१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष ७ मंगलबार ०६:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शीतलहरमा घर भत्काएपछि सुकुम्बासी परिवारको बिचल्ली

Read Time : > 3 मिनेट
२०७७ पौष ७ मंगलबार ०६:००:००

घरविहीन भएका ७५ वर्षीय रामवृद्ध यादव भन्छन्– सरकारले घर भत्काइदियो, बस्ने ठाउँ नै छैन । यही चिसोमा मर्छु कि भन्ने डर लागेको छ ।

स्थानीय सरकारले भत्काएको घरछेउमै घाम ताप्दै ७५ वर्षीय रामवृक्ष यादव ।

हिउँद लागेसँगै तराई–मधेसमा चिसो सिरेठो चल्न थालेको छ । अझ केही दिनयता शीतलहर पनि सुरु भएको छ । यस्तै वेला सिराहाको सिराहा नगरपालिका–२० लगडिगदियानी गाउँका ७५ वर्षीय वृद्ध रामवृक्ष यादव घरविहीन भएका छन् । उनी दुःखेसो गर्छन्, ‘सरकारले घर भत्काइदियो, बस्ने ठाउँ नै छैन ।’ 

उनका छोरा रोजगारीका लागि भारत गएका छन् । बुहारी र चार वर्षीया नातिनीसँगै बस्दै आएका उनी गत साता सिराहा नगरपालिकाले घर भत्काएपछि बिचल्लीमा परेका छन् । दिउँसो आकाश खुल्दा केही सहज हुने भए पनि बिहान–बेलुका अप्ठ्यारो हुने गरेको उनले बताए । ‘यही चिसोमा मर्छु कि भन्ने डर लागेको छ,’ रामवृक्षले भने । स्थानीय सरकारले भत्काएको घर छेउमै चार वर्षीया नातिनीसँगै घाम तापिरहेका उनी निराश देखिन्थे । 

उनका छिमेकी ५० वर्षीया सतिराम मुखियाको पनि उस्तै पीडा छ । सिराहा नगरपालिकाले सडक विस्तारका लागि उनको पनि घर भत्काएको छ । छिमेकीको घरमा आश्रय लिइरहेका सतिरामले भने, ‘चिसो बढ्दै गएको छ । यस्तो वेला ओत लाग्ने झुपडीसमेत भत्काइदिएपछि समस्यामा परेका छौँ । बालबच्चालाई चिसोबाट जोगाउनै मुस्किल भएको छ ।’

स्थानीय सरकारले लगडिगदियानी गाउँका ३० परिवार सुकुम्बासीको घर भत्काएको छ । गोलबजारबाट सीमावर्ती लगडिगदियानीसम्म २७ किलोमिटर सडक विस्तारका लागि सुकुम्बासीका घर भत्काइएको हो । वैकल्पिक व्यवस्था नगरी शीतलहर चलिरहेका वेला घर भत्काएपछि सुकुम्बासी परिवार बिचल्लीमा परेका छन् । यस्तो चिसोमा वृद्धवृद्धा र बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरूले दुःखेसो गरेका छन् ।

स्थानीय सरकारले एकाएक घर भत्काएपछि ३० परिवार अप्ठ्यारोमा परेको स्थानीय अगुवा भोलाप्रसाद साहले बताए । ‘शीतलहरमा कतिपय परिवार त्रिपालमुनि बसिरहेका छन्,’ भोलाप्रसादले भने । बालबालिका र वृद्धवृद्धालाई चिसोले अप्ठ्यारो पार्न थालेको उनले सुनाए । ‘शीतलहरको समयमा उठीबास पारिएका सुकुम्बासी दलितहरू बिरामी परेर ज्यान तलमाथि पर्‍यो भने कसले जिम्मेवारी लिन्छ ?’ उनले प्रश्न गरे । 

यसअघि उनीहरूलाई स्थानीय सरकारले बसोवासका जग्गा दिने आश्वासन दिएको थियो । बस्ने व्यवस्था गरेपछि मात्रै घर भत्काउने बताएपछि उनीहरू ढुक्क थिए । तर, अहिले एकाएक घर भत्काएको लगडिगदियानी गाउँकी ५० वर्षीया रैवती मुखियाले गुनासो गरिन् । ‘मजदुरी गरेर पेट पाल्दै आएका थियौँ,’ रैवतीले भनिन्, ‘कम्तीमा जाडोभर छोडिदिनुस्, त्यसपछि आफैँ भत्काउँछौँ भनेर बिन्तीभाउ गर्‍यौँ, कसैले सुनेनन् । नगरपालिकाले डोजर ल्याएर जबर्जस्ती भत्कायो । हाम्रो त बिचल्ली भएको छ ।’

मजदुरी गरेर मुस्किलले बनाएको घर भत्किएको उनले दुःखेसो गरिन् । उनले १० धुरमा घर बनाएकी थिइन् । आठ धुर जमिन सडकमा परेपछि घर भत्काएको बताइन् । ‘मुस्किलले बनाएको घर भत्काइदिए, अब दुई धुरमा के गर्नु ?’ उनले भनिन् ।

नगरपालिकाले घरगोठ नै भत्काएपछि चिसोले बाख्रा मरेको ४५ वर्षीय रामकुमार साहले दुःखेसो गरे । उनले पाँच बाख्रा पालेका थिए । चिसोमा बाहिर राख्नुपरेपछि दुई बाख्रा मरेको उनले बताए । ‘बाख्राबाट घरखर्च चलाउन सजिलो हुने आशा थियो,’ रामकुमारले भने, ‘बसोवासको विकल्प पनि नदिई नगरपालिकाले घरगोठ भत्कायो । गोठै नभएपछि दुईवटा बाख्रा मरे, बाँकीलाई पनि चिसो लागेको छ ।’ शीतलहर सुरु भएकाले बालबालिकालाई पनि जोगाउन गाह्रो भइरहेको उनले सुनाए । ‘शीतलहरमा घर नै नरहेपछि छोराछोरीलाई जोगाउनु कि पशुचौपायालाई ? सरकारले समस्यामा पार्‍यो,’ उनले भने । 

सिराहा नगरपालिकाले भत्काएको आफ्नो घर देखाउँदै ५० वर्षीय सतिराम मुखिया । 

बाल विकास केन्द्र भत्काएपछि पढाइ अवरुद्ध
सिराहा नगरपालिकाले लगडिगदियानीस्थित बाल विकास केन्द्रको भवन पनि भत्काएको छ । केन्द्रको भवन भत्काएपछि पठनपाठन अवरुद्ध भएको बाल विकास सहजकर्ता सुनिता यादवले बताइन् । 

भवन भत्काउँदा बालबालिकाको पढाइ रोकिने बताउँदा पनि नछोडेको उनले बताइन् । ‘पठनपाठनका लागि अर्को व्यवस्था मिलाएर मात्रै भवन भत्काउन आग्रह गरेकी थिएँ,’ बाल विकास सहजकर्ता यादवले भनिन्, ‘जति आग्रह गर्दा पनि स–साना बालबालिकाको पढ्ने भवन भत्काएर छोडे ।’ उनका अनुसार बाल विकास केन्द्रमा पाँच वर्षमुनिका स्थानीय २५ बालबालिका पढ्दै आएका छन् । अहिले भने उनीहरूको पढाइ रोकिएको छ । 

म आफैँ अप्ठ्यारोमा छु : वडाध्यक्ष
मेयर अशेश्वरप्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवसँग पटक–पटक आग्रह गर्दा पनि सुकुम्बासीका घर जोगाउन नसकेको वडाध्यक्ष रामचन्द्र यादवले बताए । ‘म आफैँ अप्ठ्यारोमा छु,’ उनले भने । 

वडा कार्यालयमार्फत बनाइएको योजनाअनुसार सडक क्षेत्रमा परेका घरटहरा बनाउने ठाउँको व्यवस्था गरेपछि मात्र घर भत्काउन आग्रह गरेको उनले बताए । सडक विस्तारका लागि सहजीकरण गरिदिन नगरबाट आएको पत्रानुसार सडक क्षेत्रमा पर्ने घर टहराको लगत संकलन गरी अप्ठ्यारोमा पर्नेहरूको सूचीसमेत तयार गरेको बताउँदै वडाध्यक्ष यादव भन्छन्, ‘वडाले दिएको नामावली र व्यवस्थापनका लागि दिएको सुझावलाई बेवास्ता गरी नगरले एकलौटी ढंगले घर भत्कायो ।’

घरटहरा नै नभएपछि चिसोमा अप्ठ्यारो झेलेका अति विपन्न महेन्द्र रामसहित तीनजनाको परिवारलाई आफ्नै खर्चमा करिब पाँच हजार रुपैयाँबराबरको त्रिपाल खरिद गरेर दिएको उनले बताए । ‘मेरै वडाका नागरिक हुन्, चिसोले ज्यान तलमाथि भयो भने समस्या होला भनेर आफ्नै रकम खर्चिएर त्रिपाल दिएको हुँ,’ उनले भने । 
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले यस विषयमा बोल्न चाहेनन् । सोमबार राति ८ बजे फोन गर्दा यादवले भने, ‘म खाना खान बसेको छु, जे कुरा गर्नुपर्ने हो, भोलि गरौँला ।’ 

गोलबजारबाट सीमावर्ती लगडिगदियानीसम्म २७ किलोमिटर सडक विस्तारका लागि काठमाडौंको कन्ट्याक्ट कन्स्ट्रक्सनलाई ९१ करोड ३९ लाख ७९ हजार ६० मा ठेक्का दिइएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरअन्तर्गत लगडिगदियानीबाट उत्तरतर्फ १२ किलोमिटर र गोलबजारबाट दक्षिण १५ किलोमिटर दुई प्याकेजमा कालोपत्रेसहित सडक निर्माणको २९ मंसिरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिलान्यास गरेका थिए ।