मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ११ शनिबार ०९:०८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली खेलकुदमा गौरिकाको गौरव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ११ शनिबार ०९:०८:००

‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु,’ गौरिका सिंहले एक वर्षअगाडि काठमाडौंमा १३औँ दक्षिण एसियाली खेलकुद चलिरहेका वेला यस्तो भावविह्वल शब्द निकालेकी थिइन् । 

 यस्तो किन पो भन्नुपरेको थियो होला त ? यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ । विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याँइ ? कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र ? 

बरू उनले पाएको उपलब्धिमा खुसी भएर मन ठूलो पार्दा राम्रो । धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छिन् । लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले ।

वर्ष २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३औँ साग नै हो । अनि यसको पनि सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो । उनले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन् । 

अनि सबैको मन पनि । त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे । अनि त्यसकै उत्तरमा त हो, गौरिकाले भनेकी, ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु ।’ अब त कसैले औँला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम हुनेछ । त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको वर्ष २०७६ को पल्सर स्पोर्टस् अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि मनोनयन भएको छ । 

उनी यसका लागि हकदार त छिन् नै, अवार्ड जित्नका लागि बलियो प्रत्यासी पनि छिन् । हुन पनि पछिल्लो समय नेपाली खेलकुदबाट धेरैले चिनेको अनुहारमा पर्छ, गौरिका । यसको पृष्ठभूमि तयार हुन सुरु भएको भने चार वर्ष अगाडिदेखि नै हो । त्यसवेला फुच्ची गौरिकाले नेपाली घरेलु पौडीमा तहल्का मच्चाइसकेकी थिइन् ।

सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुदमा उनले नेपालका लागि एक रजत र तीन कांस्य जितिन् । उनले जितेको त्यो रजत नेपाली पौडीमा हकले जितेको पहिलो ठूलो उपलब्धि रह्यो । त्यसपछि ब्राजिलको रियो डे जेनेरियोमा गौरिका नै सहभागी हुने सबैभन्दा कान्छी खेलाडी बनिन् । यत्तिको विश्वव्यापी चर्चा यसअघि अरू कोही नेपाली खेलाडीले कहिले पनि हासिल गरेकै थिएन् ।