१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी पेरिस
२०७७ पौष १२ आइतबार १४:४५:००
Read Time : > 1 मिनेट
विश्व

युरोपेली मुलुकहरूमा खोप अभियान सुरु

Read Time : > 1 मिनेट
रासस/एएफपी पेरिस
२०७७ पौष १२ आइतबार १४:४५:००

युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएकै अवस्थामा अतिजोखिममा रहेका व्यक्तिलाई पहिलो प्राथमिकता दिई खोप लगाउन थालिएको हो । 

फाइजर–बायोएन्टेकले विकास गरेको खोप इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिने व्यक्तिलाई दिइने जनाइएको छ ।

कोरोना भाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ । गत वर्ष चीनमा पहिलोपटक देखिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड–१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्ने बताएका छन् । महामारी पूर्वतयारीसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजुक सम्बन्धबारे मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।  

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्यमन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रूपमा हेरिएको बताए ।  हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ ।  रुस, चीन, बेलायत, क्यानाडा, संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभियान सुरु भइसकेका छन् । 

इटालीका विदेशमन्त्री लुइगी डि मायोले आमजनतालाई कोभिड–१९ को खोप लिन आह्वान गरेका छन् । तर, जनमत सर्वेक्षणमा करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ । वैज्ञानिकहरूले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र ‘हर्ड इम्युनिटी’ विकास हुने अनुमान गरेका छन् ।

इजरायलमा दुई साता लकडाउन घोषणा
कोरोना भाइरस फैलिएको भन्दै इजरायलले आइतबारदेखि लागू हुने गरी दुई साताको लकडाउन घोषणा गरेको छ भने फ्रान्सका स्वास्थ्यमन्त्रीले पनि क्रिसमसपछि कोरोना फैलिने आशंकामा लकडाउन गर्ने योजना बनाइएको जानकारी दिएका छन् । 

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्वरूप र युरोपदेखि जापानसम्म पुगेको भन्दै तनावको वातावरण सिर्जना भएको छ । 

कोरोना भाइरसको नयाँ संस्करण म्याड्रिडमा शनिबार चारजनामा भेटिएको छ, तर उनीहरू गम्भीर बिरामी नभएको स्पेनी स्वास्थ्य अधिकारी एन्टोनियो जापाटेरोले बताएका छन्।