मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष ६ सोमबार ०८:५९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डब्लुएचओले वुहानमा कोभिडबारे अध्ययन गर्ने

Read Time : > 1 मिनेट
२०७७ पौष ६ सोमबार ०८:५९:००

कोभिड भाइरसको उद्गम बिन्दु मानिएको चीनको वुहानमा भाइरसबारे अनुसन्धान गरिने भएको छ । अन्तर्राष्ट्रियस्तरका दश वैज्ञानिकको टोलीले अर्को महिना वुहानमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

डब्लुएचओले वुहानमा अध्ययन गर्ने इच्छा व्यक्त गरे पनि बेइजिङले वुहानमा स्वतन्त्र रूपमा अध्ययन गर्न अनुमति दिएको थिएन । वुहानमा अध्ययन अगाडि बढाउन महिनौँ वार्ता गर्नुपरेको डब्लुएचओले बताएको छ । हालसम्म सुरुवातमा जनावरबाट मानिसमा सरेको भनिएको कोरोना भाइरसबारे यकिन तथ्य बाहिर आइसकेको छैन ।

वुहानमा भाइरसबारे गहिरो अध्ययन गरिने र संकलित तथ्यांकको आधारमा भविष्यमा आउन सक्ने जोखिम कम गर्न सकिने विश्वास गरिएको छ । चार वा पाँच हप्तासम्म अध्ययन गरिने लक्ष्य लिएको यो योजनाले भाइरस कहिले फैलिएको र कोरोना भाइरस वुहानबाट सुरु भए नभएको पुष्टि गर्ने बताइएको छ ।

सुरुवातमा कोरोना भाइरस चीनको हुवेई प्रान्तको वुहान सहरबाट बाहिरिएको बताइएको थियो । त्यहाँ रहेको वेट मार्केटबाट जनावरको माध्यमबाट मानिसमा सरेको बताइएको थियो, तर कुन जनावरबाट भन्ने स्पष्ट भइसकेको भने छैन । तर, विज्ञहरूले भने कोरोना भाइरस वुहानमा उत्पन्न नभई फैलिएको मात्र हुन सक्ने अनुमान गरेका छन् । 

सुरुमा मुसाबाट सरेको अनुमान गरिए पनि मानवमा सर्न सक्ने कोरोना भाइरस हालसम्म मुसामा भेटिएको पाइँदैन । डिसेम्बर महिनामा वुहान सेन्ट्रल हस्पिटलका एक चिकित्सकले भाइरसको उत्पत्तिबारे रिसर्च बाहिर ल्याउन चाहे पनि त्यहाँको प्रहरीले अनुसन्धानमा रोक लगाएको थियो ।

ली विनलिङ नाम गरेका ती चिकित्सकको फेब्रुअरी महिनामा बिरामी जाँच्ने क्रममा कोरोना संक्रमित भएर मृत्यु भएको थियो । यस्तै, अप्रिल महिनामा कोभिड भाइरस बजारबाट नभई वुहानको अस्पतालको ल्याबबाट फैलिएको शंका गरिएको थियो । त्यो समयमा अमेरिकी दूतावासका अधिकारीहरूले वुहानको जैविक सुरक्षाबारे चिन्ता व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले त्यो समयमा भाइरस मानव निर्मित वा जनावरबाट मानिसमा सरेको भन्ने विषयमा तत्काल अध्ययन गर्नुपर्ने बताएको थियो । तर, चीनका पत्रपत्रिकामा प्रकाशित रिपोर्टहरूले भने कोभिड भाइरस चीन बाहिरबाट फैलिएको दाबी गरेका थिए ।

 एजेन्सीको सहयोगमा