मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर २९ सोमबार १५:१४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोभिडको उपचारमा अर्थाइटिसको औषधि पनि प्रभावकारी : अध्ययन

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २९ सोमबार १५:१४:००

कोभिडका बिरामीको उपचारमा रेम्डेसिभिर औषधिजस्तै अर्थाइटिस (जोर्नी सुन्निने, दुख्ने)को उपचारमा प्रयोग गरिने ‘ब्यारिसिटनिब’ नामक औषधि पनि प्रभावकारी हुने अध्ययनले देखाएको छ । विशेषगरी संक्रमणका कारण जटिल स्वास्थ्य अवस्था भएका व्यक्तिलाई यो औषधिको प्रयोगले केही दिन चाँडै नै संक्रमणमुक्त पारेको अध्ययनले देखाएको छ ।

कोभिड नियन्त्रणका लागि फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन अवस्थाका लागि रेम्डेसिभिर प्रयोगमा ल्याउन अनुमति दिएको थियो । औषधिको प्रभावकारिता निकै कम देखिएपछि केही साताअघि विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिर प्रयोग नगर्न निर्देशन जारी गरेको थियो । योसँगै औषधिको प्रभावकारिताबारे आवश्यक तथ्यांक नभएकाले प्रयोगमा ल्याउन कठिनाइ भएको विज्ञहरूले बताएका थिए । तर, तीन साताको क्लिनिकल ट्रायलपछि रेम्डेसिभिरसँगै ‘ब्यारिसिटनिब’को प्रयोग प्रभावकारी हुने एफडिएले जनाएको छ । 

कोभिड उपचारमा ‘ब्यारिसिटनिब’को प्रभावकारिताबारे सीमित अध्ययन भएका छन् । सामान्यतया ब्यारिसिटनिब र रेम्डेसिभिरको प्रयोग गरिएका अस्पतालहरूमा रेम्डेसिभिरको तुलनामा बिरामीहरू औसत एक दिन अगाडि नै निको भएको पाइएको थियो । तर, ब्यारिसिटनिबको प्रयोग निकै महँगो पर्ने भएकाले यसबारे प्रश्न उठिरहेको छ । सँगै ब्यारिसिटनिबको प्रयोगले अधिकांशमा रगतमा समस्या देखिने (साइडइफेक्ट) पनि हुँदा कोभिड संक्रमितमा ब्यारिसिटनिबको प्रयोगबारे शंका उत्पन्न गराएको छ । योसँगै ब्यारिसिटनिबको प्रयोगबारे चिकित्सकहरू पनि अन्योलमा छन् । ब्यारिसिटनिब औषधि महँगो र सर्वसुलभ नभएकाले समेत प्रयोगमा सहज नहुने धारणा विज्ञहरूको छ । चिकित्सकहरूले यसको सट्टामा सस्तो र सर्वसुलभ रहेको ‘डेक्सामेथासोन’ नामक स्टेरोइड प्रयोगमा ल्याउन सहज हुने बताएका छन् । खासगरी संक्रमणका कारण सुन्निने समस्यामा ‘ब्यारिसिटनिब’ र ‘डेक्सामेथासोन’ दुवै औषधिले उस्तै प्रभाव देखाउँछन् । 

दि न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनअनुसार ब्यारिसिटनिब औषधि उपचारमा थप्दा गम्भीर बिरामीका लागि फाइदाजनक देखिएको छ । औषधिको प्रभावकारिताबारे रेम्डेसिभिर प्रयोगमा ल्याइरहेका एक हजारभन्दा बढी अस्पतालमा क्लिनिकल ट्रायल गरिएको थियो । गम्भीर बिरामी अर्थात् सप्लिमेन्टल अक्सिजन र ननइन्भ्यासिभ भेन्टिलेटरको आवश्यकता भएका बिरामीमा ब्यारिसिटनिबको प्रयोग गरिएको थियो । उक्त अध्ययनमा बिरामीहरूमा सामान्य समयभन्दा आठ दिनअघि स्वास्थ्यमा सुधार आएको पाइएको उल्लेख छ । यो तथ्यांक हेर्दा यो औषधि बिरामीका लागी प्रभावकारी देखिएको र भेन्टिलेटर अवधि र अस्पताल बसाइ कम गर्न सकिने विज्ञहरूले बताएका छन् । तर, अधिकांश विज्ञहरूले भने कोभिडका बिरामीमा प्र्रयोग गरिने औषधिमा कम्तीमा दुई वा तीन ट्रायल परीक्षण आवश्यक रहेको बताउँदै आएका छन् । 
–एजेन्सीको सहयोगमा