मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १ बुधबार १८:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १ बुधबार १८:२२:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले अधिवेशन अविलम्ब बोलाउन माग गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले गरेका निर्णय यस्ता छन् ।
 

१) संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेकोे ठहर बैठकले गरेको छ । संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ । संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।

२) संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ ।

३) संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको छ ।

४) मंसिर २९ को देशव्यापी प्रदर्शनले कम्युनिस्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोभिडविरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित सहभागी सबैमा बधाई ज्ञापन गरेको छ । प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारणमार्फत योगदान पुऱ्याउनु हुने देशभरिका सञ्चारमाध्यमलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक सञ्जालमार्फत महत्वपूर्ण योगदान पुऱ्याउने विशेषतः युवापंक्तिलाई बधाई र सम्मान बैठकले व्यक्त गरेको छ ।

५) उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकारसमक्ष जोडदार माग गरेको छ ।