२०७५ माघ २७ आइतबार ०८:२४:००
नयाँ पत्रिका

पहिलोपटक बोल्दा कविता सुनाएँ

माले स्थापनाकालदेखि नै पार्टी काममा थिएँ । लेखन पनि अघि बढिरहेको थियो । धरानमै बसेर राजनीतिमा सक्रिय थिएँ । त्यसकारण ०५१ सालको मध्यावधि निर्वाचनमा पनि मलाई टिकट दिने कुरा उठेको थियो । तर, पाइनँ । अशोक राई र भीम आचार्यले मलाई उम्मेदवार हुनबाट रोकेका थिए । ०५६ सालको निर्वाचनमा भने टिकट पाएँ । रोक्ने प्रयास त त्यतिवेला पनि भएको हो । तर, केपी ओलीले मेरो पक्षमा अडान लिएपछि कसैले रोक्न सकेन । 

त्यतिवेला चुनाव लड्न धेरै खर्च हुँदैनथ्यो । मेरो ५०–६० हजार खर्च भयो । चुनाव जितेँ । त्यतिवेला संसद् भवन सिंहदरबारभित्र थियो । राणाहरूको नाचघरलाई संसद् भवन बनाइएको थियो । पहिलो दिन संसद् भवन छिर्दा गर्व महसुस भयो । मैले पहिलोपटक महिलाको विषयमा बोलेको थिएँ । बोल्ने क्रममा मेरो ‘हामी सहँदै जाउँला’ कविता पनि सुनाएँ । कविता सुनेर कतिपय सांसद हाँसेका थिए । बुझेकाहरू भने गम्भीर बने । कविताले पुरुषलाई व्यंग्य गरेको छ । पछि अर्को बैठकमा ‘पोथी बास्नु हुँदैन’ कविता पनि सुनाएँ ।

म सांसद हुँदा विजय सुब्बा पनि तेह्रथुमबाट विजयी भएर आउनुभएको थियो । उहाँ राम्रो कवि हुनुहुन्छ । उता राष्ट्रिय सभामा कवि रामचन्द्र भट्टराई हुनुहुन्थ्यो । राजनीति मात्र गर्नेहरू रुखो हुन्छन् । जनताको विषयलाई हल्का रूपले बुझ्छन् । संवेदनशील हुँदैनन् । साहित्यकारले भने जनताका दुःख गहिरो गरी बुझेका हुन्छन् । ०६४ सालको संविधानसभामा मलाई टिकट दिएनन् । मलाई सोध्दा पनि सोधेनन् । म त पार्टी फुटेको वेला जितेको थिएँ । जितेर नराम्रो काम गरिनँ । औषधोपचार खर्च सात–आठ वर्षमा सात हजार लिएछु । यहाँ त लाखौँ कुम्ल्याउने छन् । तर, टिकट दिनेवेला वास्ता नगरेपछि पार्टी छाडेँ । माओवादीमा प्रवेश गरेँ । अहिले स्वतन्त्र छु । साहित्यमा नै लागिरहेको छु ।

म सांसद हुँदा पनि कतिपय रातो पासपोर्टमा मुछिए । तर, मेरो त पासपोर्ट नै बनेन । मलाई बाहिर नै पठाएनन् । महिलाप्रति धेरै भेदभाव छ भन्ने यसले देखाउँछ । चाप्लुसी गर्नेहरू अंग्रेजीको ‘अ’ नजान्ने पनि बाहिर जान्थे । म कुनै दागविना नै जिम्मेवारी निभाउने सांसद हुँ ।