१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ९ बिहीबार ०६:२९:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

व्यवसायमा  कोरोना कहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ९ बिहीबार ०६:२९:००

नेपालको पहिलो पाँचतारे होटेल डेल अन्नपूर्ण एक वर्षका लागि बन्द हुने भएको छ । कोरोनाका प्रभावहरू एक वर्षसम्म एनकेन धानेको होटेल व्यवस्थापन आउने वर्ष पनि पर्यटक आउने सम्भावना कम भएपछि बन्द गर्ने निर्णयमा पुगेको हो । यससँगै होटेलमा कार्यरत तीन सय ६० जना कर्मचारीलाई बिदा गर्न लागिएको छ । अर्थात् तीन सय ६० परिवारका सदस्यले रोजगारी र आम्दानी गुमाउने भएका छन् । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । गत वर्ष जनवरी आखिरी हुँदा–नहुँदैदेखिबाट विश्वभर पर्यटकीय गतिविधि झन्डै ठप्प भएको छ । गएको दसैँ–तिहारयता नेपालमा आन्तरिक पर्यटनमा केही चहलपहल आए पनि विदेशी पर्यटक भने आउने क्रम झन्डै ठप्पै छ । नेपालमा आउने पर्यटकहरू भारत, चीन, युरोपेली देशहरू, कोरिया, जापान र अमेरिकाका बढी हुन्छन् । 

अर्थतन्त्र सहज हुन अझै केही महिना या आउने वर्ष पूरै कुर्नुपर्ने हुन सक्छ । यस्तो वेला रोजगारीको सुरक्षा र व्यवसायको निरन्तरताका लागि सरकारले थप आर्थिक राहतको व्यवस्था गर्नु जरुरी छ ।

यी सबै देश र क्षेत्रहरू कोरोनाको उच्च प्रभावमा छन् । यद्यपि चीनमा कोरोना संक्रमणलाई नियन्त्रणमा लिइएको छ । तर, चिनियाँहरू संक्रमण नरोकिएका देशमा आएर जोखिम लिन चाहँदैनन् । अरू सबै देश कोरोनासँग जुधिरहेका छन् । युुरोप अर्को लहरमा छ । बेलायतमा यसै साता देखिएको फरक खालको कोरोनाका कारण उत्पन्न समस्याले बेलायतबाट आउन–जान प्रतिबन्ध लगाउने क्रम बढेको छ । भर्खरै खोप लगाउन सुरु गरिएको भए पनि त्यसको पहुँच र प्रभाव निकै न्यून छ । यसको अर्थ आउने सिजनमा पनि पर्यटक आउने सम्भावना झन्डै सकिएको छ । एक वर्षदेखि कोरोना नियन्त्रणमा आउला र पर्यटन क्षेत्र बौरिएला भनेर पर्खी बसेका होटेल तथा ट्राभल ऐजेन्सी, पर्यटक पथप्रदर्शक र हिमाल आरोहणमा संलग्न पेसाकर्मीहरू निराश हुने अवस्थामा पुगेका छन् । 

डेल अन्नपूर्णको निर्णयले यो क्षेत्रले व्यहोर्नुपरेको क्षति र चुनौतीतर्फ संकेत गर्छ । यो समस्या सबै ठूला होटेलदेखि पर्यटन व्यवसायका अनेक हाँगाबिँगामा उत्तिकै देखिनेछ । ठूला लगानीकर्ता केही समय धैर्य गरेर व्यवसाय धान्न सक्लान्, बैंकले प्रदान गरेको सहुलियत र सरकारी प्याकेजका आधारमा काम चलाउन सक्लान्, तर साना–साना व्यवसाय गरेर बसेकाहरूका लागि आउने वर्ष पनि निराशा र क्षतिकै वर्ष बन्ने निश्चित छ । यसले धेरैलाई पलायन गराउने र बेरोजगारीका थप अवस्था सिर्जना हुने सम्भावना बढेर गएको छ । यता कोरोना संक्रमणको परीक्षणको दर र संक्रमण संख्या घटेर गए पनि नेपाल उच्च संक्रमण दर रहेको देशमै पर्छ । 

पछिल्लो समय सार्वजनिक क्षेत्रमा लकडाउन खुकुलो हुँदै जाने र आमसाधारण मानिसहरूले कोरोनासम्बन्धी सतर्कता अपनाउन घटाउने, बिहेबारी, भेला, प्रदर्शन भइरहने गरेकाले संक्रमण थप फैलिन र अर्को लहर आउन सक्नेतिर विज्ञले चिन्ता व्यक्त गरेका छन् । खोप आउनुअघि र आएपछि पनि कोरोना नियन्त्रण गरेर यता आउन डर छैन भन्ने निश्चित नहोउन्जेल पर्यटक यसै पनि आउँदैनन् । अर्कोतिर आउन चाहनेबाट कोरोना संक्रमण नफैलियोस् भन्नेमा त्यति नै सचेत हुनु पर्नेछ । यस्तो अवस्था आउन अर्थात् अर्थतन्त्र सहज हुन अझै केही महिना या आउने वर्ष पूरै कुर्नुपर्ने पनि हुन सक्छ । यस्तो वेला रोजगारीको सुरक्षा र व्यवसायको निरन्तरताका लागि सरकारले थप आर्थिक राहतको व्यवस्था गर्नु जरुरी छ ।