मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
माटो परीक्षणका लागि स्थानीय तहले खरिद गरेकाे मेशिनका बारेमा जनप्रतिनिधिलाई जानकारी गराउँदै प्राविधिक । 
मनीष खड्का रुकुम पश्चिम
२०७७ पौष १६ बिहीबार १५:४८:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

रुकुम पश्चिममा अब स्थानीय तहमै माटो परीक्षण 

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ पौष १६ बिहीबार १५:४८:००

माटो परीक्षणका लागि जिल्लाबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । 

जिल्लाका ६ वटै स्थानीय तहमा माटो परीक्षण प्रयोगशाला स्थापना गरिँदै छ । जसका लागि स्थानीय तहले आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिरहेका छन् । आफ्नै लगानीमा स्थानीय तहहरूले प्रयोगशाला स्थापना गरेर जिल्लामै पहिलोपटक माटो परीक्षणको व्यवस्था गर्न लागेका छन् । 

प्रयोगशाला स्थापनाका लागि सबै स्थानीय तहले साढे तीन लाख खर्च गर्दै छन् । प्रयोगशालामा आवश्यक पर्ने सामग्री आइसकेको र अब जडानसहितका काम बाँकी रहेको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । 

प्रयोगशाला स्थापनाका लागि तीन लाख ५० हजार खर्च भएको उहाँको भनाइ छ । प्रयोगशालामा खटिने कर्मचारीका लागि पनि तालिम दिइसकिएको र अब छिट्टै गाउँपालिकामै माटो परीक्षण सुरु हुने उनले बताए । 

आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले पनि केही दिनमा माटो परीक्षण सुरु हुने बताए । तीन लाख ५० हजार खर्च गरेर मेसिन किनेर ल्याइसकेको र बाँकी व्यवस्थापन गरेर परीक्षण सुरु गर्ने उनको भनाइ छ । सबै स्थानीय तहका एक–एकजना कर्मचारीलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । अहिलेलाई सबै स्थानीय तहका कृषि शाखाका प्रमुखलाई माटो परीक्षणसम्बन्धी आवश्यक तालिम प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ । 

स्थानीय तहले खरिद गरेका मेसिनले माटोमा १४ प्रकारका गुण पत्ता लगाउने प्रयोगशाला स्थापनामा सहयोग गरिरहेका कृषिविज्ञ राजेन्द्र देवकोटाले जानकारी दिए । माटोमा अम्लियपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्यतत्व, मुख्य खाद्यतत्व, प्रोटेबललगायतको डिजिटल नतिजा देखाउने र प्रिन्ट गरेर किसानलाई दिन पनि मिल्ने उनले बताए । सयवटा माटोको नमुना परीक्षण गर्ने रि–एजेन्ट किट अहिले मेसिनसँगै आएको उनको भनाइ छ । यी मेसिन भारतले विकास गरेको र नेपालमा पहिलोपटक रुकुम पश्चिममा आएको देवकोटाले बताए । 

जिल्लामा पहिलोपटक माटो परीक्षण प्रयोगशाला 

हाल जिल्लामा माटो परीक्षण शून्यजस्तै छ । केही मात्रामा क्षेत्रीय माटो प्रयोगशाला नेपालगन्ज तथा सुर्खेत पठाउनु र जिल्लामा कहिलेकाहीँ आयोजना हुने शिविरबाहेक अरू वेला माटो परीक्षण गर्ने गरिएको छैन । 

परीक्षण नगरी खेती गरिँदा उत्पादन बढ्न नसकेको स्थानीय तहले निष्कर्ष निकालेका छन् । माटो सुहाउँदो खेती गर्ने र उत्पादन बढाउने उद्देश्यले माटो परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको स्थानीय तहहरूको भनाइ छ । 

अहिले जिल्लाका कृषकहरूले परम्परागत शैलीमै खेतीपाती गर्दै आइरहेका छन् । आफ्नो बारीको माटोमा कस्तो गुण छ र त्यसमा कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान धेरै कृषकलाई छैन । परम्परादेखि नै गर्दै आएको खेतीलाई अहिले पनि निरन्तरता दिइएको छ । त्यस्तै, परीक्षण नहुँदा माटोको उपचारसमेत हुन सकेको छैन । जसका कारण हुनुपर्ने जति उत्पादन हुन नसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसी बताउँछन् । 

‘जिल्लामा माटो परीक्षणको व्यवस्था नहुँदा परीक्षण हुन सकेको छैन, माटोमा कस्तो गुण छ त्यो थाहा छैन्,’ उनले भने, ‘माटोमा देखिएको समस्या पनि जान्न सकिएको छैन, जसले गर्दा माटोको उपचार भएको छैन भने बिग्रिएको माटोमा खेतिीगर्दा उत्पादन बढ्न सकेको छैन ।’ अब भने जिल्लामै जतिवेला पनि माटो परीक्षण गर्न सकिने हुन लागेको र यसले माटोको गुणअनुसारको खेती र माटोको उपचारमा सहज हुने उनको विश्वास छ । 

प्रयोगशाला स्थापनाका लागि पूर्वगृहमन्त्री जनार्दन शर्माले पहल गरिरहेका छन् । जिल्ला समन्वय समितिले पनि प्रयोगशालाका लागि समन्वयकारी भूमिका खेलिरहेको प्रमुख राजकुमार शर्माले बताए । अब पनि परम्परागत शैलीमै खेती गरेर आर्थिक उपार्जन गर्न सम्भव नभएको निष्कर्ष आफूहरूको रहेको उनी बताउँछन् । अब पनि माटोको गुण पत्ता नलगाई अन्धाधुन्ध तरिकाले खेती गर्ने परम्परालाई निरन्तरता दिन नसकिने उनको भनाइ छ ।