मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. डीबी कट्टेल
२०७७ पौष ७ मंगलबार ०७:००:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रकृतिमा मानवको प्रतिस्पर्धी को ?

Read Time : > 6 मिनेट
डा. डीबी कट्टेल
२०७७ पौष ७ मंगलबार ०७:००:००

हामी अहंकारी छौँ र प्रभुत्वको होडमा हामीसँग प्रतिस्पर्धाका लागि आफूबाहेक अरू कोही छैन भनेर दाबी गर्छौं

सन् १९८७ मा न्युयोर्कको प्लेनम मेडिकलमा प्रकाशित एउटा लेखमा अमेरिकी वैज्ञानिक एडविन डी किल्बौर्नले भनेका छन्– हामी मानव अत्यन्तै क्रोधित र कर्कस छौँ । सिसाको ट्युबभित्रका ‘किरा’हरू भन्दा पनि मानिस ग्रहको सतहमा ज्यादा तितरबितर छन् । हामीसँग एकअर्कालाई संक्रमित गर्ने अवसर पनि थोरै छन् । हाम्रो तुलनामा सिसाको ट्युबभित्रका करोडौँ किराहरूको प्रसारणमा कम रासायनिक र शारीरिक अवरोधहरू हुन्छन् । तर, तपाईंले बुझ्नु्हुनेछ, पृथ्वीमा किन मानिस यौनजन्य रोगबाट ज्यादा संक्रमित हुन्छन् । किल्बौर्नको यो भनाइले अबोध जीवको तुलनामा मानव नै कम अनुशासित छ भन्नेतर्फ संकेत गरेको हो भन्ने बुझाइ पंक्तिकारको छ ।

विषाणु र जीवाणु संक्रमणका धेरै प्रकोप वा महामारीले विभिन्न कालखण्डमा मानवलगायत विभिन्न प्रजातिका जीवजन्तुको ठूलो हिस्सालाई नष्ट गरेको छ । सामान्यतः महामारीमा त्यस्ता जीवहरूको समूह मात्र बच्ने गर्छ, जसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यो एउटा प्राकृतिक प्रक्रिया नै हो । जीवजन्तुको विलुप्तताबारे लेखिएका विभिन्न लेखमा संक्रामक रोगका बारेमा कमै मात्र बहस हुने गरेको छ । रोगसँग गाँसिएका तथ्यलाई जीवास्म रेकर्डबाट समेत प्रमाणित गर्न असम्भव हुन्छ भनेर वैज्ञानिकहरू भन्छन् । तर, रोग पनि जीव तथा वनस्पतीय प्रजातिमा ठूलो संख्यामा हुने प्रासंगिक परिवर्तनका लागि एक उल्लेखनीय प्राकृतिक क्रियाविधि हो भन्ने मान्यता पनि वैज्ञानिकको छ ।

सूक्ष्म जीव होस् या विशाल, मानवलगायत सबै जीवजन्तुमा हुने आनुवंशिक परिवर्तन नितान्त प्राकृतिक नियम नै हो । विकासवादी सिद्धान्तअन्तर्गत प्राकृतिक छनोटको प्रक्रियामा ‘जीवनका लागि संघर्ष’ अर्को सर्वव्यापी मान्यता हो । र, यही मान्यतालाई आधार मान्ने हो भने कोरोनाको आहिलेको विश्वव्यापी आतंकसँगै प्रश्न उठ्न सक्छ कि यो धर्तीमा मानव जातिको कुनै प्रतिस्पर्धी नै छैन ? के सूक्ष्म जीवहरू मानवका प्रतिस्पर्धी नै होइनन् ? १४औँ शताब्दीको ब्ल्याक डेथ, हैजाको पुनरावृत्ति, सन् १९१८ को महामारी र आहिलेको कोरोना मानव समुदायमा निरन्तर प्रहार भएको प्राकृतिक चोट हो, जसले प्राकृतिक छनोटको प्रक्रिया र विकासवादी सिद्धान्तमा मानवको स्थानलाई पक्कै पनि फरक धारमा उभ्याएको छ ।

महामारी कारक विषाणु खतराको न्यूनीकरण वा फैलिँदो संक्रमणविरुद्धको विजय तिनै प्रतिस्पर्धीसँग सामना गर्न प्राकृतिक रूपमै विकसित हाम्रा जैविक क्षमतामा नै अन्तर्निहित हुन्छन् । तर, मानव रक्षा संयन्त्रले सधैँ काम गर्दैन र महामारी कारक विषाणुहरू जहिले पनि सौम्य हुँदैनन् । महामारीको शमन वा अल्पीकरण विषाणुको विकास र चरित्रमा पनि निर्भर रहन्छ, जसले उन्मूलनका लागि समेत सहयोग गर्छ । विषाणुको एकल संक्रमण वा एक्लो संक्रमित व्यक्तिको मृत्यु पनि महामारी नियन्त्रणका लागि तुलनात्मक रूपमा फाइदाकारी होइन । महामारीको प्रभावकारी नियन्त्रण वा त्यसविरुद्ध विजयका लागि ठूलो जनसंख्यामा विषाणुको प्रसार उपयुक्त मानिन्छ । किनकि प्राकृतिक हिसाबमा जीवन प्रक्रियाका लागि अनुकूलन सबैभन्दा महत्वपूर्ण पाटो हो ।

पुर्खा, जीवन विकास र परिवर्तन बुझ्न डिएनए विश्लेषण आहिलेको समयमा महत्वपूर्ण तरिका बनेको छ । फ्रेडरिक मिस्चरले सन् १८७० मा पिपका कोषहरूमा न्युक्लिक एसिड (डिएनए) पत्ता लगाए । तर, डिएनएको जैविक कार्य ओटी एभरी, सिएम म्याकलोड र एम म्याककार्टीको अनुसन्धान पत्र प्रकाशित नहुन्जेलसम्म प्रस्ट थिएन । निमोनियाको रुपान्तरण गर्ने पदार्थको रासायनिक प्रकृतिबारे रक्फेलर इन्स्टिच्युटमा गरेको उनीहरूको कार्य सन् १९४४ मा जर्नल अफ एक्स्पेरिमेन्टल मेडिसिनमा छापिएको थियो । डिएनए अनुसन्धानमा विलम्ब हुनुमा प्रयोगात्मक प्रविधिको कमी नै कारण हुन सक्छ ।

भौतिक विकास जरुरी हो, तर यसका नाममा सौम्य प्रकृतिलाई क्षय गर्नु पनि उपयुक्त होइन, हामीले सैतानी आधुनिकताका कारण सौम्य प्रकृतिको सन्तुलनलाई विचलित गर्दै गएका छौँ

किनकि ७४ वर्षअघि अत्याधुनिक उपकरणको आविष्कार भइनसकेको अवस्था थियो । डिएनएकै प्रसंग जोड्दै अमेरिकी वैज्ञानिक जोसुवा लेडरबर्गको ‘सेल जेनेटिक्स एन्ड हेरिडिटिरी सिम्बायोसिस’ नामक एउटा लेख १९५२ मा फिजिकल रिभ्युमा प्रकाशित भएको थियो । उनले यो लेखमा एउटा अनौठो तर्क राखेका छन् कि हाम्रो डिएनएको लगभग ९५ प्रतिशत भाग ‘स्वार्थी हुन सक्छ’ अर्थात् परजीवी मूलको हुन सक्छ । उनको थप तर्क छ– धर्तीमा रहेका कुनै पनि अदृश्य कीटाणु हाम्रो आफ्नै पुर्खा वा वंशपरम्परा र प्रकृतिका लागि हाम्रो गुणसूत्रमा छिर्छन् वा छिर्न सक्छन्, जसबाट विकासका क्रममा उनीहरूलाई केही आकस्मिक र आपसी लाभ पनि हुन सक्छ । धर्तीमा जीवनको सुरुवात एक कोषीय जीवबाट भएको हो भन्नेबारे गरिएका वैज्ञानिक व्याख्यान पनि धेरै छन् । तर, जीव उत्पत्ति यो लेखको सन्दर्भ नभएकाले त्यसतर्फ नलागौँ । 

पृथ्वीमा जीव विकास, जीवन, वंश परम्परा र जीवाणु विज्ञानका सन्दर्भमा वैज्ञानिकहरू चाल्र्स डार्विन, ग्रेगर मेन्डल र लुइस पास्चर नबिर्सिने नाम हुन् । रुढिवादी मान्यताका डार्विन र पास्चरजस्ता दुई विरोधीको वैचारिक अन्तत्र्रिmयामा उतिवेला मानव समुदायले थोरै मात्र ध्यान दियो । डार्विनले मानिसको सृष्टि, प्रजातिहरूको स्थिरताका सन्दर्भमा धेरै प्रश्न निरुत्तरित रहेको वकालत गरे । उनका कतिपय विचारले ईश्वरशास्त्रीय मान्यतामा आँधीबेहरीसमेत जगायो । तर, पास्चर भने त्यस्ता विवादास्पद बहस र रहस्यबाट आफूलाई हटाउन सदैव कटिबद्ध रहे । सन् १९८८ मा वैज्ञानिक जोसुवा लेडरबर्गको  ‘प्राकृतिक विकासवादी घटनाको रूपमा महामारी’ नामक एक पुस्तक जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गर्‍यो । चाल्र्स डार्विनको भूमिकालाई उल्लेख गर्दै यो पुस्तकमा उनी लेख्छन्– १९औँ शताब्दीमा उनका विचारहरूले प्रकृतिमा मानिसको स्थानका बारेमा हाम्रो सोचाइलाई निश्चित आकार प्रदान गर्‍यो । वास्तवमै जीवको उत्पत्ति र विकासको क्रमलाई डार्विनले एक निश्चित ढंगबाट प्रणालीगत रूपमा व्यख्या गर्दै विकासवादी सिद्धान्तको प्रतिपादन गरे । वैज्ञानिक इतिहासमा डार्विनको यो सिद्धान्त ठूलो उपलब्धि थियो । 

वैज्ञानिक लुइस पास्चर डार्विनकै समकालीन हुन् । मानवमा लाग्ने रोगका कारक जीवाणुविरुद्ध विजय पाउने उनी एक नायक पनि हुन् । उनले ती प्रश्नलाई मात्र सम्बोधन गर्न जोड दिए, जुन प्रयोगका लागि पहुँचयोग्य छन् । यसमा सूक्ष्म जीवहरूको स्वाभाविक पुस्ताका बारेमा गरिएका समकालीन दाबीहरू पनि पर्छन् । शास्त्रीय मान्यता पनि पर्छन् । सन् १८६४ ताकाको उनको यो विचार एक हिसाबले रुढ़वादिताका लागि सुखद समर्थन थियो, जसले जीवनको अन्तिम उत्पत्तिका लागि केही हदसम्म सृष्टिकर्तालाई आह्वान गथ्र्यो । अप्रत्यक्ष रूपमा यो डार्विनको विकासवादी सिद्धान्तविरुद्धको तर्क पनि थियो । सन् १८८३ सम्म आइपुग्दा पास्चर जीवोत्पत्तिका लागि क्रियाविधिक दृष्टिकोणमा बढी आशावादी भएका थिए । एक जैविक–रासायनिक विषमता प्राप्त गर्नु छ भने विद्युत् चुम्बकीय प्रयोगबाट पनि सम्भव हुन सक्छ भन्ने मान्यता उनको थियो । उनले जीवाणु उत्पत्ति वा तिनीहरूको अस्तित्व विद्यमान कीटाणुको वायुजनित प्रसारद्वारा गणना गर्न सकिन्छ भन्ने प्रस्ट पारे । डार्विनले भने पास्चरको मानवीय योगदानलाई उत्साहजनक माने । यद्यपि पास्चरमा डार्विनको विकासवादी सिद्धान्तप्रति सहानुभूतिपूर्ण बुझाइ थियो भन्ने तथ्य कहीँ कतै पनि उल्लेख छैन । यसबाट प्रयोगवादी पास्चर डार्विनको अनुमानको पद्धतिको विरोधी थिए भन्ने अनुमान गर्न सकिन्छ ।

अर्का समकालीन, ग्रेगोर मेन्डल जो आनुवांशिक विज्ञानका संस्थापक पनि हुन्, सन् १८६५ मा उनीबाट अभिव्यक्त गरिएका धारणा अर्थात् आनुवांशिक विज्ञानको जग सन् १९०० सम्म पुरिएर रह्यो । स्मरणीय के छ भने औषधीय विज्ञानतर्फ योगदानका सन्दर्भमा पास्चर सर्व प्रशंसीय छन् । विकासवादी सिद्धान्त र आनुवांशिक विज्ञानका क्षेत्रमा डार्विन र मेन्डलको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । तर, यिनीहरूले आफ्ना समकालीनको मौलिक जैविक बुझाइ वा एकआपसका उपलब्धिलाई एकीकृत व्याख्यानका लागि भने गम्भीर चासो नदिएको अनुमानचाहिँ गर्न सकिन्छ । यसबाट त्यो वेला डार्विन, पास्चर र मेन्डलबीच पूर्ण रूपमा दिमागी र वैचारिक अवरोध थिए भन्ने प्रस्ट हुन्छ । प्रयोगात्मक विज्ञानमा, डार्विनियन, मेन्डलियन र पास्चरियन दृष्टिकोण पूर्णरूपमै एकीकृत छन् । तर, डार्विनले आफ्नो प्राकृतिक इतिहासमा सूक्ष्म जीव विज्ञानलाई कहिल्यै पनि समावेश गरेनन् । न त उनले परिवर्तनको सन्दर्भमा प्रतिस्पर्धीका रूपमा जीवाणुहरूका बारेमा नै चर्चा गरे । उनले जीवको क्रमागत उन्नतिलाई उच्च महत्व दिँदै ‘होमो सेपियन्स’लाई विकासवादी प्रक्रियाको शिखरमा राखे । तर, प्रकृतिमा मानिसले विशेषाधिकार पाएको छ भन्ने दृष्टिकोणलाई उनले कहिल्यै सुधार गरेनन् । त्यसैले मानिसको बुद्धिमत्ता, उसको संस्कृति, उसको प्रविधिले पक्कै पनि अन्य सबै बोटबिरुवा र पशु प्रजातिलाई प्रतिस्पर्धाबाट बाहिर राखेको हुनुपर्छ । 

पुनः सूक्ष्म जीवकै कुरा गरौँ । फ्रेडरिक त्वोर्ट र फेलिक्स डिहेरेल्लेले एक सय वर्षभन्दा पहिले विषाणु र जीवाणुबीचको प्रतिस्पर्धा पहिलोपटक देखेका थिए । प्रकृतिमा सूक्ष्मजीवको जीवनको पाटो केलाउने क्रममा परीक्षण ट्युबको सूक्ष्म जगत्मा भेटिएको एक फरक चरित्रको व्याख्या उनीहरूले गरे । उनीहरूले जीवाणु (ब्याक्टेरिया) को आफ्नै विषाणु (भाइरस) हुन्छ भन्ने तथ्यलाई समेत प्रमाणित गरे । र, सूक्ष्मजीवहरू उनीहरूको मूल प्राकृतिक स्रोतसँग असहज सन्तुलनमा हुन्छन् भन्ने तर्क पनि अघि सारे । द्वन्द्वमा बच्नेहरू उत्परिवर्ती जीवाणु हुन्छन्, जसले उत्परिवर्ती विषाणुको प्रतिरोध गर्छन् भन्ने कुरालाई पनि उनीहरूले पुष्टि गरे । वैज्ञानिक लेडरबर्गको तर्क छ– त्यस्ता प्रक्रियाहरू टेस्टट्युबभित्रका लागि मात्रै अद्वितीय छन् त ? वा ठूलो जीवनलाई चाहिँ छुट छ ? ठुला र सानाबीच सायद प्रजननका लागि समय मापनमा असमानता होला, संख्यात्मक रूपमा भिन्न हुन सक्छ, कारक अनुमान गर्न सजिलो नहोला, तर मौलिक जैविक सिद्धान्तहरू भने उस्तै छन् । हामीले प्रतिरक्षा प्रणालीको विकास गरेका छौँ र विषाणुको आक्रमणविरुद्ध लड्न हाम्रो प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । वैज्ञानिक किल्बौर्नको तर्क छ– विषाणु संवेदनशील जनसंख्यामा पुगेपछि प्रतिरक्षा प्रणालीको सामना गर्नुपर्दा ठूलो दबाबमा पर्छ र नवीन विषाणुको उद्भवलाई प्रोत्साहित गर्छ । यो पनि एउटा प्राकृतिक विधि नै हो । 

मानव आफैँमा यो ग्रहमा एकदम भर्खरको उदय हो । भनिन्छ, मानव एक सिर्जना वा प्राणी संस्कृतिको मानवले नै बनाएको एक प्रजाति हो । भौतिक विकास जरुरी हो, तर यसको नाममा सौम्य प्रकृतिलाई क्षय गर्नु पनि उपयुक्त होइन । हामीले सैतानी आधुनिकताका कारण सौम्य प्रकृतिको सन्तुलनलाई विचलित गर्दै गएका छौँ । र, पनि प्रकृति सौम्य छ भनेर विश्वास गर्दैमा हामी सन्तुष्ट हुन्छौँ । हामी अहंकारी छौँ र प्रभुत्वको होडमा हामीसँग प्रतिस्पर्धाका लागि आफूबाहेक अरू कोही छैन भनेर दाबी गर्छौं । तर, विभिन्न कालखण्डमा भएका घटनाले हाम्रो प्रजातिबाहिरका विषाणु, जीवाणु र परजीवी नै हाम्रा प्रमुख प्रतिस्पर्धीहरू हुन्, जो हाम्रो अस्तित्वका लागि एक अस्थायी खतराका रूपमा रहेका छन् भनेर प्रमाणित भइसकेको छ । त्यस्तै विकासवादी सन्तुलनमा हामीले ग्रहलाई जीवजन्तु, वनस्पतिलगायत सूक्ष्म परजीवीसँगै साझा गरेका छौँ । तिनै जीवहरूबीच प्रत्यक्ष र परोक्ष हुने लडाइँ र जीवन अस्तित्वका लागि सुरक्षित रहन गरिने कोसिस प्राकृतिक प्रक्रिया नै हो । त्यसैले सन्तुलनका सर्तहरू धर्तीमा प्रभुत्व वर्ग ठान्ने मानवको स्वेच्छामा मात्र निर्भर रहँदैन, किनकि जीवन सीमा, सुरक्षित अस्तित्व र अनिश्चितता पनि सबै जीवनबीच समान रूपमा बाँडिएको छ । पृथ्वीका लागि यस्तो सन्तुलनले मानव प्रजातिलाई पनि समावेश गर्छ । यसैले प्रविधिको प्रभाव सधैँ प्राकृतिक संघर्षको मानवीय पक्षमा छैन । बोटबिरुवा र जनावरहरूको कृत्रिम छनोटको संस्कृतिले उनीहरूको मौलिक स्वरूपलाई पक्कै पनि लामो समयसम्म सुरक्षित राख्दैन ।

अप्राकृतिक फेसन जस्तै– मानव बस्तीको बढ्दो घनत्व, पर्यावरणीय विनाश, प्रदूषणमा वृद्धि, सववे, जेट र हवाईजहाज जस्ता आविष्कारले सूक्ष्म जीवसँगको लडाइँलाई झन् बढाएको छ । प्राविधिक क्षेत्रलगायत औषधि विज्ञानमा भएको विकासले ठूलो मानव हिस्सालाई सूक्ष्म जीवनको अनुभवबाट पर धकेलेको छ । अनुकूलनको विकासवादी मान्यताका आधारमा भन्ने हो भने यसले हामीलाई लामो समयसम्म अझ कमजोर बनाउँदै झन् जोखिममा छाडेको छ । जैविक चुनौतीको सामना गर्न मानव प्रजातिमा विकसित जातीय विविधता विकासवादी प्रक्रियाको अनुपम देन हुन सक्छ । तर, अझै कुनै ग्यारेन्टी छैन कि मानव प्रजातिका साथ विषाणुको प्राकृतिक विकासवादी प्रतिस्पर्धामा मानवले आफूलाई सधैँ विजेताका रूपमा भेट्टाउनेछ ।  

(कट्टेल बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सहप्राध्यापक हुन्)