१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष १२ आइतबार १२:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्लभ सालकसहित मोटरसाइकल बरामद, तस्कर फरार

Read Time : < 1 मिनेट
२०७७ पौष १२ आइतबार १२:११:००

विश्वमै दुर्लभ मानिएको स्तनधारी सालकसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

जिल्लाको उत्तरवर्ती चुरे जंगल क्षेत्र आसपासबाट सालकको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेस गोलबजारबाट खटिएको टोलीले जिउँदै सालकसहित मोटरसाइकल बरामद गरेको हो ।

गोलबजार नगरपालिका– २ लालपुर फतिंग्रा डाँडाबाट तस्करीको सूचना पाएपछि सशस्त्र प्रहरी सहायक निरिक्षक रामअयोध्या महतोको नेतृत्वको प्रहरी टोलीले पछ्याएको थियो ।

स.१०प ३३३० नम्बरको मोटरसाइकलमा सवार व्यक्ति तीव्र गतिमा भाग्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले पछ्याउन सुरु गरेकाे थियाे । तस्करीमा संलग्न व्यक्ति सशस्त्र प्रहरीले पछ्याउन सुरु गरेपछि मोटरसाइकल छाडेर भागेको सशस्त्र प्रहरी गोलबजारका निरीक्षक दीपक कोइरालाले बताए ।

सशस्त्र प्रहरीले मोटरसाइकल र तस्करीका लागि लगिँदै गरेको दुर्लभ सालक बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक कोइरालाले बताए । सालक तस्करीमा संलग्नबारे मोटरसाइकल दर्ता गरिएको व्यक्तिको यातायात व्यवस्था कार्यालयबाट जानकारी लिएर अनुसन्धान अगाडि बढाइने कोइरालाले बताए ।

वन्यजन्तुसहित मोटरसाइकल डिभिजन वन कार्यालय लाहानलाई बुझाइएको उनले बताए । यता डिभिजन वन कार्यालय लाहानले उक्त सालक संरक्षण गर्न लहान नगरपालिका– १५ मा रहेको कोइरालो खोला सामुदायिक वनलाई बुझाउने तयारी गरेको छ । 

तस्करीमा संलग्नलाई पाँचदेखि १५ वर्ष कैद सजाय

वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस)ले सालकको व्यापारलाई अपराध मानेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा दुर्लभ तथा संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।