१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष ५ आइतबार ०८:०३:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाल लिटरेचर  फेस्टिभल १४ र १५ पुसमा

Read Time : > 1 मिनेट
२०७७ पौष ५ आइतबार ०८:०३:००

भर्चुअल रूपमा गरिने दुईदिने फेस्टिभलमा विभिन्न १५ सेसन हुने

पोखरामा नवौँ संस्करणको ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल २०२०’ हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना र र्‍यान्डम रिडर्स सोसाइटीको सहआयोजना तथा आइएमई ग्रुपको मुख्य प्रायोजनमा फेस्टिभल हुन लागेको हो । पोखराको सराङकोटमा १४ र १५ पुसमा हुने दुईदिने फेस्टिभल भर्चुअल माध्यमबाट हुने निर्देशक अजित बरालले जानकारी दिए । सन् २०११ मा ललितपुरको झम्सिखेलस्थित ज्ञानमण्डलाको प्रांगणबाट सुरु फेस्टिभल २०१६ देखि पोखरामा आयोजना हुँदै आएको छ । यसअघिका चार संस्करण पोखराको लेकसाइडमा रहेको फेवाताल किनारमा हुँदै आएकोमा यस वर्ष आयोजनास्थल परिवर्तन गरिएको हो ।

फेस्टिभलमा उद्योगी, साहित्यकार, लेखक, पत्रकार, कलाकार, सेलेब्रिटी एवं विशिष्ट व्यक्तित्व गरी ४० जनाभन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ । साहित्य, कला, संस्कृतिलगायतका अन्य विषयका गरी १५ वटा सेसन हुने फेस्टिभलमा थप रोचक सामग्रीहरूसमेत समावेश हुने निर्देशक बरालले वताए । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं आयोजकको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ । कोभिड महामारीका कारण लामो समयसम्म फेस्टिभलको नवौँ संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको भन्दै बरालले भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि आफूहरू जुटेको बताए । 

सहआयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउन फेस्टिभल र आफूहरूको प्रयास रहेको दाबी गरे । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । नेपालकै सबैभन्दा ठूलो र एक मात्र फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट देशविदेशमा चिनाउनु रहेको भनाइ उनको छ । कार्यक्रमका हरेक सत्र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, सकेसम्म धेरै अन्तक्रिया गर्ने र नयाँ मुद्दाबारे विमर्श गर्ने किसिमले निर्माण गरिएको लामिछानेले बताए । 

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि समेत लिट्रेचर फेस्टिभलले टेवा पुर्‍याउने बताए । फेस्टिभलको पूर्वसन्ध्यामा १३ पुसमा शुभारम्भ साँझ गरिने भएको छ । १४ पुसमा साहित्यको अर्थ, कोरोनाकालीन उद्योग वाणिज्य, युवाको नजरमा नेपाल, पढ्ने हुटहुटी, कोरोनाले गलाएको जनस्वास्थ्य, के सम्पदा के बसोवास र कर्मठ केटीहरू विषयमा गरी सातवटा सेसन हुनेछ । यसैगरी, १५ पुसमा क्वेयर हुनुको अर्थ, अद्भूत व्यक्तित्व, असाधारण लेखन, तीन आख्यान, कोरोनापछिको सिनेमा, संघीयतामा अवसरहरू, महारानीको राजनीति, जलवायु परिवर्तन र हाम्रो भविष्य, प्रदेशबाट देखिने देश गरी आठवटा सेसन हुनेछन् ।