मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष १३ सोमबार १०:२७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

खाद्यान्न संकट भएपछि चीनमा नयाँ नियम : खानेकुरा फ्याँकेमा १० हजार युआन जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष १३ सोमबार १०:२७:००

कोरोना भाइरस (कोभिड–१९) ले चीनको अर्थतन्त्रमा खासै प्रभाव पारेको छैन । कोरोनाविरुद्ध अपनाएको कठोर नीतिले नै चीनको वुहानबाहेक अन्य सहरमा संक्रमण फैलिन नपाएको मानिन्छ । विश्व कोभिडविरुद्ध लडिरहँदा चीन भने सामान्य जीवनमा फर्किसकेको थियो । चिनियाँ नागरिकले एक सहरबाट अर्को सहरमा सुरक्षा सतर्कता अपनाएर आवतजावत गरिसकेका थिए । 

संसारमा कोरोना पहिलोदेखि तेस्रो चरणको लहरसम्म पुग्दा चीनभित्र के भइरहेको छ ? सर्वसाधारणले कस्तो जीवन बिताइरहेका छन् ? सरकार कुन पक्षसँग लडिरहेको छ ? वास्तविक तथ्य बाहिर नै ल्याइएन । तर, चिनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने यतिवेला चीनमा खाद्यान्नको चर्को अभाव छ ।

चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको खाना अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन् । चिनियाँ मिडियाले कोभिडका कारण मात्र खाद्यान्न अभाव भएको विश्वास गरेका छैनन् । उनीहरूले छिमेकी राष्ट्रहरूसँगको चिसिएको सम्बन्धले यस्तो समस्या उत्पन्न भएको दाबी गरेका छन् । तर, कुन–कुन सहरमा खाद्यान्न अभाव भएको भन्ने खुलाइएको छैन ।

 चीन सरकारले खानेकुराको विषयमा नयाँ नियम लागू गर्ने तयारी गरेको छ । यो विशेषतः होटेल र रेस्टुरेन्टमा लागू हुनेछ । अक्सर होटेल तथा रेस्टुरेन्टमा आउने ग्राहकहरूले त्यतिकै खाना छाडेर जाने गरेपछि सरकारले यस्तो नियम ल्याउन लागेको हो । सम्भवतः जनवरीदेखि नै रेस्टुरेन्ट तथा होटेलमा खाना फ्याँक्ने ग्राहकले जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

ग्राहकले नियम तोडेमा होटेल मालिकले समेत जरिवाना तिर्नुपर्नेछ । चिनियाँ राष्ट्रपति सी जिङ पिनले सर्वसाधारणप्रति खाना सञ्चित गर्नुपर्ने भावना उत्पन्न गराउन ‘अपरेसन इम्प्टी प्लेट’ अर्थात् खाली प्लेट नामको अभियान घोषणा गरेका छन् । राष्ट्रपति सीको नीतिअनुसार अबदेखि जति खाने हो, त्यति मात्र अर्डर गर्नुपर्छ ।

अरूले पनि खान बाँकी छ र उनीहरूको भाग पनि बचाउनुपर्छ भन्ने सन्देश दिन नयाँ नीति लागू गर्न खोजिएको हो । यदि यो नियमभन्दा बाहिर गएर खाना आधा वा थोरै मात्र प्लेटमा बाँकी राखेमा ती व्यक्तिले १० हजार युआन तिर्नुपर्ने हुन्छ । यस्तै, अबदेखि रेस्टुरेन्टमा हुलमूल वा समूहमा गरी जान नमिल्ने भएको छ । समूहगत रूपमा जाँदा मेनुअनुसार सबै अर्डर गर्न मिल्दैन, आवश्यकताअनुसार मात्र अर्डर गर्नुपर्छ । समूहमा जाँदा प्रत्येक सदस्यले फरक–फरक खानाको अर्डर गर्नुपर्छ । नियमअनुसार एक सदस्यले एकै प्रकारका खाना अर्डर गर्न पाइँदैन । 

चाइना एकेडेमी अफ साइन्सको एक रिपोर्टअनुसार प्रत्येक वर्ष बेइजिङ र संघाई सहरमा यति धेरै खाना डम्पिङमा फ्याँकिन्छ कि त्यो खाना पाँच करोड जनतालाई एक वर्ष खान पुग्छ । सरकारले बेइजिङ र संघाईमा ‘इम्प्टी प्लेट’को नीति चाँडै लागू गर्ने भएको छ । पाँच करोड जनताको खाली पेट भर्न सरकारले यस्तो नीति अघि सारेको हो । 
 एजेन्सीहरूको सहयोगमा