नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा २७ पुसमा पदयात्रा र कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको संविधानप्रदत्त राष्ट्रिय एकताको रक्षासम्बन्धी दायित्व निर्वाह गर्न तथा सरकारको वार्षिक नीति तथा कार्यक्रममा समाविष्ट भएको एकीकरण मार्ग कार्यक्रम कार्यान्वयनका क्रममा यो कार्यक्रम आयोजना गर्न लागेको सेनाले जनाएको छ।
सेनाले गोरखादेखि काठमाडाैंसम्म एकीकरण पदयात्रा पनि गर्ने भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार एकीकरण पदयात्रा २१ पुसमा गोरखाबाट सुरु हुनेछ भने धादिङ, नुवाकोट र नागार्जुन हुँदै २६ पुसमा हनुमानढोका आइपुग्नेछ । पदयात्रा टोली २७ पुसमा जंगी अड्डामा आयोजित कार्यक्रममा सहभागी हुनेछ । ‘पदयात्रामा नेपाली सेना, स्थानीय जनता, विद्यार्थी समावेश हुनेछन्।’ जंगी अड्डाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।
पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले खडा गरेका नेपाली सेनाका पाँच कम्पनीहरूको निशान, नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति समावेश रहने सेनाले जनाएको छ ।
यही अवसरमा सेनाले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाले यसका लागि कविहरूलाई जंगी अड्डामा कविता पठाउन आह्वान पनि गरेको छ । ‘प्रतियोगितामा छानिएका कविताहरूको संग्रहहरू जंगी अड्डा परिसरमा स्थापना हुने पृथ्वीनारायण शाह अध्ययन केन्द्रमा राखिनेछ र उत्कृष्ट २५ कविता संग्रह पुस्तकको रूपमा प्रकाशित गरिनेछ,’ सेनाको विज्ञप्तिमा भनिएको छ, ‘उत्कृष्ट १० कविलाई नगद पुरस्कार तथा प्रमाणपत्र उपलब्ध गराइनेछ ।’