मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
झडप हुन नदिन नेकपा कञ्चनपुर जिल्ला कार्यालयमा तैनाथ सुरक्षाकर्मी र पार्टी कार्यकर्ता ।
२०७७ पौष १३ सोमबार ०९:४७:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेकपाका पार्टी कार्यालय : अधिकांश ठाउँमा दोहोरो तालाबन्दी, ताला तोडफोड पनि

Read Time : > 5 मिनेट
२०७७ पौष १३ सोमबार ०९:४७:००

नेकपाका दुई समूहबीच केन्द्रमा बहुमत देखाउने कसरत भइरहँदा प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी कार्यालय कब्जा र तालाबन्दी बढेको छ । प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षबीच कार्यालयहरूमा स्वामित्व दाबी गर्ने होडबाजी नै चलेको छ । विभाजित मनस्थितिबीच पार्टी गतिविधिलाई व्यवस्थित सञ्चालन गर्ने विगतको परिपाटी तोडिएको छ, आपसमै झडप निम्तिएको छ ।

खासगरी, ६ पुसपछि पार्टी कार्यालय कब्जाको लहर चलेको हो । ९ पुसमा आफ्नो समूहको केन्द्रीय कमिटी बैठक समापनपछि बबरमहलस्थित कार्की ब्यांकेटमा प्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्‍यो ।

त्यसलगत्तै प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको समूह तत्कालीन एमालेको केन्द्रीय कार्यालय रहेको बल्खु पुगी स्वर्गीय मदन भण्डारीको सालिकमा माल्यार्पण गर्‍यो । नेतात्रयले बल्खुको जग्गा पनि अवलोकन गरे । उनीहरूलाई ११ पुसमा ओली पक्षका नेता महेश बस्नेतले बल्खु र धुम्बाराहीमा आँखा नलगाउन चेतावनी नै दिए । देशभर दुई समूहबीच पार्टी कार्यालयको मुद्दा पेचिलो बनेको यी पछिल्ला उदाहरण हुन् ।

कञ्चनपुरमा ओली समूहले लगाएको ताला प्रचण्ड–नेपाल समूहले तोड्यो
नेकपा कञ्चनपुर जिल्ला कार्यालयमा आइतबार दिउँसो साढे १२ बजेतिर अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला थियो । अर्का अध्यक्ष केपी ओली समूहले भेला आयोजना गर्न नदिन मूलगेट, कार्यालय र सभाकक्ष तीन ठाउँमा तालाबन्दी गर्‍यो ।

लगत्तै मूल गेटमा लगाएको ताला प्रचण्ड–नेपाल समूहले तोड्यो । कार्यालय र सभाकक्षका ताला पनि दुई पक्षबीच मौखिक सहमतिपछि खोलियो । दुवै पक्षले पार्टी कार्यालयमा कार्यक्रम आयोजना गर्दा आपसी समन्वय गर्ने सहमति भएको छ । पार्टी कार्यालयमा दुई पक्षबीच झडप हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कैलालीका पार्टी कार्यालयमा दुवै पक्षका ताला
कैलालीस्थित नेकपा प्रदेश, जिल्ला र नगर कमिटीहरूका कार्यालयमा दुवै पक्षले ताला लगाएका छन् । अत्तरियास्थित गोदावरी नगर कमिटी कार्यालयमा प्रचण्ड–नेपाल समूहले दुई दिनअघि ताला लगाएको थियो । केहीबेरमै ओली पक्षले तोडेर छुट्टै ताला लगाएको छ । नगर कमिटी कार्यालयमा दुई दिनयता ओली पक्षका युवाले पहरा दिइरहेका छन् । कार्यालय अर्को पक्षलाई कब्जा गर्न नदिन पहरा दिइरहेको ओली पक्षका युवा संघ नगर सह–संयोजक दुर्गा अधिकारीले बताए । केन्द्रकै निर्देशनमा आफूहरूले पहरा दिइरहेको उनले बताए ।

धनगढीस्थित नेकपा जिल्ला कार्यालयमा प्रचण्ड–नेपाल समूहले सधैँ लगाउने तालामाथि अर्को ताला पनि झुन्ड्याएको छ । ओली समूहलाई पार्टी कार्यालय प्रयोग गर्ने अधिकार नभएकाले थप ताला लगाइएको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेता रमेश भट्टराईले बताए । नेकपा कैलालीका अध्यक्ष रतन थापा र कार्यालय सचिव रणबहादुर चन्द ओली समूहमा छन् । तर, जिल्ला कमिटीमा प्रचण्ड–नेपाल पक्षको बाहुल्य छ । धनगढीमै रहेको नेकपा प्रदेश कार्यालयमा पनि प्रचण्ड–नेपाल समूहले ताला लगाएको छ ।

हेटौँडामा कार्यालय छाडेर पार्टी प्यालेसमा प्रचण्ड–नेपाल समूहको भेला
पार्टी कार्यालयमा भेला आयोजना गर्दा ओली समूहले बिथोल्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले आइतबार पार्टी प्यालेसमा जिल्ला भेला गर्‍यो । यसअघि गत बिहीबार प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमा बोलाएको नगर सचिवालय बैठक ओली पक्षले बिथोलेको थियो । नगर अध्यक्ष रघुनाथ आचार्यको अध्यक्षता रहेको बैठकले ओली पक्षधरलाई कारबाही गर्ने तयारी थियो । नगर कमिटीमा ओली पक्षका १४ र प्रचण्ड–नेपाल समूहका २० जना छन् ।

जनकपुरका नेकपा कार्यालयमा सुरक्षाकर्मीको निगरानी
जनकपुरमा नेकपाका दुईवटा कार्यालय छन् । पूर्वमाओवादी पार्टी कार्यालयमा नेकपा जिल्ला र पूर्वएमालेको कार्यालयमा प्रदेश कार्यालय छ । दुवै गुठी संस्थानको जग्गामा छन् । प्रदेश कार्यालयलाई ‘मिथिला भवन’ नाम दिइएको छ । जिल्ला कार्यालयमा नेकपा समर्थक युवा फाट्टफुट्ट देखिए पनि मिथिला भवनमा सुरक्षाकर्मी मात्र छन् । जिल्ला कार्यालयमा भेटिएका एक युवा नेताले जिल्ला कार्यालयमा प्रचण्ड–नेपाल र मिथिला भवनमा ओली समूहको दाबी रहने बताए । ओली पक्षका प्रदेश सांसद किशोरी साहले भने उक्त समूह पार्टीको संस्थापन हुने र जनकपुरस्थित दुवै कार्यालयमा सोही समूहको अधिकार रहने दाबी गरे ।

सिराहा जिल्ला कार्यालय प्रचण्ड–नेपाल समूहको नियन्त्रणमा
नेकपा सिराहा जिल्ला कार्यालय प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको नियन्त्रणमा छ । सदरमुकाम सिराहास्थित कार्यालय आफूहरूको नियन्त्रणमा रहेको प्रदेश–२ का सांसद तथा नेकपा जिल्ला सचिव प्रमोदकुमार यादवले बताए । अहिले पार्टी कार्यालय बन्द छ । अर्को पक्षले दाबी गर्न नसक्ने उनको भनाइ छ ।

सिराहा क्षेत्र नम्बर ३ का सांसद तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ ओली पक्षका हुन् । क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सांसद तथा नेकपा जिल्ला अध्यक्ष रामकुमार यादव प्रचण्ड–नेपाल खेमामा छन् । क्षेत्र नम्बर ३ मा प्रचण्ड–नेपाल खेमाको पकड मजबुत भएकाले जिल्ला पार्टी कार्यालय नियन्त्रणमा रहेको सांसद यादवको भनाइ छ ।

प्रदेश–२ का जिल्लामा प्रचण्ड–नेपाल समूहको भेला
प्रचण्ड–नेपाल समूहले प्रदेश–२ का सबै जिल्लामा आइतबार अगुवा कार्यकर्ता भेला गर्‍यो । सप्तरीमा नेकपा जिल्ला अध्यक्ष अशोक मण्डल, इन्जार्च रामप्रित पासवान र सचिव गोविन्द न्यौपानेसहितका अगुवा कार्यकर्ताले पार्टी कार्यालयमै भेला गरेका थिए ।

सप्तरीबाट प्रदेश सभा सदस्य पाँचमध्ये प्रचण्ड–माधव समूहमा गोविन्द न्यौपाने, रुवी कर्ण र प्रमिला यादव छन् । तीनैजना कार्यक्रममा सहभागी थिए । पूर्वसिँचाइमन्त्री उमेश यादव पनि भेलामा सहभागी थिए । ओली समूहमा प्रदेश सभा सदस्य सत्यनारायण मण्डल र मनमोहन सिंह छन् ।

यस्तै, राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल र प्रतिनिधिसभा सदस्य सरिता गिरी ओली समूहमा छन् । प्रचण्ड–नेपाल समूहमा रहेका जिल्ला अध्यक्ष मण्डलले जिल्लासहित सबै कमिटीमा आपूmहरूको दुईतिहाइभन्दा बढी संख्या रहेको र पार्टी कार्यालय पनि आपूmहरूले नै प्रयोग गर्ने बताए । प्रचण्ड–नेपाल समूहमा खुलेका नेकपा प्रदेश–२ सह–इन्चार्ज महेन्द्र पासवानले आठै जिल्लामा भव्य रूपमा भेला गरिएको बताए ।

नुवाकोट पार्टी कार्यालयमा ताला तोडातोड
गत बिहीबार बिहान ओली र प्रचण्ड–नेपाल पक्षबीच नुवाकोट सदरमुकाम विदुरस्थित पार्टी कार्यालयमा ताला फोडाफोड भयो । ओली पक्षले कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको थियो । तर, प्रचण्ड–नेपाल समूहले चाबी दिएन । त्यसपछि ओली समूह ताला फोडेर कार्यालयमा प्रवेश गर्‍यो ।

चियापान सकेर ओली समूह निस्कियो र गेटमा नयाँ ताला लगायो । प्रचण्ड–नेपाल समूहले ताला फोड्न थालेपछि ओली समूहले चाबी दिएर पार्टी कार्यालय परिसर छाड्यो । त्यसपछि मात्र प्रचण्ड–नेपाल समूह कार्यालयमा प्रवेश गर्‍यो । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेयता पार्टी कार्यालयमा दैनिक प्रचण्ड–नेपाल समूहको उपस्थिति देखिँदै आएको छ । जिल्लामा ओलीभन्दा प्रचण्ड–नेपाल समूह बलियो मानिन्छ ।

ओखलढुंगामा तालामाथि ताला, दुवै पक्षका नेता सडकमा
ओखलढुंगामा नेकपा पार्टी कार्यालयमा दुईवटा ताला लागेका छन् । शनिबार प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले नियमित लगाउनेभन्दा फरक ताला झुन्ड्याएपछि आइतबार बिहान ओली समूहले त्यसमाथि अर्को ताला लगाएको छ ।

ओली र प्रचण्ड–नेपाल दुवै समूहले तालाबन्दी गरेको नेकपा ओखलढुंगा जिल्ला कार्यालय ।

कार्यालयमा ताल्चा मारेर दुवै समूहका नेता–कार्यकर्ता सडकबाटै आ–आफ्नो पक्षका गतिविधि गरिरहेका छन् । देशभरका पार्टी कार्यालय कसको हुने भन्ने विवाद चलिरहँदा आ–आफ्ना ताला झुन्ड्याउने ट्रेन्ड देखिएको नेकपा नेता नेत्र भट्टराईले बताए । ‘हिजो प्रचण्ड–नेपाल समूहले ताला लगाएको थियो । आज ओली समूहले पनि पार्टी कार्यालयमा ताला लगाएको छ,’ भट्टराईले भने, ‘पार्टी कार्यालयमा तालामाथि ताला लागेपछि दुवै पक्षका नेता सडकमा छन् । सडकबाटै पार्टीका गतिविधि भइरहेका छन् ।’

आइतबार प्रचण्ड–नेपाल समूहको आकस्मिक बैठक बस्ने तय भएको थियो । पार्टी कार्यालयमा अर्को पक्षले ताला लगाएपछि बैठक प्रभावित भयो । ‘नेता यज्ञराज सुनुवारसहित हामी उपलब्ध नेताहरू बसेर प्रधानमन्त्रीको कदमविरुद्ध कसरी आन्दोलन गर्ने भन्ने कार्यक्रम तय गर्ने बैठक थियो । पार्टी कार्यालयमा प्रवेश गर्ने अवस्था नभएपछि बैठक प्रभावित भयो । तर, हाम्रा एजेन्डा तय गरिसकेका छौँ,’ एक जिल्ला नेताले भने ।

जिल्ला सदरमुकामस्थित नेकपा पार्टी कार्यालय पूर्वएमालेले बनाएको थियो । पार्टी एकता भएपछि सोही भवनलाई जिल्ला कार्यालय बनाइएको थियो । पूर्वएमालेभित्र पनि भवन निर्माणको नेतृत्व गर्ने नेताहरू दुवै पक्षमा विभाजित भएकाले उक्त भवनमा कसको अधिकार हुने भन्ने विवाद बढ्दो छ ।

झापाको पार्टी कार्यालयमा न विरोध, न समर्थन
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित नेकपा पार्टी कार्यालयमा विरोध र समर्थनका कार्यक्रम भएका छैनन् । ओलीको विरोध र समर्थनमा सडकमा शक्ति प्रदर्शन भए पनि पार्टी कार्यालय सुनसानजस्तै छ । बिर्तामोडस्थित पार्टी कार्यालयमा सुरक्षाकर्मीको उपस्थिति छ ।

नेकपा झापाका सचिव मणिकुमार साङ्पाङका अनुसार कार्यालय दुवै पक्षको समझदारीमै खुल्दै आएको छ । उनी प्रचण्ड–नेपाल समूहका हुन् । ‘हामीले अहिलेसम्म समझदारीमै कार्यालय खोल्दै आएका छौँ । कार्यालय कसैले कब्जा गरेको पनि छैन । चाबी ओली पक्षसँग छ । कार्यालय समयमा आएर खोल्नुहुन्छ,’ उनले भने, ‘हामी पनि आउँछौँ । आफ्नो समूहको काम गर्छौँ, निस्कन्छौँ ।’

कार्यालय सचिव शिव ढुंगेल पनि पार्टी कार्यालय नियमित सञ्चालनमा रहेको बताउँछन् । उनका अनुसार केन्द्रमा विवाद उत्पन्न हुँदा जिल्ला कार्यालय बन्द गर्नेबारे छलफल भएको थियो । तर, जिल्लामा असहज परिस्थित नआएकाले बन्द नगरिएको उनले बताए । ‘झापामा हार्दिकतापूर्ण नै छ । पार्टी कार्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा हामीबीच छलफल भएको थियो । तर, तत्काललाई खुला राखिनेछ,’ उनले भने, ‘परिस्थिति बिग्रिएको खण्डमा जतिवेला पनि कार्यालय बन्द हुन्छ ।’

नेकपाका कार्यालयमा  चौबीसै घन्टा सुरक्षाकर्मी खटाउन निर्देशन
देशभरका नेकपा पार्टी कार्यालयमा झडप बढ्न थालेपछि गृह मन्त्रालयले चौबीसै घन्टा सुरक्षाकर्मी खटाउन प्रमुख जिल्ला अधिकारीहरू र प्रहरीलाई निर्देशन दिएको छ ।

पार्टी कार्यालयहरूमा झडपको अवस्था देखिएपछि सुरक्षाकर्मी स्ट्यान्डबाई राख्न आइतबार सर्कुलर गरिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘केही जिल्लाका पार्टी कार्यालयमा ताला लगाउनेलगायत गतिविधि भइरहेका छन्,’ उनले भने, ‘सम्भावित झडप रोक्न सुरक्षाकर्मी खटाउन भनिएको हो ।’ सबै जिल्लाका सशस्त्र प्रहरीका गण र गुल्मलाई पनि तयारी अवस्थामा रहन गृहले निर्देशन दिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले पनि त्यससम्बन्धी सूचना संकलनलाई प्राथमिकता दिएको छ । प्रतिनिधिसभा विघटन र नेकपा विभाजनपछि सुरक्षा चुनौती बढेकाले त्यहीअनुसार पूर्वयोजना बनाएर सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयले गत साता नै सबै जिल्लामा सर्कुलर पठाएको थियो ।

 कञ्चनपुरबाट मोहन विष्ट, धनगढीबाट तेजराज भट्ट, हेटौँडाबाट सुदीप सिवाकोटी, जनकपुरधामबाट हदिश खुद्दार, सिराहाबाट सुरेन्द्रकुमार कामती, सप्तरीबाट भोला पासवान, नुवाकोटबाट नवदीप अजनवी, ओखलढुंगाबाट पूर्णप्रसाद न्यौपाने, झापाबाट चिरञ्जीवी घिमिरे