१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १६ बिहीबार ०६:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२६ महिनापछि एसपी डिल्ली विष्टको पुनर्वहाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १६ बिहीबार ०६:००:००

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । 

८ कात्तिक ०७५ मा गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय गरेको थियो । प्रहरी नियमावलीमा भएको प्रावधानअनुसार विष्टले सो निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुनरावेदन दिएका थिए । त्यसकै आधारमा गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै उनलाई पुनर्बहालीको निर्णय भएको एक मन्त्रीले बताए । 

एसपी विष्टलाई सेवाबाट हटाउँदा मुख्य तीन आरोप लगाइएको थियो । निर्मला हराएपछि खोजी गर्न चासो नदिएको, शव भेटिएपछि घटनास्थलको सुरक्षा नगरी प्रमाण मेटाएको र नक्कली अभियुक्त खडा गरेको । पछि गरिएका छानबिनमा यी आरोप पुष्टि हुन सकेनन् । सुरुमा पीडितलाई प्रहरीबाट राम्रो व्यवहार नभए पनि नियोजित रूपमा प्रमाण मेटाएको आधार भेटिएको थिएन । 

नक्कली अभियुक्त खडा गरिएको आरोप पनि पछि प्रहरीकै छानबिनमा गलत ठहरिएको थियो । एसपी विष्टले नै पक्राउ गरेका स्थानीय दिलीपसिंह विष्ट अहिले पनि अपराधको सबैभन्दा नजिक छन् । अनुसन्धानमा पनि बदनियत नदेखिएपछि उनलाई पुनर्बहाली गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए । 

‘त्यतिवेला पनि प्रहरी नेतृत्व र गृह प्रशासनले प्रमाणभन्दा भिडको निर्देशनका आधारमा त्यस्तो निर्णय गरेको थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘गृह र प्रहरी नेतृत्वको गलत निर्णयकै कारण यो घटनामा प्रहरी बदनाम भएको हो ।’ 

विष्टसँगै सेवाबाट हटाइएका इन्स्पेक्टरको भट्टको हकमा भने निर्णय भएको छैन । उनी स्थानीय वडा प्रहरी कार्यालयको इन्चार्ज थिए । निर्मला हराएको दिन बेलुका उनका परिवारले खोजी गर्न आग्रह गर्दा उनले चासो नदिएको र बेलुका साथीहरूसँग मदिरा पिएर बसेको छानबिनमा खुलेको थियो ।
 
निर्मलालाई न्याय कहिले ? 
ढिलो भए पनि एसपी विष्टले यो घटनामा न्याय पाएको प्रहरी अधिकारीहरू बताउँछन् । तर, यो प्रकरणको मुख्य पाटो निर्मलाको परिवारलाई न्याय हो, जुन सरकारले अझै दिन सकेको छैन । निर्मलाको बलात्कार र हत्या कसले गरेको हो भन्ने अझै अनुत्तरित छ । 

प्रहरीका पछिल्ला अनुसन्धानले विगतमा पक्राउ परेका दिलीपसिंह विष्ट दोषी भएको परिस्थितिजन्य प्रमाणबाट देखिन्छ । तर, अकाट्य प्रमाण नहुँदा प्रहरीले यो घटना सुल्झाउन सकेको छैन । 

मृतक निर्मलाकी आमाले समेत दिलीपविरुद्ध नै किटानी जाहेरी दिएकी छिन् । विगतमा भन्दा उनीविरुद्ध धेरै प्रमाण भए पनि वैज्ञानिक प्रमाण नहुँदा फेरि पक्राउ गर्न नसकिएको एक अधिकारी बताउँछन् । सुरुमा पक्राउ पर्दा डिएनए म्याच नभएपछि उनी छुटेका थिए । पछि विज्ञको टोलीले गरेको छानबिनमा डिएनए परीक्षण नै गलत भएको खुलेको थियो । 

निर्मला हत्याको २९ महिना भइसकेको छ । यसबीचमा प्रहरीले एक दर्जनभन्दा धेरै अनुसन्धान टोली बनाएको छ । पछिल्लो समय पनि सिआइबीको टोलीले कञ्चनपुरमै बसेर अनुसन्धान गरिरहेको छ । यो घटनाको अनुसन्धानमा आबद्ध प्रहरीमाथि यातना र अनुसन्धानमा लापरबाही गरेका दुई मुद्दासमेत दायर भएका थिए । जसमा उनीहरूले सफाइ पाइसकेका छन् ।