मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १६ बिहीबार १०:०२:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कारागारमा दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्

Read Time : > 1 मिनेट
२०७७ पौष १६ बिहीबार १०:०२:००

जिल्ला कारागार, जुम्लामा स्वास्थ्यकर्मीको दरबन्दी भए पनि एक वर्षदेखि रिक्त रहेको छ । जसले गर्दा कैदीबन्दीको उपचारका लागि समस्या भएको छ । 

जिल्ला कारागारमा अहिले एक सय १२ जना कैदीबन्दी रहेका छन् । जसमा तीनजना महिला र एक सय नौजना पुरुष छन् । उनीहरूको उपचारका लागि एकजना अहेवको दरबन्दी छ । तर, गत वर्षको असोजदेखि रिक्त रहेको छ । कैदीबन्दी सामान्य बिरामी पर्दा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनु परिरहेको छ । 

कारागारमा ६० वर्षमाथिका दुईजना ज्येष्ठ नागरिक छन् । त्यस्तै एक–एकजना गर्भवती महिला पनि रहेको जेलर गयाप्रसाद पाण्डेले बताए । ‘लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ,’ जेलर पाण्डेले भने । 

पानी र बिजुलीको पनि समस्या
कारागारमा कैदीबन्दीलाई खानेपानी र बिजुलीको पनि समस्या छ । लामो समयदेखि पानी र बिजुलीको समस्या झेल्दै आएको कारागारका नाइके खाम्बा रोकायाले बताए । ‘नदीको दूषित पानी पिउने गरेका छौँ,’ रोकायाले भने, ‘भरपर्दाे बिजुली पनि छैन ।’

कारागार विशेष क्षेत्र भएकाले पानी र बिजुली नियमित प्रदान गर्न सम्बन्धित निकायसँग पहल गरे पनि समस्या समाधान हुन नसकेको जेलर पाण्डेले बताए । उनका अनुसार कारागारमा प्रयोग गरिने पानी जेनेरेटरबाट तिला नदीबाट ल्याउने गरिएको छ ।

बलात्कार मुद्दाका कैदीबन्दी धेरै
जुम्लामा बलात्कार मुद्दाका कैदीबन्दी धेरै छन् । बलात्कारका मुद्दामा संलग्न ३८ जना कैदीबन्दी छन् । त्यसैगरी, कर्तव्य ज्यान मुद्दाका १८ जना कैदी र १५ जना बन्दी छन् । ज्यान मार्ने उद्योगमा एकजना कैदी र चारजना बन्दी, सवारी ज्यान एकजना कैदी र दुईजना बन्दी, डाँका चोरीमा चारजना कैदी, बहुविवाहमा पाँचजना कैदी र तीनजना बन्दी रहेका छन् । 

त्यस्तै, लागुऔषधका सातजना कैदी र सातजना बन्दी, ठगीको एकजना कैदी, आत्महत्या गर्न दुरुत्साहनको एकजना, हातहतियार खरखजानाको एकजना, संरक्षित नदीजन्यमा दुईजना बन्दी र पुराताŒिवक सामग्री चोरीका तीनजना बन्दी रहेका छन् ।