१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २९ सोमबार १६:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन

सहमहामन्त्री भन्छन्- भ्रष्टाचारले सगरमाथा नाग्यो, संवैधानिक निकाय ओली सरकारको छाया

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २९ सोमबार १६:५७:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले सरकारविरुद्ध नारा लगाउँदै जिल्लामा बृहत् प्रदर्शन गरेको हो । विरोधसभालाई सम्बोधन गर्दै पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा भ्रष्टचारले सगरमाथा नाघेको दाबी गरे ।

सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको उनको दाबी छ । ‘यो सरकार काण्डै-काण्डमा फसेको छ । पहिला त गल्ती गर्दा कारबाही हुन्थ्यो । तर, अहिले त सरकारले नै संरक्षण दिन्छ,’ उनले भने । डा. महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई सरकारको लाचार छाया बनाएको आरोप लगाए । उनले कांग्रेसले यसअघिदेखि नै सरकारलाई लगाउँदै आएको आरोप नेकपाकै शीर्ष नेताले प्रमाणित गरिदिएको दाबी गरे ।

‘वाइडबडीको भ्रष्टाचार, ओम्नी काण्ड, प्रिन्टिङ प्रेसलगायत भ्रष्टाचारको विषयमा हामीले पटक-पटक कुरा उठायौँ । तर, कांग्रेस सत्तामा जान नपाएर आरोप लगायो भनियो,’ उनले भने, ‘अहिले त उनीहरूकै नेताले पनि प्रमाणित गरेका छन् । यसअघि पद पाइन्छ कि भनेर मौन बसेका प्रचण्ड-माधव (पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल) ओलीले नछाड्ने भएपछि लिखित रूपमै आरोपको पेटारी खाेल्न लागेका छन् ।’

उनले नेकपा नेतृत्वको सरकार र पार्टी जनताको पक्षमा नरहेको दाबी गरे । ‘महामारीले देश आक्रान्त छ । जनता उपचार नपाएर छटपटाइरहेका छन् । एक दिनमा एक लाखसम्म बुझाएर उपचार गराउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरकार केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम मात्र बनेको छ ।’

सहमहामन्त्री डा. महतले नेपाल शक्तिराष्ट्रको चलखेल गर्ने थलो भएको दाबी गरे । ‘केपी ओलीले देशलाई शक्ति केन्द्रको चलखेल गर्ने थलो बनाए । जनताको अगाडि राष्ट्रवादको कुरा गर्छन् । रातिराति गोप्य कोठामा सत्तासँग सम्झौता गर्दै मोलमोलाइ गर्छन्,’ उनले भने ।

सहमहामन्त्री डा. महतले राजावादी सडकमा आउँदैमा राजा नफर्कने दाबी गरे । उनले जनता सरकारसँग असन्तुष्ट भएर सडकमा आउने माध्यम मात्र खोजेकाे बताए । ‘जनताले सरकारसँगको असन्तुष्टि व्यक्त गर्ने माध्यम खोजिरहेका छन् । त्यही क्रममा जसले विरोध गर्‍यो त्यतै आए,’ उनले भने, ‘हामीले पनि संवैधानिक राजसंस्था मानेकै हौँ । उनी हामीप्रति खनिए । त्यही भएर समाप्त भए ।’

उनले कांग्रेसको समर्थन र नेतृत्वविना देशमा राजनीतिक परिवर्तन असम्भव रहेको दाबी गरे । ‘देशको हरेक राजनीतिक परिवर्तन कांग्रेसविना सम्भव भएको छैन । अझै पनि प्रणाली परिवर्तनका लागि कांग्रेसको नेतृत्व वा समर्थन चाहिन्छ,’ उनले भने, ‘कांग्रेस सकियो भनेर नसोचे हुन्छ । यसको चर बलियो छ, कसैले उखेलेर उखेलिँदैन । कांग्रेस दुबो हो । एकछिन ओइल्याएजस्तो हुन्छ । पछि फेरि मौलाउँछ ।’