१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २९ सोमबार ०६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेकपा स्थायी कमिटी बैठकमा ओली पनि सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २९ सोमबार ०६:४५:००

नेकपाको आइतबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव फिर्ता नभएसम्म छलफल अघि नबढ्ने अडान राख्दै २१ मंसिरमा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अनुपस्थित प्रधानमन्त्री ओली आइतबारको बैठकमा भने सहभागी भएका हुन् । 

निर्धारित समयमै सहभागी भएर अध्यक्षता गरेका ओली करिब बीस मिनेट चलेको बैठक अवधिभर मौन बसेका थिए । बैठकका लागि पार्टीभित्र देखापरेको संकट र समाधानका एजेन्डा तय भए पनि त्यसमाथि कुनै छलफल भएन । ओलीले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका थिए । 

पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै १ पुसमा बालुवाटारमा अर्को बैठक बस्ने गरी आजको बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकलाई संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाइड्रोपावरको लगानीबारे दुई पक्षबीचको विवादमा पार्टी प्रवक्ता श्रेष्ठको नाम जोडेर भ्रमपूर्ण प्रचारबाजी गर्ने काम गलत भएको बताएका थिए । ‘कमानजी र एउटा हाइड्रोपावरको विवाद सुशनजीसँगसमेत जोडेर आएको छ । तर, सिनियर नेता भन्नेहरूले नै यथार्थ नबुझी टिप्पणी गर्ने कुरा उचित छैन, दुवै पक्षसँग मैले पनि कुरा गरेको छु ।

उहाँले दुवैजना निकट भएको आधारमा तपाईंहरू मिल्नुस् है भन्नेबाहेक केही पनि कुरा गर्नुभएको छैन । त्यसैले अनावश्यक रूपमा भ्रम सिर्जना गर्ने गरी प्रचार गर्नु उचित छैन,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने । उनले विवादसँग जोडिएका सुशन कर्माचार्यले पनि प्रधानमन्त्रीलाई भेटेर वास्तविक कुरा जानकारी गराउन लागेकोसमेत बताएका थिए । 

त्यस्तै, उनले पार्टी महासचिवमार्फत आएको प्रस्ताव र प्रधानमन्त्री ओलीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरेर अर्को बैठक १ पुसमा बस्नेसमेत जानकारी गराएका थिए । ‘पार्टीभित्र समस्या छ, समाधानका सन्दर्भमा तय भएको एजेन्डामा आजैको बैठकमा छलफल गरौँ भन्ने थियो, तर प्रधानमन्त्रीले महासचिवमार्फत एक–दुई दिन बैठक रोकौँ भन्ने प्रस्ताव गरेपछि पार्टीका केन्द्रीय सदस्य कमानजीको निधनमा शोक प्रस्ताव पारित गरेर १ गते बालुवाटारमै बस्ने गरी बैठक रोकौँ,’ बैठकमा प्रचण्डको प्रस्ताव उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने । 

प्रधानमन्त्रीका चिकित्सकहरूले स्वास्थ्यका कारण धुम्बाराहीभन्दा बालुवाटार नै सुरक्षित हुने सुझाब दिएका कारण त्यसअनुसार अर्को बैठक बस्नेसमेत प्रचण्डले बैठकलाई जानकारी गराएका थिए ।