मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष १२ आइतबार ०९:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एउटै अवसरमा चम्किएका मन्देकाजी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष १२ आइतबार ०९:५१:००

प्रतिभा हुनु एउटा कुरा भयो । त्यही प्रतिभाले सफलताका लागि परिस्थितिसँग कत्तिको जुध्नुपर्छ भन्ने उदाहरण करातेका स्टार खेलाडी मन्देकाजी श्रेष्ठलाई जत्तिको अरू कसैलाई सायदै थाहा होला । देशका लागि अन्तर्राष्ट्रिय सफलता दिलाउने सपना लिएर खेलकुदमा लागेका उनलाई सहभागिताकै लागि वर्षाैंसम्म कुर्नुपर्‍यो । घरेलु प्रतियोगितामा नियमितजस्तै जितिरहने मन्देकाजीले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी धेरैपटक गरे । नेपालका लागि पदक सम्भावनाको दृष्टिकोणले दक्षिण एसियाली खेलकुद (साग) नै ठूलो र महत्वपूर्ण हुने गर्दछ । 

मन्देकाजीले सन् २०१० मा बंगलादेशमा भएको ११औँ सागमै सहभागिताका लागि तयारी गरेका हुन् । उनी त्यसका लागि छनोट पनि भएका थिए । यद्यपि, आयोजक बंगलादेशले सहभागी खेलाडीको संख्या घटाउँदा उनी अन्तिम समयमा प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भए । भारतमा भएको १२औँ सागमा त कराते खेल नै समावेश गरिएन । 

नियमित झन्डै एक दशकको प्रतीक्षापछि गत वर्ष नेपालमै आयोजना भएको १३औँ सागमा उनले अवसर पाए । उनले यही अवसरलाई चिने । उनले यही अवसरलाई सदुपयोग गर्न कुनै कसर बाँकी राखेनन् । त्यसकै फलस्वरूप उनलाई सफलता पनि मिल्यो । उनले १३औँ सागमा दुई विधामा स्वर्णपदक जिते । उनले पुरुषतर्फको व्यक्तिगत स्पर्धा र टिममा गरी दुई स्वर्ण जिते । लामो प्रतीक्षापछि प्राप्त अवसरलाई जसरी सदुपयोग गर्नुपथ्र्याे, मन्देकाजी त्यसमा चुकेनन् । सागको एउटै संस्करणमा बिरलै बन्ने दुई स्वर्णपदक जित्ने खेलाडीको कीर्तिमानमा उनले आफ्नो नाम लेखाए । अझ उनी त सागको एकै संस्करणमा दुई स्वर्ण जित्ने पहिलो नेपाली कराते खेलाडी बने ।

त्यही प्रदर्शनका आधारमा उनी यस वर्षको पल्सर स्पोर्टस् अवार्डको लोकप्रिय खेलाडीको विधामा मनोनयनमा परेका छन् । आयोजकले वर्ष ०७६ आयोजना भएका आधिकारिक प्रतियोगितामा गरेको प्रदर्शनसँगै हात पारेको उपलब्धिलाई आधार बनाएर यो अवार्डका लागि छनोट गर्ने गरेको छ । यी सबै आधारमा उनी यो अवार्डका लागि बलियो प्रतिस्पर्धी देखिएका छन् । उनले गत वर्ष नै अरू धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेका छन् । उनले बंगलादेशमा भएको साफ कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए ।

यस्तै, थाइल्यान्ड ओपनमा रजत जित्दै उत्कृष्ट खेलाडी पनि चयन भएका थिए । मन्देकाजीको यो सफलतामा उनको टोली नेपाल प्रहरीको पनि महत्वपूर्ण योगदान छ । नेपाल प्रहरीसँग आबद्ध उनका लागि विभागले नियमित रूपमा प्रशिक्षणको व्यवस्था गरेकै कारण पनि सफलता सम्भव भएको हो ।