मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी बेइजिङ
२०७७ पौष १६ बिहीबार १५:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

चीन सरकारले सिनोफार्मको खोपलाई अनुमति दियो

Read Time : < 1 मिनेट
रासस/एएफपी बेइजिङ
२०७७ पौष १६ बिहीबार १५:०२:००

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड– १९ विरुद्धको खोपलाई ‘ससर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।  सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरूले बताएका छन् । 
यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिडविरुद्धको खोप आपतकालीन प्रयोगअन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरूमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलव ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्युटिकल कम्पनीहरू फाइजर र मोडर्नाले विकास गरेका खोपहरू क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो । 

चिनियाँ स्वास्थ्य प्रशासनका उपआयुक्त चेन सिफीले संवाददाताहरूसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘ससर्त’ अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरू वृद्धवृद्धा र अरू जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए । 
चीनका करिब एक अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भने, ‘कोभिड– १९ बाट सुरक्षित रहन कुल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौँ ।’

बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौँ व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाइ छ ।