मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष १६ बिहीबार ०६:४२:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सकियो नेपाल लिटरेचर फेस्टिभल

कला र साहित्यको प्रवद्र्धन मात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिन फेस्टिभल सफल भएको आयोजकको भनाइ

Read Time : > 2 मिनेट
२०७७ पौष १६ बिहीबार ०६:४२:००

कास्कीको सराङ्कोटमा आयोजित नवौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबार सम्पन्न भएको छ । फरक शैली र बौद्धिक व्यक्तित्वका खुराकले उपस्थित दर्शक स्रोतालाई एकाग्र पार्ने लिटरेचर फेस्टिभल सन् २०१६ देखि फेवातालको किनारमा आयोजना हुने गरेकोमा यसपटक कोरोना भाइरस संक्रमणका कारण अवधि छोट्याउँदै दुई दिनसम्म सराङकोटमा गरिएको हो ।

फेस्टिभलको नवौँ संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता थिए । भर्चुअल रूपमा गरिएको फेस्टिभलमा यसपटक दर्शकको उपस्थिति थिएन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं फेस्टिभलको युट्युब च्यानलबाट लाइभ प्रसारण गरिएका थिए ।

प्रत्यक्ष दर्शकको उपस्थित नभए पनि विगतका शृंखलाजस्तै नवौँ संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा थिए । समग्रमा फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिन सफल भएको महोत्सवका निर्देशक अजित बराल बताउँछन् ।

मुख्यमन्त्रीदेखि साहित्यकार र व्यवसायीसम्मको जमघट
लिटरेचर फेस्टिभलको अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.महेश्वर ढकाल, वातावरणविद् डा.अरनिको पाण्डे र शिलशिला आचार्यसँग पत्रकार रमेश भुसालले संवाद गरे ।

 

संवाद वातावरण संरक्षणको क्षेत्रमा भएको काम र प्रदेश सरकारले खेलेको भूमिका साथै यससँग जोडिएका विविध पाटामा केन्द्रित थियो ।दोस्रो सत्र ‘प्रदेशबाट देखिने देश’मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार वसन्त बस्नेतले अन्तर्संवाद गरे । यो सत्रमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम एवं परिदृश्यबारे गरमागरम बहस भयो ।

मुख्यमन्त्री गुरुङले संविधान बनाउने वेला संघीयताका बारेमा धेरै छलफल गर्न नपाएकाले नेपालको संघीयता कमजोर रहेको स्वीकार गरे । उनले बहुमतको प्रधानमन्त्रीलाई काम गर्न नदिएकाले अहिलेको अवस्था आएको बताए । बहुमतको सरकार हुँदा पहिले पनि यस्ता किसिमका अभ्यास भएको उनको भनाइ थियो । ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो युनिभर्सल ट्रुथ हो,’ गुरुङले भने । प्रदेशमा आफूलाई काम गर्न नदिए अर्को पार्टीसँग एकता गर्ने र नभए नयाँ जनादेशमा आफू जाने उनले बताए ।

अर्काे सत्र ‘कोरोनाकालीन उद्योग वाणिज्य’मा पत्रकार कुवेर चालिसेले आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग छलफल चलाए । यो सत्रमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चापरिचर्चा भयो । साथै, निजी क्षेत्रले कोभिडकै बीचमा गरिरहेका सकारात्मक प्रभावबारे पनि उनीहरूले संवाद गरे ।

सेवा र उत्पादन क्षेत्र, साना उद्योग, व्यवसाय र स्वरोजगारीमा आबद्ध व्यवसायीलाई सबैभन्दा बढी मर्का परेको उनको भनाइ थियो । हाल निजी क्षेत्रमा धेरै समस्या भए पनि नेपालको निजी क्षेत्र आफैँमा विभाजित भएकाले झन् समस्या पैदा भएको ढकालको भनाइ थियो ।

भएका उद्योगी, व्यवसायी र सम्बन्धित संघसंस्था र निकाय अब एकै ठाउँमा उभिएर एउटै बोली बोल्ने वेला आएको भन्दै नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्समा गएर साझा एजेन्डा बनाउने र एउटै आवाज बनाएर अघि बढ्ने काममा महासंघ जुटेको वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले बताए ।

उनले अर्थतन्त्रले अब डिजिटलतर्फ छलाङ मारिसकेको बताउँदै विगतमा मानव समाजले वस्तु साटासाट गरेर कारोबार गर्ने गरेको, त्यसपछि पैसा छापिएको र त्यसले क्रान्ति ल्याएको स्मरण गरे । ‘अब मुद्राबाट छलाङ मार्दै हामी डिजिटल इकोनमीतर्फ लागेका छौँ । नेपाल पनि डिजिटल इकोनमीमा जान सुरु गरेको अवस्थामा कोरोनाले यसलाई सहज गराइदिएको छ,’ ढकालले भने ।

संघीयताबारे चिन्ता
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दाससँग पत्रकार दीपक परियारले ‘संघीयताका अवसरहरू’ सत्रमा छलफल चलाए । वक्ताहरूले देशमा संघीयता आए पनि त्यो प्रदेशहरूमा प्रभावकारी कार्यान्वयन नभएको बताए ।

मन्त्री गुरुङले राष्ट्रिय राजनीतिमा अनपेक्षित परिस्थिति उत्पन्न हुँदैमा संघीयता वा गणतन्त्र संकटमा नपर्ने दाबी गरे । संघीयताले बिस्तारै जनतालाई सार्वभौम बनाउँदै लगेको र कामका हिसाबले गण्डकी प्रदेश अन्य प्रदेशभन्दा अगाडि रहेको दाबी उनको थियो ।

अर्को सत्र थियो ‘क्वेर हुनुको अर्थ’ । यो सत्रमा अनुवादक तथा लेखक निरञ्जन कुँवर र भिक्षु कश्यपबीच संवाद भयो । लैंगिकता एवं यौनिकताको क्षेत्रमा लामो समयदेखि काम गरेका सुनिलबाबु पन्त हाल भिक्षु कश्यपका रूपमा चिनिन्छन् । यो सत्रमा उनीहरूले समाजमा क्वेर भएर जीवनयापन गर्नुका दुःख एवं संघर्षबारेमा छलफल गरे । क्वेरको शाब्दिक अर्थ ‘अचम्मको’ भएको जानकारी दिँदै भिक्षु कश्यपले सन् १९८०÷९० को दशकमा अमेरिकामा उक्त शब्द प्रयोगमा आएपछि विश्वव्यापी रूपमा स्विकारिएको बताए ।

‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा.भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले संवाद गरे । उनीहरूले अहिलेका युवाहरूले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरे । साथै, देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भयो ।

महोत्सवको अन्तिम सत्र थियो, ‘तीन आख्यान’ । यो सत्रमा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारू प्रस्तुत भइन् । उनीहरूले नेपाली साहित्यमा आख्यानको अवस्था आदिबारे छलफल गरे । साथै, पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि उनीहरूबीच संवाद भएको थियो । उनीहरूले नेपाली साहित्यमा आख्यानको अवस्था, पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा संवाद गरेका थिए ।