१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष ५ आइतबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाडोयाममा माउन्ट केटु आरोहण गर्दै नेपाली आरोही, रेकर्ड तोड्ने लक्ष्य

Read Time : > 3 मिनेट
२०७७ पौष ५ आइतबार १८:००:००

पाकिस्तानस्थित विश्वको दोस्रो उच्च शिखर माउन्ट केटु आरोहणका लागि नेपाली टोली इस्लामावाद पुगेको छ । हिउँदयाममा माउन्ट केटुको शिखरमा हालसम्म कुनै पर्वतारोही पुगेका छैनन् । हिउँदयामको त्यही रेकर्ड तोड्ने उद्देश्यले नेपाली टोली पाकिस्तान पुगेको हो ।

माउन्ट केटुको उचाइ आठ हजार ६ सय ११ मिटर छ । जानकारहरूका अनुसार यो हिमालको ६ हजार मिटर उचाइसम्म चट्टानी हिमाल छ भने त्यसपछि बाक्लो हिउँ छ । यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा अवस्थित छ ।

केटु आरोहणका लागि तीनजना शेर्पाको समूह गत साता नै इस्लामाबादबाट आधार शिविरतर्फ गइसकेको छ । यस्तै, सेभेन समिट ट्रेकिङका तर्फबाट २८ जना शेर्पाहरूको टोली इस्लामाबादबाट आधार शिविर जाने तयारीमा छ ।

सेभेन समिट ट्रेकिङसम्बद्ध टोलीमध्ये १० जना एक साताअघि र थप १८ जना शनिबार साँझ इस्लामाबाद पुगेका हुन् । टोलीमा विदेशी आरोही पनि थपिएपछि उनीहरू यही साता आधार शिविरतर्फ जानेछन् ।

यस वर्ष माउन्ट केटु आरोहणका लागि गएको नेपाली टोलीले खडा गरेको क्याम्प । तस्बिर : छाङ्दावा शेर्पा

‘हामी २१ डिसेम्बर अर्थात् सोमबार इस्लामाबादबाट आधार शिविरतर्फ जाँदै छौँ,’ आरोहण टोलीको नेतृत्व गरेका छाङदावा शेर्पाले इस्लामाबादबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने । १० जनाको टोली लिएर उनी एक साताअघि इस्लामाबाद पुगेका छन् । छाङदावाको नेतृत्वमा २८ नेपाली र २७ जना विदेशी गरी ५५ जनाको टोलीले केटु हिमाल आरोहण गर्दै छ । अमेरिका, बेलायत, नेदरल्यान्ड्स, बुल्गेरिया, स्पेन, स्विटजरल्यान्ड, फिनल्यान्ड र ग्रिसका आरोहीहरू पनि नेपाली टोलीसँगै आरोहणमा सहभागी हुनेछन् ।

यस वर्ष माउन्ट केटु आरोहणका लागि गएको नेपाली टोलीले खडा गरेको क्याम्प । तस्बिर : छाङ्दावा शेर्पा​​​​​​​
‘सात वर्षदेखि सेभेन समिट्सका तर्फबाट केटु हिमालमा आरोहण हुँदै आएको छ,’ सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईँले भने, ‘हिउँदयाममा भने पहिलोपटक हाम्रोतर्फबाट आरोहण हुन लागेको हो ।’ गत वर्ष पनि नेपाली शेर्पा टोली र विदेशी आरोहीले हिउँदमा केटु आरोहणको प्रयास गरेका थिए । तर, मौसम असहज बनेपछि उनीहरू करिब ६ हजार मिटरबाटै फर्केका थिए ।

‘यसपटक केटुको शिखरमा पुगिछाड्ने अठोट र विश्वासका साथ आएका छौँ,’ छाङदावाले भने, ‘हामीलाई आवश्यक खानादेखि अक्सिजन र कपडाको बन्दोबस्त भइसकेको छ र अधिकांश सामान आधार शिविर पु¥याइसकेका छौँ ।’

आठ हजार मिटरभन्दा माथिका सबै हिमालमा हिउँदमा आरोहण भइसकेको छ । तर, अत्यन्तै कठिन भूगोलका कारण हिउँदमा केटु आरोहणमा अहिलेसम्म सफलता हात लागेको छैन । ‘हामी दृढ अठोटसहित आगामी फेबु्रुअरी पहिलो सातासम्म आरोहणका लागि तयार भएर आएका छौँ,’ छाङदावाले भने, ‘यसको कीर्तिमानी नेपालीले तोड्नुपर्छ भनेर हामी कोसिसमा छौँ । हामी सफल भयौँ भने नेपालको नाम फेरि एकपटक विश्वमा चम्किने आशा छ ।’

यस वर्ष माउन्ट केटु आरोहणका लागि गएको नेपाली टोलीले खडा गरेको क्याम्प । तस्बिर : छाङ्दावा शेर्पा​​​​​​​

इस्लामाबादबाट जहाजमा पुग्न सकिने स्कार्दो भन्ने ठाउँ हुँदै केटुको आधार शिविर पुग्न आठ दिन लाग्छ । ‘स्कार्दोबाट उकालो लागेपछि बीचमा होटेलको सुविधा छैन, आरोही आफैँले टेन्टदेखि सबै बन्दोबस्त गर्नुपर्छ,’ छाङदावाले भने ।

हिउँदयाम नै केटु आरोहणको सबैभन्दा चुनौतीपूर्ण मौसम हो । ‘एकदमै चिसो ठाउँ, घाम कहिल्यै लाग्दैन, दिन एकदमै छोटो, रात लामो हुन्छ,’ छाङदावाले भने, ‘आधार शिविरकै तापक्रम हिउँदमा माइनस ४५ डिग्रीसम्म हुन्छ । आधार शिविर पुग्नै आठ दिन ग्लेसियरमाथि हिँड्नुपर्छ ।’

यस वर्ष माउन्ट केटु आरोहणका लागि गएको नेपाली टोलीले खडा गरेको क्याम्प । तस्बिर : छाङ्दावा शेर्पा​​​​​​​

सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ । ‘पाइला–पाइलामा हिमपहिरोमा परिने जोखिम हुन्छ । आँधीसरि हावा बहन्छ । दैनिक दुईदेखि तीन घन्टा मात्रै आरोहणका लागि सहज हुन्छ, बाँकी समय बाटोभरि हिमपहिरो, हिम आँधी आइरहन्छ,’ छाङदावाले भने । केटु हिमाललाई किलर माउन्टेन संज्ञा दिइएको छ । २४ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले भन्ने गरेका छन्, ‘केटु हिमाल आरोहण पृथ्वीकै सबैभन्दा कठिन तथा खतरनाक काम हो ।’

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म जम्मा तीन सय ६ जनाले माउन्ट केटुको सफल आरोहण गरेका छन् । आरोहण क्रममा ८४ जनाको मृत्यु भएको छ ।

माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको अर्को वर्ष इटालीका आरोही अकिले कोम्पानियोनी र लिनो लाछिडेल्लीले पहिलोपटक केटु आरोहण गरेका थिए ।

माउन्ट केटु आरोहणमा निस्केको नेपाली टोलीका सदस्यहरूले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटै शिखर आरोहण गरिसकेका छन् । सन् २०१२, २०१४, २०१८ र २०१९ मा छाङदावाकै नेतृत्वमा गृष्म ऋतुमा केटुको पनि सफल आरोहण भएको थियो । उनीसँगै आरोहीहरू पासाङ नोर्बु शेर्पा, सोना शेर्पा, जाङ्बु शेर्पा, ल्हाक्पा तेम्बा शेर्पालगायत छन् । ‘हामी उत्साहित छौँ,’ छाङदावाले भने ।

पाकिस्तानमा नेपाली टोलीको सामान लोड गरिएका सवारी साधन । तस्बिर : छाङ्दावा शेर्पा

उनका अनुसार ग्रिष्म वा शरद ऋतुमा भन्दा हिउँदयाममा खर्च पनि दोब्बर लाग्छ । ‘एकजनालाई खानपिन, लजिस्टिक, पाकिस्तान सरकारको रोेयल्टीसमेत गरेर करिब ३५ लाख रुपैयाँ लाग्छ,’ उनले भने, ‘सम्पूर्ण प्रबन्धसहित हामी आरोहणमा जाँदै छौँ ।’

केटु आरोहणका लागि इमाजिन नेपाल ट्रेकिङका तर्फबाट मिङ्मा ग्याल्जे शेर्पा, दावा तेन्जिङ शेर्पा र किली पेम्बा शेर्पा पनि पाकिस्तान पुगेका छन् । उनीहरू इस्लामाबादबाट आधार शिविरतर्फ लागेका छन् । सेभेन समिट्सको टिम र यो टिमबीच आधार शिविरमा भेट हुनेछ ।