मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएफपी
२०७७ पौष ६ सोमबार १६:००:००
Read Time : < 1 मिनेट
विश्व

२९ डिसेम्बरअघि नै युरोपियन युनियनअन्तर्गतका मुलुकमा कोरोनाविरुद्धको खोपले अनुमति पाउने सम्भावना

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ पौष ६ सोमबार १६:००:००

युरोपेली युनियनको औषधि नियामक निकायले फाइजर–बायोन्टेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने भएको छ । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउनेबारेमा युरोपेली युनियनमा छटपटी सुरु भइसकेको छ ।

आर्म्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले २९ डिसेम्बरअघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ । जर्मनी र अरू युरोपेली मुलुकहरूले लगातार दबाब दिएपछि इएमएले फाइजरको खोप स्वीकृत गर्न लागेको हो ।

बेलायत र संयुक्त राज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले विकास गरेका छन् । यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय (एफडिए)ले अनुमति दिएको थियो ।

युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी २७ डिसेम्बरदेखि खोप लगाउने तयारी गरेका छन्, तर इएमएले एक वर्षका लागि ससर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ । 

इएमएले खोप स्वीकृत गर्नेबारेमा गहन अध्ययन र परामर्श गरिरहेको जनाएको छ । इएमएका प्रमुख एमर कुकले गत साता कोभिड– १९ को खोपको मूल्यांकनमा दिनरात काम गरिरहेको बताएका थिए । अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको खोपबारेमा भने ६ जनवरी ६ मा निर्णय गर्ने इएमएले जनाएको छ ।

फाइजर–बायोन्टेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । यस खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नुपपर्छ र झन्डै तीन साताको अन्तरालमा दुई डोज दिनुपर्छ ।