Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ पौष १६ बिहीबार ०६:०९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

न संविधानको धारा, न कुनै संविधानविद्को सहारा, तर पनि प्रधानमन्त्री भन्छन्– संसद् विघटन मेरो विशेषाधिकार हो

Read Time : > 4 मिनेट
२०७७ पौष १६ बिहीबार ०६:०९:००

प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले प्रधानमन्त्रीको विशेषाधिकारका रूपमा आफूले कदम चालेको बताएका छन् । 

‘संसद् पुनर्स्थापना संविधानले मिल्दैन । ६४ प्रतिशत बहुमत भएको नेताको हैसियतमा मैले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छु । अब बाँकी ३६ प्रतिशतमा विकल्प बन्छ ? एकाउन्न प्रतिशत विकल्प बन्दैन भने संसद् पुनस्र्थापना केका लागि हुन्छ ? अस्थिरताका लागि, तमासाका लागि हुन्छ ? संसद् पुनस्र्थापनाको सम्भावना नै छैन,’ नेकपा (ओली समूह)को सुदूरपश्चिम प्रदेशद्वारा कार्की बैंक्वेटमा आयोजित भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले भने ।

संसद् विघटन गैरसंवैधानिक भएको तर्क गर्नेलाई प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘संविधानले होइन, हाम्रा केही वकिलसापहरू राजनीतिक आग्रहवश भन्छन्– संविधानमा विघटन लेखिएकै छैन । धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटनको सिफारिस गर्नेछ र नयाँ निर्वाचनका लागि मिति तोक्नेछ । पाँच वर्षअघि विघटन हुनै सक्दैन भन्नुहुन्छ उहाँहरू । तर, धारा ८५ ले भन्छ, अगावै विघटनबाहेक संसद्को अवधि पाँच वर्षको हुनेछ । अनि राजनीतिक आग्रह देखाएर हुन्छ ? संविधानमा देखाएर हुन्छ ? संसारको अभ्यास के छ हेर्नुपर्‍यो । बेलायतमा संविधान छैन, तर अस्ति भर्खर संसद् विघटन भयो । संसदीय प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार मानिन्छ ।’ 

माधव नेपाल प्रचण्डको कार्यकर्ता, बिचरा दुःखी मनमा हुनुहुन्छ 
पार्टी विभाजन गरेर अध्यक्ष बनेका माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता बनेको ओलीको आरोप छ । ‘माधव नेपालजीको बारेमा त मलाई टिप्पणी नै गर्नुछैन, किनभने उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो । उहाँ कार्यकर्ता हुन जानुभएको छ । उहाँ मलाई पदको लोभ छैन पनि भन्नहुन्छ, तर उधारो होइन, नगद हाताहाती चाहिन्छ पनि भन्नुहुन्छ । नगद के रहेछ भनेको त द्वितीय अध्यक्ष,’ ओलीले भने, ‘एउटा खास परिस्थितिमा हामीले दुईवटा अध्यक्ष बनाएका थियौँ । एमाले र माओवादीको अध्यक्ष मिलाएर बनाएका थियौँ, आन्दोलन एकीकृत गर्नका लागि । तर, आन्दोलन फुटाउन पनि दुई–तीनवटा अध्यक्ष चाहिन्छ ? जुटाउन पो हामीले बनाएको त । तर, मन भनेको अचम्मकै हुँदो रहेछ, न सभापति हुन पाउने, सभापति पनि प्रचण्डले चलाउने । छेउमा बस्न पाएकै थियो, फेरि अध्यक्ष नभई नहुने किन हो ? मैले बुझेको छैन ।’ 

पार्टी विभाजनपछि नेपाल सन्तुष्ट नरहेको जिकिर गर्दै उनले केही समयपछि मूल धारमै फर्किने जिकिरसमेत गरे । ‘उहाँको बारेमा म कुनै कमेन्ट गर्दिनँ, बिचरा दुःखी मनमा हुनुहुन्छ । अलि पछि... समय कति लाग्छ भन्न सक्दिनँ, उहाँहरू....’ उनले भने । 

अमिल्दो मृत्युको भविष्यवाणी गरेर सेन्टिमेन्ट भड्काउन खोजियो 
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले आफ्नो मृत्युको भविष्यवाणी गरेकोसमेत आरोप लगाए । ‘उहाँहरूले वैशाखबाट ओली सिद्धियो भन्नुभएको छ । उहाँहरू भविष्यवाणी कस्तो नमिल्दो गर्नुहुन्छ भने, पोहोर बिमारी परेँ, मरिहाल्छ भन्नुभो । परारै बिरामी पर्दा उपचार गराउन बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भन्नुभो, तर म त प्लेनको सिटमै बसेर आएँ । अस्ति मलाई इन्फेक्सन भएर अप्रेसन गर्नुपर्‍यो, अप्रेसन कहिलेकाहीँ जटिल हुन्छ, गयो भनेर खुसी हुनुभो । उहाँहरू भविष्यवाणी हुनेखालको गर्दै गर्नुहुन्न । म मर्न त एक दिन मरिनै हाल्छु । उहाँहरूको आकांक्षा पूरा हुन्छ । अगाडि–पछाडि प्रकृतिको टुंगो हुँदैन,’ ओलीले भने, ‘तर मचाहिँ एक दिन मर्छु । तपाईंहरूलाई सुन्दा राम्रो लाग्दैन, तर सत्य हो । मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने कुरा सभ्यता होइन । विरोधीलाई पनि स्वास्थ्यलाभको कामना गरिन्छ । लड्नु छ भने रोगीसँग होइन, मजबुद पाखुरा भएको मसलदार खेल्न जानेकैसँग खेल्न मजा आउँछ । त्यसैले सुस्वास्थ्यको कामना गरिन्छ ।’

केही सिट ल्याउन चुनावी तयारी गर्नुस्, सडकमा अलकत्रमाथि नबस्नुस्
ओलीले माइतीघर मण्डला र भृकुटीमण्डपमा आन्दोलन गर्नुको सट्टा केही सिट जित्नकै लागि भए पनि अहिल्यैदेखि चुनावी तयारी गर्न प्रचण्ड–नेपाल पक्षलाई सुझाब दिए । ‘उहाँहरू चुनाव हुँदै हुँदैन भन्नुहुन्छ । वैशाखको चुनावमा केपी ओली पत्तासाफ हुन्छ पनि भन्नुहुन्छ । म उहाँहरूलाई भन्न चाहन्छु, तपाईंहरूले पनि केही सिटचाहिँ ल्याउनुस् भन्ने शुभकामना छ, केही सिट ल्याउनुस्, त्यसका लागि अहिलेदेखि सडकमा गएर बेकारसँग अलकत्रमाथि बसेर कपडा बिगारेर केही काम छ ? अचम्म के भने लोकतन्त्र आइसक्यो, उहाँहरूले नै भनेको होइन, अब सडकमा जानुपर्दैन, सदनबाटै सबै काम गर्न सकिन्छ । वेलावेलामा आवधिक जनादेश लिने त्यो हो लोकतन्त्र’ ओलीले भने, ‘तर, उहाँहरू सिँगौरी खेलेर वरपर भित्तो हान्नुहुन्छ । भुइँ खोस्रिनुहुन्छ, नजिकै आएर भेट्न डराउनुहुन्छ । कहिले माइतीघर मण्डला, कहिले भृकुटीमण्डप । एक्लै सिँगौरी खेल्दा राम्रो छ, चुनावमा भिडेका वेला, जनताले मतदान गरेका वेला उहाँहरूलाई थाहा हुनेछ, मेरो सुझाब केही सिट जित्नुछ भने अहिलेदेखि तयारीमा लाग्नुस् ।’ 

प्रचण्डलाई जति कोसिस गर्दा पनि बुझाउन सकिएन 
ओलीले प्रचण्डलाई जति कोसिस गर्दा पनि सहमति र समझदारीको बाटोमा हिँडाउन नसकेको बताए । ‘तीन वर्षमा मेरो डोब साबुनका धेरै डल्ला र सेम्पुहरू खर्च भयो । ड्रमका ड्रम पानी खत्तम भयो, उहाँलाई धुँदाधुँदा, साबुन लगायो पखाल्यो, जस्ताको तस्तै,’ ओलीले भने, ‘अन्तिममा तपाईंहरूले देख्नुभो, उहाँहरू बहुमत छ भन्दै हुनुहुन्छ, केको बहुमत ? मैले एकताका लागि पार्टीभित्र माधव गुट छँदै थियो, फेरि प्रचण्ड गुट उसलाई उत्तिकै सिट दिँदा दुवै मिल्दा उतै बहुमत पुग्छ भन्ने थाहा थिएन ? ५६ वर्षदेखि राजनीति गरेको, ५० वर्षदेखि नयाँ आन्दोलन गरेर आएको मान्छेलाई यत्तिका तिकडम उनीहरूले औँलामा थुक लगाएर यसो अर्कोतिर पर्तिर सार्ने कुरालाई मैले त नबुझेजसो गरेर चुप लागेर बसेँ । यस्तो जादु उहाँहरूले धेरै देखाउनुभो, तर ए हो भन्दै बसेँ । तर, मैले औंला सट्टसट्ट सारेको देखेको छु । उहाँहरूलाई मैले त्यो संख्या एकताका लागि दिएको थिएँ, यो देश बनाउन, संविधान कार्यान्वयन, स्थिरताका लागि, देश अगाडि बढाउनका लागि दिएको थिएँ । तर, उहाँहरूले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभो । अपमान......भयो । मान .....पाइनँ मैले । त्यसैका लागि प्रयोग भो ।’ उनले प्रचण्डसँग पटकपटकको सम्झौताले एउटा ब्रिफकेसै भरिए पनि कामयावी नबनेको पनि बताए ।

राष्ट्रपतिमाथि महाअभियोग लगाउन खोजेको आरोप 
उनले प्रचण्ड–नेपाल पक्षले राष्ट्रपतिमाथि महाअभियोग लगाउन खोजेकाले पनि अहिलेको परिस्थिति उत्पन्न भएको आरोप लगाए । ‘उहाँहरू ममाथि अविश्वासको प्रस्ताव, राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव, अरू विभिन्न संस्थामाथि महाअभियोगको प्रस्ताव, यो त लोकतान्त्रिक मूल्य–मान्यता, संस्थाहरूको मर्यादा केही नराख्ने, सबैलाई यो गणतन्त्र लोकतन्त्र व्यवस्था कामै रहेनछ भन्ने पार्ने । उहाँ अहिले पनि भन्नुहुन्छ, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ । खासमा त्यसो भन्नुहुन्छ, तर अरू कसैले सुन्लान् कि भनेर वरिपरि पनि हेर्नुहुन्छ । उहाँलाई बजारमा अर्कै कुरा बेच्नुपरेको छ,’ ओलीले भने, ‘उहाँ अहिले महान् शान्तिकारी, परिवर्तनकारी देखिनुभएको छ । जनताको पक्षधर देखिनुभएको छ । उहाँले युवाहरूलाई सेन्टिमेन्टमा ल्याएर आन्दोलनमा होमेर कतिका हात छैन, कतिका खुट्टा छैन, कति शरीरमा गोली बोकेर, कसैको कम्मरको हड्डी खुस्किएको छ, बिस्तारामा परेका छन् । त्यस्तो जीवन बिताउन कति कठिन हुन्छ उहाँलाई के थाहा ? उहाँ त आफ्नो पदका लागि मरिमेट्नुभएको छ, आफ्ना परिवारका लागि मरिमेट्नुभएको छ ।’

प्रचण्डको आत्मकेन्द्रित चिन्तनकै कारण जनयुद्धमा हजारौँ अलपत्र र बेसहारा बनेको पनि ओलीले आरोप लगाए । त्यस्तै, उनले वामपन्थीसँग चुनाव तालमेल गरेर प्रचण्डले कांग्रेससँग सरकार बनाउने कुरा गर्दै बार्गेनिङ गरेको र सहमति तथा समझदारीप्रति इमानदार नबनेको आरोप पनि लगाए ।

राष्ट्रपतिमाथिको अपमान भएकोमा आक्रोश 
प्रधानमन्त्री ओलीले मंगलबार प्रदर्शनका क्रममा राष्ट्रपति संस्थाको मानमर्यादाकै अपमान हुने गरी नाराजुलुस भएको आरोप लगाउँदै आक्रोशसमेत व्यक्त गरे । ‘उहाँहरूले जुलुसमा कस्ता नारा लगाउनुभयो, महिलाहरूप्रतिको उहाँहरूको दृष्टिकोण के रहेछ, गणतन्त्रप्रतिको दृष्टिकोण के रहेछ, गणतान्त्रिक प्रणालीको सर्वोच्च संस्थाप्रति उहाँहरूको मान–सम्मान के रहेछ, त्यो कुरा उहाँहरूले सडकभरि छताछुल्ल छरेको कतै लुकेको छैन । मैले दोहोर्‍याइरहनुपर्दैन । जसको ध्यान आफूमा, आफ्नो पदमा मात्रै छ । बोलेको भाषण के छ, मलाई मान गरेनन्, अपमान गरे । जसको ध्यानै त्यतिमा छ, अनि देशको ध्यान कसरी हुन्छ ?’ ओलीले भने । 

लेखराज भट्टले भने– महाकालीमा ओलीको राष्ट्रघात, अहिले राष्ट्रवादी नेता

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीले टनकपुर सन्धि गरेर राष्ट्रघात गरेकाले आफूले पहिला राष्ट्रवादी नेता नमाने पनि अहिले भने नक्सा प्रकाशनको अगुवाइ गरेकाले राष्ट्रवादी नेताका रूपमा समर्थन गरेको प्रस्ट्याए । ‘केपी ओलीले पहिला टनकपुर सन्धि गरेर राष्ट्रघाती काम गर्नुभो, त्यसैले उहाँलाई राष्ट्रवादी मान्दैनथेँ, तर आज उहाँले लिम्पियाधुरासम्म नेपालको नक्सा ल्याउने कसैले नगरेको आँट गर्नुभो,’ भट्टले भने, ‘यस्तो आँट एकपटक प्रधानमन्त्री हुँदा झलनाथ खनाल र माधवकुमार नेपाल र दुईपटक प्रधानमन्त्री हुँदा प्रचण्डले किन गर्नुभएन ?’

भट्टले प्रचण्डका कारण अहिले देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको आरोप लगाए । ‘प्रचण्डले क्रमभंग, धक्का, महाविपत्ति, छलाङ भन्ने गर्नुहुन्थ्यो, अलिकति सोझ्याएर उहाँले अहिले सडकमा विपत्ति ल्याउनुभएको छ, देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ,’ भट्टले भने । उनले लामो समयदेखि घाइते, बेपत्ता र सहिद परिवार नसम्झने प्रचण्डले अहिले सम्झिएर पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेकाले त्यसले पूर्वएमाले पनि एक ठाउँमा आउने अवस्था बन्न सक्ने बताए । ‘उहाँले पूर्वमाओवादी एक ठाउँमा हुनुपर्छ भनेको हो भने पूर्वएमालेलाई पनि एक होस् भनिरहनुभएको छ, त्यसैले माधव नेपाललाई यतातिर (केपी समूह)मा पठाउनुपर्‍यो,’ भट्टले भने ।