मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष ७ मंगलबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक : देउवा भन्छन्– प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाको प्रतिरूप हो

Read Time : < 1 मिनेट
२०७७ पौष ७ मंगलबार १५:३९:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् । 

आज मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको कदम अधिनायक आकांक्षाको प्रतिरूप भएको बताएका छन् । 

उनले सम्बोधनमा भने, ‘संसद् विघटनको ओलीको कदम अधिनायक आकांक्षाको प्रतिरूप हो । यो सर्वसत्तावादको संकेत हो । यस्तो वेलामा देश गम्भीर संकटमा पुगेको छ, कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेस सशक्त ढंगले अघि बढ्नुपर्ने बताए । 

अहिले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम चलिरहेको छ । केन्द्रीय सदस्यहरूले आफूले चाहेजति समय लिएर बोल्न पाउने व्यवस्था गरिएको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरूसँग कुरा गर्दै कोरोना महामारीको यस्तो गम्भीर संकटको अवस्थामा निर्वाचनमा जाने असुहाउँदो कुरा हुने बताए । 

उनले भने, ‘जनता कोरोना महामारीका वेला सेतो कात्रो ओढेर घाटतिर जान बाध्य भएका वेला प्रधानमन्त्रीलाई भने रातो झण्डा बोकेर भोट माग्न जाने इच्छा जागृत भएको छ । यो बिल्कुल अमिल्दो विषय हो ।’

साथै उनले अहिलेको अवस्थालाई कांग्रेसले गम्भीर रूपमा लिएको र संयमित भएर संकटबाट मुक्ति दिलाउने विषयमा निर्णय गर्ने बताए । 

कांग्रेस केन्द्रीय समिति बैठकमा संसद् पुनर्स्थापनाको विषयको पहलमा के गर्ने,  निर्वाचनलाई कसरी लिने, संवैधानिक संकटको अवस्था, राजनीतिक रूपमा कसरी प्रतिरोध गर्ने भन्ने विषयमा छलफल हुँदै छ । 

बैठक केही दिन लम्बिनेछ ।