मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ पौष ८ बुधबार ०९:५७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

पहिलो पाँचतारे होटेल अन्नपूर्ण स्थायी रूपमा बन्द

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ पौष ८ बुधबार ०९:५७:००

होटेलमा कोरोनाको धक्का : भैरहवाको पाँचतारे टाइगर प्यालेस चैतयता खुल्न सकेन, सोल्टीले ४० प्रतिशत कर्मचारी कटौती गर्ने, अन्य ठूला होटेलले पनि बिदामा राखेका कर्मचारी बोलाएनन्

दरबारमार्गस्थित नेपालको पहिलो पाँचतारे होटेल ‘डेल अन्नपूर्ण होटेल’ एक वर्ष पूर्ण रूपमा बन्द हुने भएको छ । ५५ वर्ष पुरानो पाँचतारे होटेल कोभिड–१९ का कारणले विदेशी पर्यटक नआएका कारण खर्च धान्न मुस्किल भएको भन्दै बन्द गर्न लागिएको हो । व्यवस्थापनले बन्द गर्ने निर्णय गरेसँगै होटेलका ३ सय ६० भन्दा बढी कर्मचारीलाई बिदा गर्न सुरु गरिएको छ । अन्नपूर्ण होटेल सन् १९६५ स्थापना भएको हो ।

होटेल संघ नेपाल (हान)की अध्यक्ष तथा होटेलकी सञ्चालक सिर्जना राणाले सन् २०२१ भरि पर्यटक नआउने देखिएपछि होटेल बन्द गर्ने निर्णयमा पुगेको बताइन् । ‘आम्दानी प्रायः शून्य छ, खर्च धान्न नसक्ने भएपछि बन्द गर्ने निर्णयमा पुगियो,’ राणाले भनिन्, ‘२०२० को अन्त्यसम्म केही सुरुवात हुने आशा गरेका थियाँै, तर युरोपभर समस्या पुनः सुरु भएको छ, भ्याक्सिनको पनि टुंगो देखिएन । त्यसैले होटेल बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुग्यौँ ।’ 

होटेल बन्द  भएसँगै बैंकबाट ऋण लिएर कर्मचारी व्यवस्थापन गर्न लागिएको समेत राणाले बताइन् । अहिलेसम्म भएको तलब, कर्मचारी सञ्चय कोषलगायत सुविधा तथा अन्य कानुनअनुसार पाउने सबै सुविधा दिएर होटेल बन्द गर्न लागिएको उनले जानकारी दिइन् । दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा नेपाल ट्रस्टको समेत ५ प्रतिशत लगानी छ ।  

अन्नपूर्णको नयाँ संरचना निर्माणको तयारी 
पाँचतारे होटेल अन्नपूर्णको भवन पुरानो रहेको भन्दै लामो समययता नयाँ संरचना निर्माणको तयारी गरिएको थियो । तर, पर्यटक व्यवस्थापन गर्न समस्या हुने देखिएपछि सञ्चालकहरू नयाँ संरचना बनाउन हच्किएका थिए । अन्नपूर्ण व्यवस्थापनले नयाँ संरचना बनाउने निर्णय नभएको बताए पनि नयाँ भवन निर्माणको तयारी भने थालिएको छ । ‘भवन पुरानो छ, विगतमा निर्माणमा समस्या भएको, तर अहिले नै बनाउने भन्ने निर्णय भएको छैन,’ राणाले भनिन् । व्यवस्थापनले अध्ययन गरिरहेको र पाँचवर्षे योजना बनाएर लगानी गर्ने भएकाले अहिले अध्ययन भइरहेको उनले जानकारी दिइन् । 

नेपालको पहिलो पाँचतारे अन्नपूर्ण होटेल बन्द भएसँगै अन्य ठूला केही होटेलहरूले कर्मचारी कटौतीको निर्णय गरेका छन् । काठमाडौंबाहिर विदेशी लगानीमा खुलेको पाँचतारे टाइगर प्यालेस चैतयता खुल्न सकेको छैन । तर, काठमाडौंबाहिरका साना होटेलहरूमा भने आन्तरिक पर्यटकको चहलपहलले व्यवसायमा रौनक बढेको छ । 

टाइगर प्यालेस होटेल खुल्नै सकेन  
कोभिड–१९ पछि बन्द भएका ठूला र साना होटेलहरू थोरै क्षमतामा खुल्दै छन् । दुई वर्षअगाडि मात्रै विदेशी लगानीमा सञ्चालनमा आएको रुपन्देहीको पाँचतारे होटेल टाइगर प्यालेस लकडाउनयता खुल्नै सकेको छैन । हङकङको सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड लगानीमा होटेल सञ्चालनमा आएको थियो । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ बिघा क्षेत्रफलमा बनेको रिसोर्ट काठमाडौंबाहिरको सबैभन्दा ठूलो लगानीको होटेल हो । चार सय कोठा रहेको होटेलमा नेपालको सबैभन्दा ठूलो क्यासिनोसमेत रहेको छ ।

सीमानाका नखुलेसम्म होटेल सञ्चालन असम्भव भएकाले चैतयता खुल्न नसकेको होटेलका महाप्रबन्धक लक्ष्मण थापाले बताए । उनका अनुसार होटेल र क्यासिनो गरेर ५ सय ५५ कर्मचारीहरू बिदामै छन् । ‘होटेलमा ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटकको भर छ, सीमानाका बन्द हुँदा खोल्न सकिएन,’ थापाले भने । सरकारले हालसम्म क्यासिनोसमेत सञ्चालनमा रोक लगाएकाले पनि होटेल खोल्न नसकिएको उनको भनाइ छ । सबै व्यवस्था मिलेमा अब मार्चदेखि होटेल पूर्ण रूपमा खुलाउने तयारी गरिएको थापाले जानकारी दिए । 

सोल्टीले ४० प्रतिशत कर्मचारी कटौती गर्ने 
पाँचतारे होटेल सोल्टी क्राउन प्लाजाले ४० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । होटेलले ‘गोल्डेन ह्यान्डसेक’ दिएर ४० प्रतिशत कर्मचारीलाई बिदा गर्ने भएको हो । होटेल सञ्चालक समितिले कर्मचारीहरूलाई स्वैच्छिक अवकाशअनुसार बिदाइ गर्ने निर्णय गरेको हो । होटेलमा ३ सय ८२ जना कर्मचारी छन् ।

अहिले २ सय ८२ वटा कोठाहरू रहेको होटेलले १ सय कोठा मात्रै सञ्चालन गर्ने भएको छ । सोल्टीले औपचारिक घोषणा गरेरै कर्मचारी कटौती गर्ने जनाएको छ । अन्य ठूला पाँच तारे होटेलहरूले बिदामा राखेका कर्मचारीहरू अझै बोलाएका छैनन् । हायात, याक एन्ड यती, र्‍याडिसन, सांग्रिलालगायत होटेलहरू सानो क्षमतामा चले तापनि धेरैजसो कर्मचारीहरू बिदामै छन् ।
 
ठूलामा समस्या, साना होटेलले गति समात्दै 
आन्तरिक पर्यटकको चहलपहलले काठमाडौंबाहिरका साना होटेलहरूमा केही सहज हुँदै गएको छ । तर, ठूला तारे होटेलमा पर्यटक नआउँदा समस्या आएको छ । कोभिड–१९ का कारण होटेल क्षेत्रको लगानी नै जोखिममा पर्ने खतरा बढेको होटेल संघकी अध्यक्ष राणाले बताइन् । ‘नयाँ सञ्चालनमा आएका झनै समस्यामा छन्, पुरानामा पनि समस्या आएको छ,’ हानकी अध्यक्ष राणाले भनिन् । सरकारले पुनर्कर्जा तथा कर तिर्नमा केही सहुलियत दिएको छ भने ५० अर्बको कोष खडा गरेको छ । तर, पर्याप्त नभएको व्यवसायीले बताउँदै आएका छन् । अहिलेको अवस्थामा होटेलको ९० प्रतिशत आम्दानी गुमेको छ । 

होटेल क्षेत्रमा भएको लगानीको अहिले भ्यालुएसनमा १० खर्ब लगानी रहेको अनुमान गरिएको छ । कोभिड–१९ का कारण होटेल क्षेत्रको मात्रै १ खर्बभन्दा बढी गुम्ने अनुमान गरिएको छ । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेको थियो भने १ असोजदेखि नै होटेल तथा रेस्टुरेन्टहरू खुला गरेको थियो । खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल पोखरा र सौराहामा देखिएको छ । उक्त क्षेत्रमा होटेलहरू भरिभराउ भएका छन् ।

तर, काठमाडौंका तारे होटेलहरूमा विदेशी पर्यटक आउन नथालेसम्म समस्या आउने राणा बताउँछिन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा, २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपछि सबैले लगानी बढाएका थिए । ‘लक्ष्यसँगै पुराना व्यवसायीले लगानी विस्तार गर्ने घोषणा गरेका थिए भने होटेल क्षेत्रमा नयाँ लगानी पनि धमाधम भित्रिएको थियो,’ राणाले भनिन् । तर कोभिड–१९ का कारण निर्माणाधीन होटेलहरूको निर्माण समय लम्बिएको तथा लागतसमेत बढेको छ ।