मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १४:२१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्रीले शिलान्यास गरेको राँके–रवि–भेडेटार सडक ठेक्का तोडेर भए पनि अघि बढाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १४:२१:००

पाँचथरको राँकेदेखि रवि हुँदै धनकुटाको भेडेटार जोडिने सडक कालोपत्रे गर्ने योजना वर्षौँदेखि अलपत्र रहेको छ । 
सडक नबन्दा यात्रु हिउँदमा धुलो र वर्षामा हिलो व्यहोर्न बाध्य छन् ।

सडकको ट्रयाक ओपन भएको दुई दशकपछि कालोपत्रेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ साल पुसमा शिलान्यास गरेका थिए । 

तर, अहिलेसम्म पनि ठेकेदारले काम अघि बढाएको छैन । अहिलेसम्म सडक निर्माणको प्रगति बल्ल १२ प्रतिशत मात्रै छ । 

दोस्राेपटक स्थलगत रूपमा अवलोकन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्थानीयवासीसँगको छलफलमा ठेक्का तोडेर भए पनि सडक कालोपत्रे गराउने वचन दिएका छन् । 

धनकुटाको ६ नं. बुधबारेमा भएको स्थानीयवासी र जनप्रतिनिधिसँगको छलफलमा मन्त्री नेम्वाङले सडकका विषयमा परराष्ट्रमार्फत भारत सरकारसँग कुरा भइसकेको र अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने भन्ने विकल्पका विषयमा छिट्टै टुंगो लाग्ने बताए । 

‘सडक निर्माण कार्यलाई गति दिने गरी मन्त्रालयले तत्कालै निर्णय लिन्छ, सडकको काम यही अवस्थामा रहनुहुँदैन,’ उनले भने । 

भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको सडकको ठेक्का पनि भारतीय कम्पनीकै हातमा छ ।

ठेकेदार एफको इन्फ्राको प्रालिले तीन करोड २६ लाख १८ हजार पाँच सय ४१ अमेरिकी डलरमा कालोपत्रेका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक निर्माणको प्रगति अहिलेसम्म ४० प्रतिशतभन्दा बढी भइसक्नुपर्ने हो । तर, बल्ल १२ प्रतिशत मात्रै काम भएको छ । 

सडकले धनकुटाका भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मढेवास, सौरेबजार, ६ नम्बर बुधबारे क्षेत्रलाई समेट्छ । 

यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुबिर्से पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत ग्रामीण बजारमा पुग्छ । 

इलामको फुयतप्पा, चमैता, एकतप्पालगायत क्षेत्र हुँदै सडक राँके बजार जोडिन्छ । 

राँके–भेडेटार बाटोलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक छन् । सडक बनेपछि यहाँको कृषि उपजलाई बजारसम्म पुऱ्याउन सहज हुने स्थानीय बताउँछन् । 

यो सडकले गाउँलाई सहरसँग मात्रै हाेइन, मेची र कोसी राजमार्गलाई पनि जोड्ने काम गर्छ । 

सडक निर्माणका विषयमा भएको छलफलमा धनकुटा, इलाम र पाँचथरका स्थानीय तहका प्रमुखहरूले मन्त्री नेम्वाङलाई यथाशीघ्र सडक निर्माण पूरा गरिदिन आग्रह गरे । 

कार्यक्रममा धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईलगायत सहभागी थिए ।