मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १० शुक्रबार १०:०१:००
Read Time : > 3 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बलात्कारका घटनामा जिल्ला अदालतबाट धमाधम फैसला

Read Time : > 3 मिनेट
२०७७ पौष १० शुक्रबार १०:०१:००

पछिल्ला दिनमा बलात्कारका मुद्दालाई अदालतले प्राथमिकता दिई फैसला गर्न थालेको छ । बलात्कारका घटनालाई संवेदनशील मान्दै अदालतले चाँडो फैसला गर्न थालेको हो । जिल्ला अदालत सप्तरीले गत मंसिरमा मात्रै बलात्कारका तीन प्रमुख घटनामा फैसला दिएको छ । तर, सात वर्षदेखि अभियुक्त फरार भएको एक घटनालाई भने अदालतले मुल्तबीमा राखेको छ । प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेपछि जिल्ला अदालतले बलात्कारको सो मुद्दा मुल्तबीमा राखेको हो । 

बालिका बलात्कार गर्ने युवकलाई १९ वर्ष कैद
१५ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको कसुरमा एक १८ वर्षीय युवकलाई १९ वर्ष ४ महिना कैद सजायको पैmसला भएको छ । जिल्ला अदालत सप्तरीले गत सोमबार यस्तो फैसला गरेको हो । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय युवकलाई अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै सो फैसाला गरेका हुन् । युवकलाई जबरजस्ती करणी गरेको कसुरमा आठ वर्ष तथा अपहरण तथा शरीर बन्धक गरेको कसुरमा ४ वर्ष ८ महिना कैद र ४६ हजार ६ सय ४६ रुपैयाँ जरिबाना तथा थप सजायतर्फ ६ वर्ष ८ महिना कैद र ६६ हजार ६ सय ६६ रुपैयाँ जरिबाना तोकेको अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले २५ मंसिरमा अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडितका बुबाले ३ पुस ०७५ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । ती युवाले गाउँघरबाटै पीडितलाई ललाइफकाई अपहरण गरी सुनसरीको इटहरी पु¥याएर बलात्कार गरेको पीडितले बताएकी थिइन् । ३ पुसमै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ४ गते प्रहरीले ती युवालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई पुर्पक्षका लागि २८ पुसमा बाल सुधार गृहमा पठाउन आदेश दिएको थियो । 

बलात्कार पुष्टिपछि ८ वर्ष कैद सजाय
जिल्ला अदालत सप्तरीले बालिका बलात्कारको एक घटनामा अभियुक्तलाई गत सोमबार आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । शम्भुनाथ नगरपालिका– ५ मोहनपुरका ४० वर्षीय गेनाइराम चमारलाई अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको हो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले आठ वर्ष कैद सजाय तोकेको अदालतले जनाएको छ । चमार १८ चैत ०७४ देखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामै थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले आरोपितलाई आठ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए । शम्भुनाथ नगरपालिका– २ मा फर्निचर पसल सञ्चालन गरी बसेका चमारले १३ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेका थिए । ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएपछि पीडितकी आमाले २० फागुन ०७४ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । चमारले पटक–पटक बलात्कार गरेको पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारबाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताइन् । प्रहरीले आरोपितलाई २२ फागुन ०७४ मा पक्राउ गरेकामा अदालतको आदेशमा १८ चैत ०७४ मा पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

पुर्पक्षमै रहेका बलात्कारीलाई १० वर्षको कैद सजाय
सप्तरीकै डाक्नेश्वरी नगरपालिका– ८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष सजायको फैसला भएको छ । न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले १७ मंसिरमा यादवलाई १० वर्ष कैद सजायको फैसला सुनाएको हो । यादवलाई १० वर्ष कैद सजायका साथै ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । 

पीडित बालिकालाई यादवले १ जेठ ०७६ मा बलात्कार गरेका थिए । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ३ जेठ ०७६ मा उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले यादवलाई ४ जेठमा गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशमा २६ जेठदेखि यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

१४ वर्षीय बालकलाई ६ वर्ष कैद फैसला
साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ११ मंसिरमा १४ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले २४ कात्तिक ०७७ मा कसुर ठहर भई सजाय निर्धारणका लागि पेस भएकोमा ११ मंसिरमा कैद सजाय तोकिएको अदालतले जनाएको छ । पीडित बालिकालाई ती बालकले ६ भदौ ०७६ मा बलात्कार गरेको भन्दै पीडितकी आमाले ७ भदौमा इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् । सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण भएको थियो । सोही दिन प्रहरीले बालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । १९ भदौ ०७६ मा जिल्ला अदालतको इजलासले आरोपितलाई बाल सुधारगृह वीरगन्ज पठाउन आदेश दिएको थियो । 

अभियुक्त नभेटिएपछि मुद्दा मुल्तबीमा 
शम्भुनाथ नगरपालिका– ६ स्थित भवरा बाह्रबिघा चौरमा १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गर्नेहरू सात वर्ष बित्दासमेत पक्राउ पर्न सकेका छैनन् । लामो समयसम्म अभियुक्त पक्राउ नपरेपछि सो मुद्दा मुल्तबीमा राख्ने निर्णय भएको छ । 

सप्तरी जिल्ला अदालतले अभियुक्त शम्भुनाथ नगरपालिका–बज्रहटका २६ वर्षीय श्रीदेव मुखिया र २४ वर्षीय गुरुदेव मुखियाविरुद्धको मुद्दा मुल्तबीमा राख्ने निर्णय गरेको हो । लामो समयसम्म पनि अभियुक्त पक्राउ नपरेका कारण न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आइतबार मुद्दा मुल्तबीमा राख्ने निर्णय गरेको हो । १६ माघ ०७२ को राति श्रीदेव र गुरुदेवले शम्भुनाथ– ६ स्थित भवरा बाह्रबिघा चौरीमा युवतीमाथि सामूहिक बलात्कार गरेका थिए ।

ट्युबेल बनाउन आएका उनीहरूले युवतीलाई घरनजिकैबाट नियन्त्रणमा लिई एकान्तमा लगेर बलात्कार गरेका थिए । बलात्कारको भोलिपल्टै १७ माघमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा पीडितले उजुरी दिएकी थिइन् । तर, इलाका प्रहरी कार्यालय कल्याणपुरले कारबाही प्रक्रिया अगाडि नबढाएपछि पीडित परिवारका सदस्यहरूले १८ माघमा राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध १९ माघमा बलात्कारको उजुरी दर्ता गरी एक महिनापछि १९ फागुनमा मुद्दा दायर गरेका थिए । तर, अभियुक्त अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।