निर्माण गर्नुपर्ने भएको छ ।