१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष १० शुक्रबार ०८:५३:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

चितुवाको आक्रमणबाट जोगाउन जंगलमा पोखरी बनाइँदै

Read Time : > 1 मिनेट
२०७७ पौष १० शुक्रबार ०८:५३:००

- प्यास मेटाउन चितुवा बस्तीतिर आउने गरेकाले आक्रमण बढेको वनकर्मीको निष्कर्ष

- तीन वर्षमा चितुवाको आक्रमणबाट १० बालबालिकाको मृत्यु, सात घाइते

चितुवाको आक्रमण बढेपछि तनहुँको भानु नगरपालिका क्षेत्रको जंगलमा पोखरी निर्माण गर्न लागिएको छ । प्यास मेटाउन बस्तीमा पस्ने चितुवाले आक्रमण गरिरहेको निष्कर्ष निकाल्दै जंगलमै पोखरी निर्माण गर्न थालिएको हो । 

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार गत तीन वर्षमा चितुवाको आक्रमणबाट तनहुँमा १० बालबालिकाको मृत्यु भएको छ । आक्रमणबाट सातजना घाइते भएका छन् । यो क्रम बढ्न थालेपछि वन कार्यालयले चितुवाको आक्रमणबाट जोगाउने उपाय अवलम्बन गर्न थालेको कार्यालय प्रमुख कोमलराज काफ्लेले बताए । काफ्लेका अनुसार जंगलमा पानीको स्रोत नभएकाले चितुवा पानी खोज्दै बस्तीतिर आउने गरेको छ । ‘प्यास मेटाउनका लागि जंगलमा पानीको अभाव छ । पानी खोज्दै नजिकको बस्तीतिर पस्न थाल्छ । त्यतिवेला चितुवाले जे भेट्टायो त्यहीमाथि आक्रमण गर्छ । जसका कारण निसानामा बालबालिका पर्न थालेका हुन्,’ कार्यालय प्रमुख काफ्लेले भने । 

वन कार्यालयले गरेको अध्ययनमा पनि जंगलमा आहार र पानीको स्रोत कम भएको पाइएको उनले बताए । चितुवाले किन बालबालिकामाथि मात्रै आक्रमण गरिरहेको छ भन्ने बुझ्न वन कार्यालयले जंगलमा क्यामेरा जडान गरेको थियो । भानुको जंगलमा जडान गरिएको ६५ क्यामेरामा चितुवाको संख्या अत्यधिक देखिएको उनले बताए । ‘मांसहारी वन्यजन्तु कम देखियो । जसले गर्दा चितुवालाई जंगलमा आहारासमेत अभाव रहेछ,’ वन कार्यालय प्रमुख काफ्लेले भने, ‘आहारा र पानी खोज्दै चितुवा बस्ती पस्दा बालबालिकामाथि आक्रमण गरेको महसुस भएको छ ।’

यो अध्ययनपछि वन कार्यालयले भानु नगरपालिका क्षेत्रको जंगलमा पोखरी निर्माण अभियान सुरु गरेको छ । यस वर्ष १५ वटा पोखरी निर्माण गर्न लागेको उनले बताए । यसका लागि १२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । पोखरी निर्माणको काम सुरु भइसकेको छ ।  पानीको मुहानमा ट्यांक बनाएर सबै पानी उपभोग गरिँदै आएको छ । अब त्यस्तो ठाउँमा वन्जयन्तुका लागि पनि केही पानी छाड्न आग्रह गरिने उनले बताए । ‘ट्यांकी बनाएर सबै पानी बस्तीमा ल्याउने गरिएको छ । अब ट्यांकी भएको ठाउँमा वन्यजन्तुका लागि अलिकति पानी छाड्नुपर्छ । जसले गर्दा वन्यजन्तु पानी पिउनका लागि बस्तीतिर नआऊन्,’ उनले भने ।

योसँगै वन्यजुन्तका लागि आहाराको व्यवस्थापन गर्ने योजना पनि रहेको वन कार्यालयले जनाएको छ । शाकाहारी वन्यजन्तुका लागि घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । जसले गर्दा वन्यजन्तुको वृद्धि हुँदा चितुवाको आहार पुग्ने विश्वास गरिएको छ । 

घरवरपरका झाडी फाँडिने
चितुवाको आतंक फैलिएको क्षेत्रमा घरवरपरका झाँडी फाँडेर सफा राख्न पनि वन कार्यालयले अनुरोध गरेको छ । झाडी भएकाले चितुवा लुकेर बस्ने र सानासाना बालबालिकामाथि आक्रमण गर्ने भएकाले सुरक्षित हुन घरवरपरको ठाउँ सरसफाइ गर्नुपर्ने सहायक वनअधिकृत मनोज रानाभाटले बताए । ‘प्रायः साँझ र बिहानको समयमा चितुवाले बालबालिकामाथि आक्रमण गर्दै आइरहेकाले त्यो समयमा ख्याल गर्नुपर्छ, बालबालिकालाई एक्लै छाड्न हुँदैन,’ उनले भने । 

घाँस काट्न जाँदा गीत गाउन र बजाउन सुझाब 
चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई जंगलमा घाँस काट्न जाँदा गीत गाउन र बजाउन वन कार्यालयले सुझाएको छ । गीत गाउँदै वा बजाउँदै जाँदा चितुवा भाग्ने वन कार्यालय प्रमुख काफ्लेले बताए । ‘सकेसम्म जंगलमा एक्लै नजाने, यदि जानै परेमा मोबाइलमा ठूलो आवाजमा गीत सुन्दै जान आग्रह गर्छाैं,’ उनले भने । गीत गाउँदै वा बजाउँदै जाँदा चितुवाले टाढैबाट थाहा पाउने वन कार्यालय प्रमुख काफ्लेको भनाइ छ । जसले गर्दा वन्यजन्तु आफ्नो बाटो लाग्ने उनले बताए ।