मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १९ आइतबार
  • Sunday, 02 May, 2021
मुना कुँवर काठमाडौं
२०७७ पौष १० शुक्रबार ०८:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा समितिको अध्यक्षका लागि आधा दर्जनभन्दा बढीको दाबी

राष्ट्र बैंकका डेपुटी गभर्नरदेखि वर्तमान अध्यक्षसमेत प्रतिस्पर्धामा

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ पौष १० शुक्रबार ०८:००:००

१४ पुसदेखि खाली हुँदै गरेको बिमा समितिको अध्यक्ष हुन आधा दर्जनभन्दा बढी आकांक्षीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरदेखि वर्तमान अध्यक्षसमेत लागिपरेका छन् । स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, समितिका वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं , बिमाविज्ञ डा. रवीन्द्र घिमिरे, समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की, समितिकै सञ्चालक समितिका सदस्य कपिलदेव ओली, नेपाल राष्ट्र बैंकका निर्देशक रामशरण खरेल, नेपाल पुनर्बिमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं, नेपाल पुनर्बिमा कम्पनीकै पूर्वप्रमुख कार्यकारी अधिकृत रमेश लम्साल, नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरू प्रतिस्पर्धामा छन् ।

 राजनीतिक शक्तिमै केन्द्रित आकांक्षीहरू
समितिका अध्यक्ष राजनीतिक नियुक्ति भएकै कारण पनि आकांक्षीहरू शक्तिकेन्द्र धाउन थालेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी गभर्नर हुन नपाएपछि समितिको अध्यक्ष बन्न इच्छुक देखिएका हुन् । उनी प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । समितिका अध्यक्षका लागि आफू आंकाक्षी नभएको र दौडधुप पनि नगरेको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले बताए । तर, अवसर पाए आफू जिम्मेवारी सम्हाल्न सक्षम रहेको उनले बताए । 

त्यस्तै, अर्का आकांक्षी राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाका ज्वाइँ हुन् । बिमा समितिको सञ्चालक समितिका सञ्चालक कपिलदेव ओली पनि प्रधानमन्त्री ओलीकानिकट मानिन्छन् ।

समितिको सञ्चालक सदस्यको हैसियतले आफु अध्यक्ष पदका लागि योग्य रहेको उनको दाबी छ । महेश गुरागाईं पूर्वपर्यटनमन्त्री योेगेश भट्टराईका निकट छन् । गुरागाईं  क्यान तथा नेपाल पुनर्बिमा समितिका पूर्वअध्यक्षसमेत हुन् । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत रमेश लम्साल पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्च नेताहरूका नजिकका मानिन्छन् । 

 वर्तमान अध्यक्ष र पूर्वकार्यकारी निर्देशक पनि प्रतिस्पर्धामा
बिमा समितिको आगामी कार्यकालको अध्यक्षका लागि वर्तमान अध्यक्ष र पूर्वप्रमुख कार्यकारी अधिकृत श्रीमान् कार्कीसमेत प्रतिस्पर्धामा उत्रिएका छन् । समितिका वर्तमान अध्यक्ष चापागाईं नेकपा (माओवादी) पक्षधर हुन् । ०७३ साल पुस १३ गते तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेका थिए ।

अघिल्लोपटक चापागाईं र बिमाविज्ञसमेत रहेका डा. रवीन्द्र घिमिरेलाई अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । यसपटक बिमाविज्ञ डा. घिमिरेसमेत प्रतिस्पर्धामा छन् । घिमिरे पोखरा विश्वविद्यालयका एसोसिएट प्राफेसर हुन् । त्यस्तै, समितिकै पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की पनि अध्यक्ष पदका लागि दाबी गरिरहेका छन् ।  

ऐनमा के छ ?
बिमा ऐन २०४९ को दफा ६ मा बिमा समितिको अध्यक्षको सेवा, सर्त र सुविधासम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा बिमासम्बन्धी जानकार व्यक्तिलाई नै अध्यक्षमा नियुक्त गरिनुपर्ने व्यवस्था गरे पनि हालसम्म राजनीतिक शक्तिका आधारमा नै अध्यक्ष नियुक्ति हुँदै आएको छ ।

 यसअघि पनि बैंकिङ क्षेत्रका चापागाईंलाई अध्यक्षमा नियुक्ति गरिएको थियो । बिमा ऐनअनुसार उनको नियुक्ति गैरकानुनी भएको भन्दै अदालतमा रिटसमेत परेको थियो । अध्यक्ष चापागाईंले हालसम्म पनि सो मुद्दा खेपिरहेका छन् ।

ऐनले तोकेको योग्यताअनुसार अध्यक्षका आकांक्षीमध्ये डा. रवीन्द्र घिमिरे र समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की योग्य देखिन्छन् । डा. घिमिरेले बिमा विषयमा नै विद्यावारिधि गरेका छन् भने कार्कीले समितिकै कार्यकारी निर्देशकका रूपमा अनुभव सँगालेका छन् ।