मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ३ शुक्रबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजसंस्थाको पक्षमा राप्रपाद्वारा ललितपुरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ३ शुक्रबार १८:४५:००

राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापनाका लागि संघर्षको घोषणा गरेको राप्रपाले ललितपुरमा शुक्रबार प्रदर्शन गरेको छ । कुपन्डोलबाट सुरु भएको मोटरसाइकल र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो ।

महँगी, बेरोजगारी समस्या, भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, संगठित र योजनाबद्ध धर्म परिवर्तन रोक्न सरकारी  उदासीनताको विरोधमा र हिन्दूराष्ट्र, राजसंस्थाको पक्षमा राप्रपाले प्रदर्शन गरेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिका सदस्य श्याम तिमल्सिनाले बताए । 

राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका क्रममा जनता आऊँ, राजा ल्याऊँ, देश बचाऔँ, सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरौँ, धर्म संस्कृति मास्न पाइँदैन, जनताको परिवर्तनको चाहनालाई स्वीकार गर, देशको सीमाको रक्षा गर, भ्रष्टाचारीलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँजस्ता नारा लगाउँदै राप्रपा नेता तथा कार्यकर्ताले सहर परिक्रमा गरेका थिए । 

लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा नेताहरूले जनताको स्वस्फुर्त प्रदर्शनलाई लाञ्छना लगाउने, कमजोर साबित गर्न खोज्ने तत्वलाई जनताले पराजित गरिछाड्ने बताए । 

नेता तिमल्सिनाले नेपाल यतिखेर परिवर्तनको संघारमा रहेको, जनतामा परिवर्तनको तीव्र चाहना देखिएको र राप्रपा जनआवाजलाई संश्लेषण गरेर अघि बढिरहेको बताए । 

नेता रोशन कार्कीले संगठित र योजनाबद्ध धर्म परिवर्तनले नेपालको पहिचान र राष्ट्रियता संकटमा पर्दै गएको र यो धर्मनिरपेक्षताकै दुष्परिणाम भएकाले नेपाली जनता जागरुक भई कोर्स करेक्सनको दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् । 

अर्का केन्द्रीय सदस्य निरञ्जनविक्रम थापाले राजसंस्थाको पक्षमा हाल देशभर भइरहेको प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता देखिनु सकारात्मक भएको र युवाको स्वस्फुर्त आवाजलाई बेलैमा सम्बोधन गर्न आग्रह गरे ।