Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ५ आइतबार १८:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणाप्रति कांग्रेसको निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ५ आइतबार १८:२८:००

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा गरेकाेप्रति कांग्रेसले निन्दा गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठकले नेकपा नेतृत्वको सरकारको कदम घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्य भएको निष्कर्ष निकालेको छ । 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको छ ।’ 

विगतको निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको निष्कर्ष निकालिएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘कोभिड– १९ को माहामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै आफ्नो पद र शक्तिका लागि सत्ता–संघर्षमा केन्द्रित रह्यो,’ बैठकका निर्णय सार्वजनिक गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला घटनाक्रमले कम्युनिस्ट पार्टी र सरकार, देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रस्ट छ ।’ 

कांग्रेसले प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यताविपरीत कार्यहरूको शृंखलाको निरन्तरता भएको ठहर गरेको छ । 

‘नेपाल कम्युनिस्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनतासामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोऱ्याउन कांग्रेस तत्पर छ,’ कांग्रेसले भनेको छ ।