मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १६ बिहीबार ०८:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खबरदारी गर्न दर्जन उखु किसान काठमाडौंमै

Read Time : > 1 मिनेट
२०७७ पौष १६ बिहीबार ०८:५३:००

सम्झौताअनुसार २१ दिनभित्र ६६ करोड बक्यौता असुली गराउन खबरदारी गर्न एक दर्जन उखु किसान काठमाडौंमै बसेका छन् । २८ मंसिरदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरेका उखु किसानलाई तत्काल चार मिलबाट ६६ करोड रुपैयाँ बक्यौता असुली गरिदिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिखित प्रतिबद्धता गरेको छ ।

सोही प्रतिबद्धताअनुसार किसानहरूले १३ पुस साँझबाट आन्दोलन स्थगित गरेका थिए । आन्दोलनका क्रममा ७० जनाभन्दा बढी किसान सहभागी भएका थिए । सरकारसँग सम्झौता गरी आन्दोलन स्थगित गरेपछि धेरै किसानहरू पैसा पाउने आसमा घर फर्किएका छन् ।

तर, आन्दोलनको नेतृत्व तहमा रहेका उखु किसानका संरक्षक राकेश मिश्र, उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ राय र सचिव हरिश्याम राय, नवलपरासीको उखु किसान संघको महासचिव गोपाल यादव, किसान रामविलास महतोलगायत एक दर्जन किसान भने काठमाडौंमै छन् ।

विगतमा पनि सरकारले चिनी मिलबाट बक्यौता असुली गरिदिने सम्झौता गर्दै बिर्सने गरेको थियो । यसपटक भने सरकारी निकायलाई सम्झौताअनुसार पैसा असुलीका लागि ताकेता गर्न किसानहरू काठमाडौंमै बसेका हुन् । ‘हामी एक दर्जन किसान काठमाडौंको गौशाला धर्मशालामै बसेका छौं, यहाँ बसेर किसानसँग भएको सम्झौताअनुसार बक्यौता असुलीका लागि सरकारी कर्मचारीलाई ताकेता गर्नेछौँ’ यादवले भने ।

सरकारले सम्झौतालाई बिर्सेर भुक्तानी दिलाउन आलटाल गर्ने विगतको प्रवृत्तिलाई सुधार गर्नुपर्ने उनले बताए । ‘हामीले यसअघि पनि सम्झौता गर्दै आन्दोलन स्थगित गर्ने गरेका थियौँ, तर भुक्तानी पाउन सकेनौँ’ यादवले भने, ‘यसपटक पनि सम्झौता गरेर आन्दोलन स्थगित गर्दा पैसा नपाइने हो कि भनेर धेरे किसान साथीभाइले चिन्ता देखाउनुभयो । त्यसैले, नेतृत्व तहमा बसको हामी काठमाडौंमै बसेर बक्यौता असुलीका लागि ताकेता गर्छौँ भनेर अरू किसानलाई घर पठाएका छौँ ।’

काठमाडौंमा किसान आन्दोलन चर्किँदै गएपछि श्रीराम सुगर मिल, अन्नपूर्ण चिनी मिल, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी मिलका सञ्चालकलाई कारबाही गर्न गृह मन्त्रालयले सर्लाही, नवलपरासी र रौतहटको जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

गृहको पत्राचारपछि चारवटै चिनी मिलले दबाबमा आएर आधा रकम भुक्तानीसमेत गरेका छन् । उद्योग मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिलले २६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलले २ करोड र अन्नपूर्ण तथा इन्दिरा सुगर मिलले ५.५ करोड रुपैयाँ किसानहरूलाई भुक्तानी दिइसकेको छ । तर, ९ पुसपछि चारवटै मिलले भुक्तानी रोकेका छन् ।

बिहीबार दिउँसो अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालको काठमाडौं, त्रिपुरेश्वरस्थित कर्पोरेट कार्यालय पुगेर किसान प्रतिनिधिले भुक्तानी अवस्थाबारे बुझेका छन् । त्यसक्रममा अन्नपूर्ण र इन्दिरा सुगर मिलको बैंक खाता रोक्का भएकाले भुक्तानी हुन नसकेको जानकारी पाएको यादवले बताए ।

रौतहटको श्रीराम सुगर मिलले ३६ करोड रुपैयाँ दिनुपर्ने भए पनि २६ करोड भुक्तानी गरेर बाँकी रकम दिएको छैन । त्यस्तै, लुम्बिनी चिनी मिलले १० करोड रुपैयाँ दिनुपर्ने भए पनि २ करोड मात्र दिएर बाँकी रकम रोक्का राखेको छ ।