मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर २८ आइतबार २०:१३:००
Read Time : > 6 मिनेट
फिचर

मिसन ओसामाबारे अमेरिकी पूर्वराष्ट्रपति ओबामा लेख्छन्– पाकिस्तानले थाहा पाएको भए ओसामा उम्कन सक्थे

Read Time : > 6 मिनेट
एजेन्सी
२०७७ मङ्सिर २८ आइतबार २०:१३:००

मे २००९ । ह्वाइटहाउसमा सिचुएसन रुममा एउटा बैठक समाप्त भयो । राष्ट्रपति बाराक ओबामा सल्लाहकारका साथ तत्कालै अर्को कोठामा गए । भित्रबाट त्यो गोप्य कोठा लक गरियो । ह्वाइटहाउसका चिफ अफ स्टाफ राहम इम्यानुएल, सिआइएका निर्देशक लियोन पेनेटा तथा उपराष्ट्रिय सुरक्षाका सल्लाहकार टोम ड्यानिसल थिए । यो पूरै टोली एक विशेष योजनामा केन्द्रित थियो । 

राष्ट्रपति ओबामा पहिलादेखि नै ओसामा बिन लादेनको खोजीमा थिए । अल काइदाका नाइके ओसामा उनै व्यक्ति हुन्, जसको योजनामा ११ सेप्टेम्बर २००१ मा न्युयोर्कस्थित ट्विनटावर ध्वस्त भएको थियो । यो आक्रमणमा पाँच हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । 

११ सेप्टेम्बरमा अमेरिकामा हवाई आक्रमण गरी ओसामाले मानवताकै क्रूरता प्रदर्शन गरेका थिए । यसपछि अमेरिकाले ओसामालाई रेडकर्नर नोटिसको एक नम्बरमा राख्यो र उसको खोजीलाई तीव्रता दिएको थियो । ह्वाइटहाउसले पूरै १० वर्ष गोप्य रूपमा ओसामाको खोजी गरेको थियो । ह्वाइटहाउसको त्यो गोप्य रुममा राष्ट्रपति ओबामाले आफ्ना समकक्षीलाई ओसामाको अन्तिम अवस्था र रिपोर्ट एक महिनाभित्र बुझाउन निर्देशन दिए । 

विश्वकै कुख्यात आतंककारीको आतंक समाप्त पार्न विशेषतः योजनासहित अगाडि बढेका ओबामाले आफ्नो बायोग्राफी ‘अ प्रोमिस ल्यान्ड’मा उल्लेख गरेका छन् । ‘९/११ को अघिल्लो दिन मेरो कक्षमा सिइआएका निर्देशक लियोन पेनेटा र उपनिर्देशक माइकल मारेल आएका थिए, दुवैले ओसामाको पछिल्लो अपडेटबारे जानकारी दिए, अमेरिका ओसामानजिक पुगेको थाहा पायो,’ ओबामाले भने । अबु अहमद अल कुबेतीकै भरमा लादेन पत्ता लागेको ओबामाले बायोग्राफीमा लेखेका छन् । ‘हामीहरूको जासुसले अहमद अल कुबेती नामको एक व्यक्ति भेट्टायो । उनी लादेनका सन्देशबाहक थिए । ओसामा र कुबेतीबीचको सम्बन्ध नजिक थियो ।’ उनले लेखेका छन्, ‘चिट्ठी–पत्र आदानप्रदान, कुबेतीसँगको कुराकानीबाट ओसामा कहाँ बसेका छन् भन्ने थाहा पायौ ।’ 

‘यी दुवैबीचको कुराकानीले नै ओसामा बसेको दूरी तथा स्थान पत्ता लगायौँ, इस्लामाबादबाट ३५ किलोमिटर टाढा रहेको सहरमा ओसामा रहेको निश्चित भयो,’ उनले लेखेका छन्, ‘त्यो घरमा ओसामाजस्तै हुलिया भएको थियो, जो लामो समयदेखि त्यहीँ बसेको थियो ।’ 

ओसामा बसेको घरमा फोन थिएन

दुई महिनापछि ओबामाले लियोन र माइकलाई भेटे । यो १४ डिसेम्बर २००९ थियो । त्यसपछि ओबामासँग भेट्न लियोनसँगै सिआइएका एक अफिसर तथा विश्लेषक आए । यी दुवै व्यक्ति ओसामा मिसनका प्रमुख हस्ती थिए । दुवैले ओसामासम्बन्धी रिपोर्ट राष्ट्रपतिसमक्ष बुझाउँथे । ओबामा भन्छन्, ‘सेप्टेम्बरपछि डिसेम्बरमा अर्को योजना तयार भयो, यसमा दुई विशिष्ट व्यक्ति पनि समावेश थिए, उनीहरू मिसन ओबामामा काम गरिरहेका थिए, यी दुवैले यति गोप्य सूचना प्राप्त गर्न सफल भए कि जसको माध्यमबाट हामी पाकिस्तानको एवाटावादसम्म पुग्न सफल भयौँ ।’ 

ओबामाले झैँ सिआइएका पूर्वनिर्देशक लियोन पेनेटाले पनि आफ्नो आत्मकथा ‘सेक्युरिटी फाइट्स’मा यसबारे उल्लेख गरेका छन् । लियोन लेख्छन्, ‘ओसामा बसेको घर त्यो क्षेत्रकै सबैभन्दा ठूलो भवन थियो, त्यहाँ माइकल इब्राहिम तथा उनका भाइ थिए, मालिक भएर पनि इब्राहिम मुख्य घरमा बस्दैन थिए, उनी अर्को घरको भुइँ तलामा बस्थे, जुन एक किसिमको गेस्टहाउसजस्तै थियो ।’ 

ओसामा लुकेको घरमा सूचना आदानप्रदानको कुनै प्रविधि थिएन । त्यहाँ इन्टरनेट, टेलिफोन तथा टिभी नभएको सिआइएका पूर्वनिर्देशक लियोनले आत्मकथामा भनेका छन् । ‘तीन तलाको सेतो भवनमा इन्टरनेट, ल्यान्डलाइन तथा अन्य सुविधा थिएन, बाल्कोनीनजिक रहेको कोठालाई पर्खालले घेराबन्दी गरिएको थियो,’ लियोनले सुरक्षा फाइट्समा भनेका छन्, ‘त्यस घरबाट एक व्यक्ति सधैँ बाहिर आउँथे, छिटो–छिटो घरभित्रै जान्थे, हामीहरूले उसलाई ‘द प्रेसर’ नाम राखेका थियौँ ।’

ती व्यक्ति अग्ला थिए । सेतो दाह्री पालेका व्यक्तिले नै घरका सबै काम गर्ने गरेको लियोनले बताएका छन् । भन्छन्, ‘हाम्रो गुप्तचरले व्यक्तिलाई सामान्य रूपमै पछ्याएको थियो, नजिक कहिले गएनाँै, तर प्रत्येक गतिविधि रेकर्ड ग¥यौँ ।’ ओसामाका पछिल्लो भिडियोको गतिविधिअनुसार ती सेतो दाह्री भएका व्यक्तिमाथि शंका लागेको लियोनले जनाए । उनी भन्छन्, ‘हामीलाई पहिलो शंका थियो, ओसामा पाकिस्तान वा अफगानिस्तानमा लुकेका होलान् भनी । नौ वर्षमा ओसामाका पुरानो भिडियो हे¥यौँ, ती व्यक्तिको बडिल्यांग्वेज ठ्याक्कै मिल्थ्यो, सिआइएका जासुस युनिटले उसलाई ‘द पे्रसर’ नाम दिएको थियो । सम्भवतः त्यो घरमा त्यति सुविधा थिएन होला, अक्सर ओसामा बाहिर आउँदा काठ लिएर भित्र जान्थे ।’

एवाटावाद नै ध्वस्त पार्ने योजना
त्यसवेला पाकिस्तान र अफगानिस्तानले अमेरिकाको योजनामा सहयोग गरिरहेका थिए । पाकिस्तान सरकार अमेरिकी सैनिक तथा ह्वाइटहाउसलाई सहयोग गरिरहे पनि उनीहरूको सैनिक र गुप्तचर विभाग अल काइदालाई सहयोग गरिरहेका थिए । यी दुवै संस्था भित्री रूपमा तालिवान तथा अल कायदासँगै मिलेका थिए । आतंकवादलाई प्रश्रय दिनुपर्ने धारणा पाकिस्तानी गुुप्तचर र सैनिकको रहेको राष्ट्रपति ओबामाले आफ्ना बायोग्राफीमा उल्लेख गरेका छन् । 

फेरि ओसामा बसेको स्थान र पाकिस्तानको मुख्य सैनिक एकेडेमी धेरै नजिक थियो । सैनिक एकेडेमी नजिक भएकाले पनि ओसामाले आफूमाथि आक्रमण हुन सक्ने कल्पना नै गरेका थिएनन् । पूरै क्षेत्र उडाउने कि घरमा मात्र आक्रामण गर्ने भनी ह्वाइटहाउसमा बृहत् छलफल चल्यो । फेरि अर्को देशमा सीधै आक्रमण गर्ने स्वीकृति लिनुपर्ने वा नपर्ने भन्ने प्रश्न थियो । पाकिस्तान सरकारलाई मिसनबारे जानकारी दिँदा ओसामा उम्कन सक्ने अनुमान राष्ट्रपति ओबामाले गरेका थिए ।

ओबामा यसलाई ‘अति नै गोप्य’ बनाउँदै ओसामा मिसन सफल पार्नेतिर लागे । ओबामा लेख्छन्, ‘हामीसँग दुई विकल्प थियो । पहिलो एवाटावादमा हवाई आक्रमण गरी ध्वस्त बनाउने थियो । तर, यसो गर्दा यसको फाइदा अल काइदालाई नै हुन्थ्यो । यो आक्रमणमा जिम्मेवारी पाकिस्तानले लिने थिएन । पाकिस्तानलाई मौका पनि मिल्थ्यो, हामीहरूको ओसामासँग कुनै हात छैन भन्ने ।’ 

दोस्रो विकल्प घरमै हवाई आक्रमण गर्ने । यो योजना जोखिम थियो । क्षेत्र नै ध्वस्त पारिँदा ओसामा मरेको वा जिउँदो भन्ने पत्तो नै हुँदैनथ्यो, यदि अल काइदाले आफ्ना नाइके जिउँदो हुँदाहुँदै मृत्यु भयो भनी बताउँदा हामीसँग त्यसको जवाफ नै थिएन । फेरि एकजना व्यक्तिका लागि अन्य व्यक्तिको हत्या किन गर्ने प्रश्न पनि थियो ।’ ओबामाले ओसामाका लागि सयौँ व्यक्तिको हत्या नहुने भनी सहर ध्वस्त बनाउने योजना लागू नगरेको आत्मकथामा जनाएका छन् । उनले घरमै स्थल र हवाई आक्रमण गर्ने अनुमति ह्वाइटहाउसका ज्वाइन्ट चिफ अफलाई दिएको उल्लेख गरेका छन् । 

अफगानिस्तानबाट प्रवेश गर्ने योजना
राष्ट्रपति ओबामाले एवाटावादमा आक्रमण गर्ने अनुमति सैनिकलाई दिइसकेका थिए । तर, आक्रमण कसरी गर्ने भन्ने प्रश्न थियो । मिसन ओसामामा विशेष तालिमप्राप्त सैनिक मात्र समावेश गरियो । यसलाई स्पेसल एप्स मिसन भनिएको थियो । सैनिक हेलिकोप्टरले आक्रमण गर्दा छिटो गतिमा गर्नुपर्ने थियो । जसको सुइँको पाकिस्तानी सैनिक तथा पुलिसले समेत नपाओस् । अर्को अफगानिस्तानबाट प्रवेश गरी आक्रमण गर्ने थियो ।

यस विषयमा ओबामाले एडमिरल विलियमसँग छलफल गरेका थिए । एरियल फोटोग्राफीअनुसार ओबामाले थ्री डाइमेन्सन नीति अपनाएका थिए । यसमा विलियमले राम्रोसँग ओबामालाई बुझाए कि कसरी सहज तरिकाले आक्रमणमा सबै सुरक्षित रहने । योअनुसार अफगानिस्तानको जलालावादमा दुई हेलिकोप्टर मध्यरातमै उडान भर्ने र पाकिस्तानमा लक्ष्य पूरा गर्ने थियो । फेरि अर्कोतिर विशेष अमेरिकन सैनिकलाई पाकिस्तानी लडाकु विमानबाट सतर्क रहनुपर्ने थियो ।

विनाअनुमति अन्तर्राष्ट्रिय सिमानाभित्र प्रवेश गर्दा त्यसको प्रतिकार गर्ने अधिकार सम्बन्धित राष्ट्रको सुरक्षाकर्मीसँग सीमित छ । अमेरिकाले ‘मिसन ओसामा’मा पाकिस्तानसँग अनुमति लिएको थिएन । यसकारण पाकिस्तानी लडाकु विमानले आफूहरूको सैनिक हेलिकोप्टरमाथि आक्रमण गर्ने सम्भावना उत्तिकै थियो । 

ओबामा लेख्छन्, ‘धेरै समस्या थियो, हेलिकोप्टर आक्रमणमा प्रतिकार हुने अवस्था थियो, ओसामा बसेको घरमा टाइममा काम नहुँदा स्थानीय सुरक्षाकर्मीले अमेरिकी सैनिकलाई समाप्त पार्न सक्ने अधिकार थियो, यस्तो अवस्थामा के गर्ने अर्को प्रश्न थियो ।’ 

‘पाकिस्तानको सैनिकलाई अलमल्याएर हामीले काम ग¥यौँ,’ ओबामाले आफ्नो बायोग्राफीमा लेखेका छन् । हमलामा ओबामालाई पेनेटा, जोन ब्रेनेन तथा माइक मुलेनले साथ दिएका थिए । हिलारी क्लिन्टन र रक्षामन्त्री रोबर्ट गेट्सले यो अभियानको विरोध गरे । यस किसिमको योजनाले दुई देशबीचको सम्बन्ध बिग्रन सक्ने क्लिन्टन र रोबर्टले राष्ट्रपति ओबामालाई सुझाब दिएका थिए । 

२३ सदस्यीय दल
२ मे २०११ को मध्यरात ह्वाइटहाउस अप्रेसनको तयारीमा लाग्यो । त्यो रात ओबामालाई निद्रा खासै लागेन । चाँडै निद्राबाट उठेका ओबामा सहयोगी मार्भिन निकल्सनसँग बिहान गल्फ खेल्न गए । गल्फ कोर्सबाट फर्केर आएका ओबामाले मिसनमा कतिजना भनी सोधे । वास्तवमा मिसन ओसामामा २३ सदस्यीय दल थियो । रातिको २ बजे हेलिकोप्टर अफगानिस्तानको जलालावादबाट उडान भरेको थियो । सो टोलीमा एक काएरो नामको कुकुरसमेत समावेश थियो । 

अफगानिस्तानबाट एवाटावादमा आक्रमणका लागि तयार भएको खबर पाएपछि ओबामा सिचुएसन कोठामा पुगे । त्यहाँ उनी लाइभ भिडियो तथा स्याटेलाइट कनेक्सनमा बसे । यता ओबामाका खास सैनिक अधिकृत म्याकरवेन जलालावादमा थिए । उनी लगातार ओबामाकै सम्पर्कमै थिए । यता कन्फ्रेन्स टेबलमा हिलारी, जो बाइडेन (वर्तमान निर्वाचित राष्ट्रपति), डेनिस म्याक्डोना, गेट्स मिलने र एन्टनी ब्लिकेन्स थिए । मिसनको सफलता वा असफलताबारे पाकिस्तानलगायत अन्य देशलाई पनि जानकारी दिने ओबामाले कन्फ्रेन्समा रहेकालाई बताए । 

ओबामा लेख्छन्, ‘जब हेलिकोप्टर पाकिस्तान प्रवेश गरेको खबर पाएँ, मेरो पूरै ध्यान लाइभमा थियो, कुन वेला म आफ्नो टेबलबाट उठेँ थाहा नै भएन, निलो लुगा लगाएका ब्रिगेडियर जनरल ब्रेन्ड बेवले कम्प्युटर अगाडि राखे । बेवले मलाई कुर्सी दिन प्रयास गरे । तर, म उठेर नै ओसामाको पतन हेर्न चाहिरहेको थिएँ । ओसामा बसेको घरमा एउटा हेलिकोप्टरको पंखा ठोक्किन पुग्यो ।

त्यो हेलिकोप्टरका क्याप्टेन अमेरिकन सैनिकका अनुभवी क्याप्टेन थिए । ती क्याप्टेनले सम्भावित दुर्घटना हुनबाट रक्षा गरे । एवाटावादमा सैनिक आक्रमण चलिरहेको थियो । ह्वाइटहाउसमा करिब २० मिनेट सन्नाटा छाएको थियो । किनभने यो समयमा केही सूचना प्राप्त भएन । ओबामा मिसन सफल वा असफल भयो भनी प्रतीक्षामा थिए ।
‘त्यो २० मिनेटमा मनमा धेरै कुरा खेलेको थियो, कसैले पनि त्यहाँ के भइरहेको थियो भन्ने बताउन सकिरहेका थिएनन्, यद्यपि हामी लाइभमै थियौँ,’ ओबामाले अटोबायोग्राफीमा उल्लेख गरेका छन्, ‘एकजना सैनिक जवान चिच्याउँदै ‘ओसामा नो मोर’ भनी आए । त्यसपछि सबैले लामो सास फेरे ।’ 

बाइडेनद्वारा बधाई

एवाटावादमा अल काइदाका शीर्ष तथा एक नम्बरका आतंककारी ओसामालाई मार्न सफल भएपछि ह्वाइटहाउसमा खुसियाली छाएको थियो । मिसन पूरा भए पनि २० मिनेटसम्म ह्वाइटहाउसबाट कोही बाहिर निस्किएनन् । हेलिकोप्टर अफगानिस्तान पुगेपछि मात्र एक–आपसमा बधाई कार्यक्रम भयो । राष्ट्रपति ओबामालाई पहिलो बधाई दिने व्यक्ति जो बाइडेन थिए । उनी त्यसवेला उपराष्ट्रपति थिए । 

बाइडेनले भने, ‘बधाई छ बोस ।’ उता म्याकरेनले भिडियो कन्फ्रेन्समा भने, ‘मेरोअगाडि ओसामाको लास छ, हामीले यो लास त्यत्तिकै नाप्दा ६ फिट २ इन्चको पायौँ ।’ लाइभ कार्यक्रममै ओबामाले म्याकरेवनलाई भने, ‘तपाईं विल यति ठूलो सैनिक भएर पनि साथमा नाप्ने टेप लानुपर्ने थियो नि कसरी बिर्सनुभयो ।’ ओबामाले आफ्नो बायोग्राफीमा ओसामालाई समुद्रीको गहिराइमा गाडेको बताएका छन् । यस कार्यमा अमेरिकी पानीजहाज कप्तान कार्ल विन्सनलाई जिम्मेवारी दिइएको थियो । ओसामाको शवमा एक सय ५० केजी फलाम झुन्ड्याइएको थियो । 

–एजेन्सीको सहयोगमा