मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ पौष ८ बुधबार ०६:५७:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

जसले सगरमाथाको उचाइ नाप्नेलाई शिखर पुर्‍याए

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ पौष ८ बुधबार ०६:५७:००

छिरिङ जाङबु शेर्पा जो १४ पटक आठ हजार मिटर अग्ला हिमालको चुचुरोमा पुगे, तर आफैँले झन्डा कहिल्यै गाडेनन्

सन् २००३ । छिरिङ जाङबु शेर्पा गाइडको रूपमा ल्होत्से हिमाल उक्लिरहेका थिए । एकजना बूढो विदेशी थिए शेर्पाको गेस्ट । शेर्पा गाइड र ती विदेशी आरोही । उनीहरू सात हजार तीन सय मिटरमाथि उक्लिसकेका थिए । बसेका थिए क्याम्प–थ्रीमा । माइनस दश–पन्ध्र डिग्री तापक्रम हुने ठाउँ । चिसो उस्तै । हिमालको भित्तो काटेर टेन्ट टाँगेका थिए ।

कुचुक्क रहन मिल्ने खालको थियो टेन्टको क्षेत्रफल । बिहानैको समय, शेर्पा चिया बनाउँदै थिए । अचानक नमीठो गन्ध टेन्टभरि फैलियो । शेर्पाले यताउता हेरे, बूढो गेस्टले त टेन्टभित्रै दिसा गरेछन् । त्यसवेला शेर्पालाई दिसाको गन्धभन्दा नमीठो आफ्नै पेसा लाग्यो ।

आफूले गरिरहेको काम गतिलो होइन भन्ने लागेको सुनाउँछन् शेर्पा । तर, पछि कन्भिन्स भए । बाहिर चिसो अत्यधिक थियो । चिसो मात्र नभएर भिर थियो । हिउँ काटेर बनाएको सानो ठाउँ न थियो । बाहिर जाँदा चिप्लेर लड्ने त्रास उस्तै । कथंकदाचित् चिप्लेमा जीवनको ठेगान के होला भन्न सकिने अवस्था थिएन । शेर्पा सुनाउँछन्, ‘तर पछि म आफैँ कन्भिन्स भएँ । त्यसबाहेक अर्को विकल्प पनि त थिएन मसँग ।’ 

सन् २००३ मै हो शेर्पाले गाइड भएर आठ हजारमाथिको हिमाल चढेको– ल्होत्से (८५१६ मिटर) । पहिलो एटेम्ट थियो उनको त्यो । जब हिमालको टुप्पोमा पुगेर तलतिर हेरे । अहो ! बादल त धेरै तल–तल छन् । ती बादलमा चट्याङ लागिरहेको छ । बिजुली चम्किरहेको छ । पानी परिरहेको छ । त्यही दृश्यले आफूलाई हिमालले तानेको र निरन्तर लागिरहेको शेर्पा हाँस्दै सुनाउँछन् । शेर्पाको हिमालसँगको सम्बन्ध सन् १९९६ बाट सुरु भयो । सोलुको तल्लो भेग लोखिममा शेर्पाका बाबुआमा किसान थिए । दाइहरू भने गाइड । पछि शेर्पा पनि थपिएपछि खेती–किसानी बाबुआमाकै पुस्तामा रोकियो । 

 

शेर्पाले सुरुवातमा किचनको भारी बोकेर हिमाल चढे । लुक्लाबाट एक दिनको क्याम्प थियो टोकटोक भन्ने ठाउँमा । उनलाई कामबारे थाहै थिएन । १७ वर्षका उनलाई अनुभव हुने कुरा पनि भएन । लाक्पा तामाङ भन्ने कुक थिए । काम नजानेको र बिगारेको झोकमा तामाङले शेर्पालाई एक झापड हाने । त्यतिले तामाङको रिस मरेन, अर्को एक लात पनि भकुरे । 

अर्को दिन नाम्चेमा बस्नुपर्ने थियो । यसपछि शेर्पाले भाँडाकुँडाको नाम, खानेकुराको नामलगायत सबै नोट गर्न थाले । दुईजना फ्रेन्च गेस्ट थिए । अर्को दिनपछि त आफैँ खाना बनाएर गेस्टलाई दिन सक्ने भए । ‘मलाई त्यही लात र झापडले यहाँ ल्याइपुर्‍यायो । त्यो वेला कुकले मलाई पिटेका थिएनन् भने यहाँ हुन्नथेँ,’ बानेश्वरको एक क्याफेमा विगत सम्झिँदै शेर्पा सुनाउँछन् । त्यसपछि उनले एसिस्टेन्ट गाइड भएर काम गरे तीन वर्षजति । ६ हजारभन्दा कम अग्ला हिमालहरू चढे ।

काम सिके । र, सन् २००३ मा गाइड भए । त्यही वर्ष विश्वको चौथो अग्लो हिमाल ल्होत्से चढे । तर, झन्डा भने अर्कैले गाडे । अहिलेसम्म १४ वटा आठ हजारभन्दा अग्ला हिमाल उक्लिए । हरेकपटक सफल भए । सगरमाथाको शिखरमा तीनपटक पुगे । चोेयु, ल्होत्से, मनास्लु, मकालु हिमाल चढे, तर गाइड भएर । आफैँले अहिलेसम्म झन्डा गाडेका छैनन् उनले । गाड्ने चाहना पनि छैन उनको । 

मान्छेहरू कथित इज्जत, नाम, प्रतिष्ठाका लागि अनेक हर्कत गर्छन् । शेर्पाजस्ता हजारौँ मान्छेको ढाडमा टेकेर मान्छेले सफलताको रिबन काट्छन् । तर, आफूले नाम कमाउनैपर्छ, हिरो हुनैपर्छ भनेर कहिल्यै नसोचेको बताउँछन् शेर्पा । ‘प्रकृति भनेको भगवान् हो । ऊमाथि चढ्नुअघि पूजा गर्नुपर्छ,’ शेर्पा सुनाउँछन्, ‘प्रकृतिसँग प्रतिस्पर्धा गर्नु हुँदैन । त्यो भएर पनि ममा आफैँ हिमाल चढ्ने मोह कहिल्यै पलाएन ।’

यो २५ वर्षमा भयावहदेखि आनन्ददायक कथा त कति छन् कति शेर्पाका । कतिपय स्मृति सम्झेर डराउँछन् । कतिपय स्मृति सम्झेर खुसी र उत्साहित हुन्छन् । सन् २००८ मा सगरमाथा चढ्ने आरोही र टोली बोकेर उक्लिरहेका थिए । उनले २००६ मै सगरमाथा चढिसकेका थिए ।

सात हजार मिटरको आसपासमा पुगिसकेका थिए । ल्होत्से दक्षिणी बेल्टबाट सगमाथा चढिरहेका शेर्पासँगै पाँचजनाको टोली थियो । तर, अचानक हावाका कारण हिमस्खलन भयो । सबैलाई उडाएर दुई सय मिटर तल झारेर पछारिदियो । कसैको घुँडा खुस्कियो, कसैको खुट्टा मर्कियो । तर, सबैलाई बचाएर ल्याए उनले । जबकि उनकै तीनवटा करङ भाँचिएका थिए । भन्छन्, ‘त्यो दुर्घटना म कहिल्यै पनि बिर्सन्नँ । 

यस दुर्घटनापछि शेर्पाले हिमाल चढ्न छाड्ने मनसाय बनाए । शेर्पाजस्ता धेरै छन्, जसले यस्ता दुर्घटनापछि हिमाल चढ्न छाडेका छन् । तर, उनी एक वर्षपछि फेरि चढ्न थाले । भन्छन्, ‘हिमालभन्दा बाहिर त मेरो जीवनको अर्थै छैनजस्तो लाग्यो । किनभने, म थाहै नपाई माउन्टेन लभर भइसकेको रहेछु । माउन्टेन एडिक्ट भइसकेको रहेछु ।’

सन् २०१३ मा फेरि अर्को घटना भयो । अप्रिल–मेको सिजन । मनास्लु चढ्दै थियो शेर्पाको टोली । क्याम्प–थ्रीमा सात हजार मिटरमाथि दुईजना आरोही बिरामी परे । अल्टिच्युड सिकनेसका कारण दुवैको पिसाब बन्द भयो । यसपछि हतार–हतार ओरालो झरे ।

क्याम्प–दुईमा आइपुग्दा एकजना आरोहीको मृत्यु भयो । रातारात झरे बेसक्याम्प । तल झरेर तातोपानीले सेकेर, हिट दिएर एकजनालाई उनले बचाए । ‘अहिले सम्झँदा पनि गेस्टलाई बचाउन नसकेकोमा दुःख लाग्छ,’ उनी सुनाउँछन्, ‘तर, त्यो वेला अरूलाई बचाउन खोज्दा आफू झन्डै मरेको । सात दिनमा पनि निको भइनँ ।’

प्रायः हिमाल आरोही टोली दुर्घटनामा परेको समाचार आइरहन्छन् । पछिल्लो समय अलि कम भएको छ । त्यस्ता दुर्घटना मौसमका कारण मात्र नहुने बताउँछन् उनी । ज्ञानको कमीले हुने शेर्पाको अनुभव छ । प्रायः दुर्घटना हिमाल समिट गरिसकेपछि हुने गर्छन् ।

जसका कारण उकालो चढ्दा ऊर्जा अधिक खर्च हुन्छ । तर, उक्लँदाजत्तिकै फर्कंदा पनि ऊर्जा चाहिन्छ । ‘मान्छे कसरी मर्दा रहेछन् भने सबैले समिट मात्र सोचेका हुन्छन् । फर्केर आउनुपर्छ भन्ने बिर्सेका हुन्छन् । समिट गरिसकेपछि एचिभ गरिसकेँ भन्ने हुन्छ,’ भन्छन्, ‘तर, तल झर्दा पनि खाना, पानी, अक्सिजन चाहिन्छ । बेसक्याम्प आउन च्यालेन्जिङ हुन्छ । त्यो बिर्सेपछि ऊर्जा सकिएर त्यहीँ सुत्ने र मर्ने अवस्था अधिक हुन्छ ।’

४२ वर्षीय शेर्पा अझै १५–२० वर्ष हिमाल चढ्ने सोचमा छन् । आफूले सकेसम्म र शरीरले धानेसम्म चढ्ने उनको योजना छ । हालै नेपाल सरकारले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गर्‍यो । नापी विभागको टोली सगरमाथा पुगेको थियो । चारजनामध्ये दुईजना बेसक्याम्पमा बसेका थिए भने दुईजना चुचुरोमा पुगेका थिए । जसलाई पुर्‍याउने काम गरेका थिए यिनै छिरिङ जाङबु शेर्पाले । १९ जनाबाट चारजनालाई शेर्पाले नै छनोट गरेका थिए । 

शेर्पाले गाइड गरेको टोली चुचुरोमा पुग्यो । बिहान ३ बजे पुगेको टोलीले उचाइ नाप्यो र फर्कियो । यता सगरमाथाको उचाइ बढेकोमा हर्षोल्लास छायो । शेर्पा गुनासो पोख्छन्, ‘त्यहाँ दुःख गरेर टोलीलाई पुर्‍याउने म । यता आएपछि मैले यसो गरेँ, उसो गरेँ, यस्तो थियो, उस्तो थियो भनेर अनुभव बाँड्दै हिँड्ने उहाँहरू । यस्तै चल्दोरहेछ यहाँ ।’

शेर्पा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा प्रमुख प्रशिक्षक पनि हुन् । उनी २०१५ बाटै विन्टर टुरिजममाथि काम गर्न लागिपरेका छन् स्की खेलमार्फत । नेपालमा हिमालको दुई सिजन हुन्छ, स्प्रिङ र अटम । रेनिङ सिजनमा वर्षा धेरै हुने, पहिरो जाने भएकाले जोखिम छँदै छ ।

विन्टर सिजनमा हिमाली भेगहरूका घरमा भोटेताल्चा लाग्ने गर्छ । जाडो छल्न या त व्यापार–व्यवसाय नभएकाले औल झर्छन् । नाम्चे बजारजस्तो ठाउँमा दुई मिटर हिउँ पर्दा स्की खेल्न सकिने र पर्यटन व्यवसाय गर्न सकिने सम्भावना देखेका छन् शेर्पाले । भन्छन्, ‘मेरो चाहना भनेको त्यस्ता ठाउँमा विन्टरको सिजनमा भोटेताल्चा लाग्नुभएन ।’ यसैका लागि शेर्पा दोलखाको कालिञ्चोक जाँदै छन् एक किलोमिटरको स्की एरिया बनाउन ।

हालै उनले आफ्नो आत्मकथा ल्याएका छन्, ‘छिरिङ जाङ्बु शेर्पा’ । आफूले भोगेको दुःख, कथा, व्यथा सुनाउन मन लागेर किताब लेखेको बताउँछन् उनी । ‘जीवनमा मेरो दुईवटा मात्र किताब हुनेछ । एउटा यही भइहाल्यो, अर्को किताब मेरो शेषपछि बच्चाहरूले छाप्नेछन्,’ शेर्पा सुनाउँछन् । उनका अनुसार आत्मकथाको अंग्रेजी भर्सन पनि चाँडै आउँदै छ ।