मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ पौष १३ सोमबार १६:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव समूहको नेकपाका कार्यकर्ताले लुकाएर राखेका युद्ध सामग्री बरामद

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ पौष १३ सोमबार १६:२३:००

संखुवासभाको चैनपुर नगरपालिका– ४ मैदानेमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले ओडारमा लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा विप्लव कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

प्रहरीले विप्लव समूहले जंगलमा प्रयोग गर्दै आएको टेन्ट दुई थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम चार थान, हतियार तथा कम्ब्याटसहितको जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईको फोटो ६ वटा र ११ वटा मोबाइल सेट, पाँच थान एनटिसी र एनसिएलको एउटा सिम, टर्चलाइट, कैँची, लाइटर, स्लिपिङ ब्याग, त्रिपाल, सेफ्टी फ्युज, सैन्य प्रशिक्षणका दस्ताबेज र लत्ताकपडासमेत बरामद गरेको जनाएको छ । 

विप्लव समूहका कार्यकर्ताले चैनपुर– ४ को मैदानेस्थित जंगलको ओडारमा लुकाएर राखेको सामग्री बरामद गरेको थियो । 

आइतबार दिउँसो सवा ३ बजेतिर प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज मल्लले जानकारी दिए । 

उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गस्ती टोलीमाथि फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको प्रहरीको भनाइ छ ।

विप्लव समूहका जिल्ला इन्चार्ज युवराज राईलगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको डिएसपी मल्लको भनाइ छ । 

सुरक्षाकर्मीले घेरा हाल्दा विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेको र दुवै समूहबीच गोली हानाहान भए पनि कुनै पनि मानवीय क्षति नभएको डिएसपी मल्लले बताए । 

‘अहिले विप्लव समूहका कार्यकर्ता भागेको जंगल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव समूहका कार्यकर्ताले ५–६ राउन्ड गोली चलाएका थिए । प्रहरीले १५ राउन्ड जवाफी गोली चलाएको थियो,’ डिएसपी मल्लले भने ।

अहिले सो ठाउँ र सम्भावित चेकपोस्टहरूमा नेपाल प्रहरीका इन्स्पेक्टरको कमान्डमा ३६ जना र सशस्त्र प्रहरीका तर्फबाट १० जनाको टोली खटाइएको छ । 

उक्त मैदानेक्षेत्रमा यसअघि पनि दुईपटक विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भएको थियो । त्यहाँ मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।