१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १२ आइतबार १७:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिगमन कहिल्यै पनि एकैचोटि आउँदैन, अंश-अंश गरेर आउँछ : डा. भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १२ आइतबार १७:४१:००

जसपाका नेता डा‍. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप लगाउँदै उनी यत्तिकैमा नरोकिने बताएका छन् ।

डा. भट्टराईले जसपाले आइतबार गरेको आन्दोलनलाई सम्बोधन गर्दै भने, ‘प्रतिगमन कहिल्यै पनि एकैचोटि आउँदैन । अंश–अंश गरेर आउँछ । तपाईंलाई थाहा छ, घर भत्काउनुपऱ्याे भने सबैभन्दा महत्वपूर्ण खण्डलाई पहिले भत्काएर अनि त्यसलाई ढालिन्छ । त्यसैले जुन अहिले संसदमाथि प्रहार गरियो यो यत्तिकै रोकिनेवाला छैन ।’

प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी रहेको उनको आरोप थियो । ‘यो असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी छ । यो असंवैधानिक छ किनभने धारा ७६ अनुसार यो सरकारले विघटन गर्न पाउँदैन, मिल्दैन । यो अलोकतान्त्रिक हो, किनभने जनताको सबैभन्दा शक्तिशाली सार्वभौम सत्ता सम्पन्न संस्था भनेकै त्यही हो । त्यसलाई कसैको खेलबाडमा हत्या गर्न पाइँदैन,’ उनले सम्बोधनका क्रममा भने, ‘यो प्रतिगमनकारी हो किनकि संविधानका जुन ४ वटा खुट्टा  छन्– गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र समावेशी लोकतन्त्र तीमध्ये एउटा खुट्टा मात्रै भाँचियो भने त्यो खाट लड्छ । त्यसर्थ, संसद् जो संघीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा महत्वपूर्ण खम्बा हो । यसलाई कसैको लहडमा मात्रै भत्काइयो भने यसले क्रमशः अरू खुट्टाहरू पनि भत्काउँछ । र, यो संविधान नै लड्खडाउँछ । र, फेरि प्रतिगमनतिर जाने गम्भीर खतरा हुन्छ।’

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेकोमा पनि उनको आपत्ति थियो । संसद् विघटन गरेर चुनाव घोषणा गरेर मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री भट्टराईले ओलीले झापा आन्दोलनको ब्याज खाएर आफूलाई अहिलेसम्म पनि क्रान्तिकारी भनिरहेको भन्नु गलत हुने धारणा राखे । 

उनले भने, ‘उनी गणतन्त्रविरोधी थिए । बयलगाढा चढेर अमेरिका जान सकिन्न भनेको तपाईं–हामी सबैलाई थाहा छ । संघीयताको उनी सधैँ विरोधी थिए । अहिले पनि भन्छन् प्रदेश र स्थानीय तह केन्द्रको इकाइ हुन् भनेर । धर्मनिरपेक्षताबारे थाहै छ, भन्ने कम्युनिस्ट बनाउने अयोध्यामा मन्दिर, ३–४ अर्ब खर्च गरेर । सुकुम्बासी, चेपाङको बस्तीलाई आगो लगाएर, त्यहाँ ३–४ अर्ब लगाएर राम मन्दिर बनाउने । अनि नाम कम्युनिस्ट रे ! हामीले त्यस्तो मान्छेलाई प्रधानमन्त्री बनायौँ ।’

वैशाखमा चुनाव नहुनेसमेत भट्टराईको भनाइ थियो । कोरोनाको महामारीमा अहिले चुनावमा जानुपर्ने समय नभएको उनको भनाइ थियो । ‘दुई वर्ष बाँकी छँदाछँदै अहिले चुनाव गर्नुपर्ने समय हो यो ? कोरोनाको महामारी छ । यो लहर सिद्धिएकै छैन । यो अझै बढ्ने, फैलने खतरा छ । दिनहुँ मानिस मरिरहेका छन्,’ उनले थपे ।