१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ३० मंगलबार ०८:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुरेक्षेत्रमा हात्ती आतंक, एकैदिन दुईको ज्यान गयो

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ३० मंगलबार ०८:५२:००

मंसिरको दोस्रो सातादेखि मानव बस्तीनजिकै पर्ने चुरेजंगलबाट गाउँ पसेका हात्तीका कारण स्थानीय आतंकित हुन थालेका छन् । बस्ती प्रवेश गरेका पाँचवटा जंगली हात्तीको समूहले सुरुंगाको श्रीपुर, खोरिया टोल, लक्ष्मीपुर, दौलतपुर, कडहर्वा, चहका, विषनरियालगायतका गाउँमा आतंक मच्चाइरहेको छ । 

हात्तीकै कारण आइतबार दुईजनाको ज्यान गएको छ भने हात्तीको समूहले थुप्रैका घर भत्काइदिएको छ । घर भत्काइदिने, अन्नपात खाइदिने गर्न थालेपछि स्थानीय आतंकित बनेका छन् । गत शुक्रबार राति नौ बजेतिर सुरुंगा–१ चहका गाउँमा मुसहर बस्तीको १८ घर भत्काउनुका साथै अन्नपात खाइदिएको थियो । सिराहा सप्तरीको उत्तरी क्षेत्रमा प्रायः हरेक हिउँदमा पूर्वी भेगबाट चुरे जंगल हुँदै आउने जंगली हात्तीको समूहले स्थानीयलाई आतंकित पार्ने गरेको छ । 

दैनिकरूपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायतका जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको सप्तरी कञ्चनरूप नगरपालिका–२ का राजकुमार साहले बताए । स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जंगली जनावरको आतंकबाट आफूहरू प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।

सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष झाले हात्तीको आक्रमणबाट जोगिन सजग रहनुको विकल्प नरहेको बताए । ‘संरक्षित जनावर हो, केही गर्न मिल्दैन, यद्यपि मानवीय क्षति हुन नदिन स्थानीय प्रशासन, वन र प्रहरीको टोलीले प्रभावित बस्तीहरूमा पुगेर सजग गराइरहेका छौँ,’ वन अधिकृत झाले भने ।

हात्तीले लखेट्दा लडेर मृत्यु
जंगली हात्तीले लखेट्दा लडेर सोमबार बिहान सुरुंगा नगरपालिका–३ दौलतपुरका ७० वर्षीय सीताराम साहको मृत्यु भएको छ । शौच गर्न गएका वेला दुईवटा हात्तीले लखेटेपछि भाग्ने क्रममा उनी घाइते भएका थिए । लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थाहा पाएलगत्तै घरका अन्य सदस्यले उनलाई लहानस्थित सप्तऋषि अस्पताल पुर्‍याएका थिए । तर, उपचारको क्रममा साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सागिर राइनले बताए । साहको शव पोष्टमार्टमका लागि लहानको रामकुमार उमाप्रसमाद स्मारक अस्पतालमा राखिएको छ ।

आक्रमणबाट एकको मृत्यु

धरान/सुनसरीको कोशी गाउँपालिकामा सोमबार हात्ती आक्रमणबाट एकजनाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट कोशी गाउँपालिका ६ श्रीपुरका २८ वर्र्षीय प्रमोद यादवको ज्यान गएको हो । ६ नम्बर वडाका अध्यक्ष इन्द्रदेव यादवका अनुसार खेतमा काम गरिरहेका वेला यादवमाथि हात्तीले आक्रमण गरेको थियो । 

आइतबार राति आरक्षबाट निस्किएको हात्तीले सोमबार बिहान आरक्ष फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्युभएको कोशी टप्पुवन्यजन्तु आरक्ष कार्यालयका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए  । घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान सुरु गरिएको छ । आइतबारदेखि त्यस क्षेत्रमा तीनवटा हात्ती प्रवेश गरेर आतंक मच्चाइरहेका छन् ।