१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ पौष ५ आइतबार १०:३०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्रीरामले भुक्तानी थाल्यो, लुम्बिनीले  २ माघदेखि दिने, अन्नपूर्णका सञ्चालक बेपत्ता

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ पौष ५ आइतबार १०:३०:००

उखु किसानले चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता असुलीका लागि थालेको आन्दोलन एक साता पूरा भएको छ । किसानको बक्यौता असुली गर्न यसबीचमा सरकारले समेत प्रक्रिया अघि बढाएको छ । पटक–पटक ताकेता गर्दा पनि किसान सिंहदरबार नआएपछि शुक्रबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले माइतीघर सडकमै पुगेर किसानलाई भेट गरेका थिए । भेटमा मन्त्री भट्टले बक्यौता असुलीको प्रक्रिया सुरु भएकाले आन्दोलन फिर्ता गर्न अनुरोध गरे पनि किसानहरूले सबै रकम बैंक खातामा नआएसम्म आन्दोलन नरोकिने बताएका थिए ।

किसानहरूले आन्दोलन गरेपछि गृह मन्त्रालयको निर्देशनमा सर्लाही, रौतहट र नवलपरासीका जिल्ला प्रशासन कार्यालयहरूले चार उद्योगीलाई पक्राउ पुर्जी जारी गरेको छ । सर्लाहीको अन्नपूर्ण र नवलपरासीको इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल तथा नवलपरासीको लुम्बिनी चिनी मिलका सञ्चालक सुशीला गोयलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल र हितेश गोल्छालाई खोजी कार्य सुरु गर्नुअघि मिल व्यवस्थापनले रकम तिर्ने प्रतिबद्धता गरिसकेका छन् । 

किसानहरूले ६ वटा मिलबाट ८९ करोड ४० लाख रुपैयाँ बक्यौता पाउनुपर्ने दाबी गरेका छन् । उनीहरूका अनुसार नवलपरासीको लुम्बिनी चिनी मिलबाट १० करोड, इन्दिरा सुगर मिलबाट ८ करोड र बागमती खाँडसरी चिनी मिलबाट ४० लाख बक्यौता छ । त्यस्तै, सर्लाहीको अन्नपूर्णबाट ३० करोड र महालक्ष्मी सुगर मिलबाट ६ करोड तथा रौतहटको श्रीराम सुगर मिलबाट ३५ करोड लिन बाँकी रहेको किसानहरूको भनाइ छ ।

तर, सरकारले भने श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा गरी चार मिलबाट ६६ करोड मात्रै बक्यौता रहेको तथ्यांक राखेको छ । सोहीअनुुसारको बक्यौता असुल गर्न जिल्ला प्रशासन कार्यालयहरू सक्रिय भएका हुन् । यसैबीच बिहीबार बसेको संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले सात दिनभित्र उखु किसानको सबै रकम भुक्तानी दिन निर्देशन दिएको थियो । 

लुम्बिनी चिनी मिलका सञ्चालक सुशीला गोयलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मिलको व्यवस्थापन पक्ष जिल्ला प्रशासन कार्यालय, नवलपरासीको सम्पर्कमा आएका छन् । उनीहरूले २ माघदेखि बक्यौता भुक्तानी थाल्ने बताएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । ‘उनीहरूले २ माघदेखि बक्यौता भुक्तानी सुरु गर्ने सूचना जारी गरेको हामीलाई जानकारी दिएका छन्,’ प्रजिअ पाठकले भने, ‘तर, यसको अर्थ छैन । किनभने, काठमाडौंको चिसोमा किसानहरू निरन्तर आन्दोलनरत छन् । यस्तो अवस्थामा एक महिनापछि भुक्तानी सुरु गर्ने कुरामा सहमत हुन सकिँदैन ।’

उनले काठमाडौं प्रहरीलाई पत्राचार गरी गोयललाई खोजी कार्य जारी राखेको र अहिलेसम्म नभेटेको जानकारी दिए । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल भने फरार छन् । उनलाई खोज्न सर्लाहीबाट प्रहरीको विशेष टोलीसमेत काठमाडौं आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘अन्नपूर्णका सञ्चालकलाई खोज्न काठमाडौं प्रहरी लागिपरेको छ । सर्लाहीबाटै पनि प्रहरी पठाएका छौँ, तर अहिलेसम्म भेटाएका छैनौँ,’ उनले भने, ‘देशभर जहाँ भेटिन्छ, त्यहीँबाट पक्राउ गरी सर्लाहीमा ल्याउन सबैतिर पत्राचारसमेत भएको छ ।’

उखु किसानको आन्दोलनमा विभिन्न व्यक्ति, समूह, संस्था र राजनीतिक दलले समर्थन जनाउन थालेका छन् । शुक्रबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माइतीघर मण्डलामै पुगेर समर्थन जनाएका छन् । उनले त्यहाँ छोटो धारणा राख्दै किसानको रकम चाँडो भुक्तानी दिलाउन सरकारलाई आग्रह गरेका थिए । त्यस्तै, शनिबार राष्ट्रिय किसान आयोग, १०० र एमआरआर समूहले पनि ऐक्यबद्धता जनाएका थिए । त्यस्तै, प्रदेश–२ को संसदीय मामिला समितिका सभापति अशोक यादवसमेत काठमाडौं आएर आन्दोलनमा सहभागिता जनाएका छन् । यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, लोकगायक बद्री पंगेनीलगायत आन्दोलनस्थलमा पुगेर किसानलाई हौसला प्रदान गरेका थिए । सबै पक्षको आन्दोलनमा समर्थन देखेर उत्साहित भएको उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।

रौतहटको श्रीराम सुगर मिलले शुक्रबारबाट भुक्तानी थालेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार १६ करोड ४४ लाख ७० हजार ७ रुपैयाँ विभिन्न किसानका खातामा जम्मा भइसकेको छ । ‘उद्योगले यहाँको राष्ट्रिय वाणिज्य बैंक र सेन्चुरी बैंकबाट किसानको खातामा पैसा हालिरहेको छ । दुवै बैंकका प्रबन्धकसँग मैले कुरा गरिरहेको छु । किसानको खाता विवरण लिने र पैसा हाल्ने कुरामा उद्योगी क्रियाशील भइरहेको बुझेको छु,’ उनले भने ।

उद्योगले किसानलाई भुक्तानी गर्न दुवै बैंकमा खोलेको खातामा ५० करोड रुपैयाँ जम्मा गर्नका लागि चेक डिपोजिट गरेको छ । उक्त रकमबाट अभिलेखमा भएका सबै किसानलाई क्रमशः रकम भुक्तानी गर्दै जाने उद्योगले प्रतिबद्धता जनाएको प्रजिअ यादवले बताए । ‘अभिलेखबाट जति रकम तिर्नुपर्ने हो, सबै तिर्छु भनेर उद्योग व्यवस्थापनले भनिसकेको अवस्था छ, किसानहरू पनि पैसा पाउने भइयो भनेर निर्धक्क छन्,’ उनले भने ।

सरकारलाई घुँडा टेकाएर भए पनि पैसा उठाउँछौँ : उखु किसान

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले सरकारले जुनसुकै हालतमा भुक्तानी दिलाइदिनुपर्ने बताए । ‘दुनियाँका जति पनि शक्तिशाली सरकार भए, ती सबैले किसानका अगाडि घुँडा टेकेकै छन् । यो सरकारलाई पनि घुँडा टेकाएर भए पनि आफ्नो भुक्तानी लिएर जान्छौँ,’ मिश्रले भने, ‘मिलमा गएर पैसा माग्दा किसानलाई धम्क्याउने, हेप्ने, नानाथरी गाली गरेर पैसा दिएनन् । काठमाडौं आएर मन्त्रीहरूलाई भन्दा पनि समस्या समाधान भएन । त्यसपछि आन्दोलन थालेका हौँ ।’ उखु क्रसिङ गरेर सात दिनभित्र चिनी बेचेर मिलले पैसा पाइसक्ने भए पनि किसानले १५ दिनसम्ममा भुक्तानी दिने सुविधा दिएको, तर मिलले झुलाएर राख्दा ठूलो रकम बक्यौता उठ्न बाँकी रहेको उनले बताए ।