मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १० शुक्रबार १०:०५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
२०७७ पौष १० शुक्रबार १०:०५:००

हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरु भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो ६ वटै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको हो । गाउँपालिकाभरि रहेका ७० वर्ष उमेरभन्दा माथिका वृद्धवृद्धालाई गाउँपालिकाले न्यानो कपडास्वरूप कम्बल वितरण सुरु गरेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । गाउँपालिकाभरिका चार सय ४२ जना वृद्धवृद्धालाई कम्बल वितरण सुरु गरिएको उनको भनाइ छ । 

यसैगरी, गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको पहिचान र परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले सामान्य स्वास्थ्य परीक्षण, महिलाको पाठेघर खस्ने समस्याका लागि रिङ, पेसरी राख्ने, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी जाँच, फिजियोथेरापी सेवा, आँखा परीक्षण तथा उपचार सेवा, सामाजिक सुरक्षासम्बन्धी अन्य सेवासमेत गाउँमै पुगेर प्रदान गरेको छ । समृद्धि र भौतिक निर्माण त भइराखेको छ । तर, ज्येष्ठ नागरिकका लागि घरदैलो कार्यक्रममार्फत यी कार्यक्रम नपरेको हुँदा ज्येष्ठ नागरिकलाई सम्मान तथा अन्य स्वास्थ्यका सेवाहरू प्रदान गरिएको गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष करग्याल्मो श्रेष्ठले बताइन् । गाउँमै यी सेवा पाएपछि वृद्धवृद्धा खुसी भएका छन् भने अन्य नागरिकले घरदैलोमै सेवा पाएका छन् । 

गाउँपालिकाले प्रदान गरेको सेवा लिन आएकी ज्येष्ठ नागरिक ७४ वर्षीया दावा छेन्जोम तामाङ्नीले गाउँमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत कम्बल दिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’ गाउँमै पुगेर न्यानो कपडा वितरणसँगै स्वास्थ्य सेवा प्रदान गरेको यो पहिलो अभियान रहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । अभियानको पहिलो दिन गाउँपालिका– १ थुमनबाट सुरुवात गरिएको छ । गाउँपालिकाको ६ वटा वडाका नौ स्थानको गाउँमा पुगेर अभियान सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।