१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २८ आइतबार ०८:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

टर्कीका लेखक एर्दोआनका बालकथा अब नेपालीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २८ आइतबार ०८:५२:००

टर्कीका चर्चित लेखक फती एर्दोआनका बालकथा अब नेपाली भाषामा प्रकाशन भएको छ । उनले लेखेका कथालाई नेपालीमा भिक्टर प्रधानले अनुवाद गरेका हुन् । बालबालिकासम्बन्धी किताब प्रकाशन गर्ने कथालय इन्कले एर्दोआनले लेखेको ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ र ‘म ढिलो भएँ’ बालकथा प्रकाशित गरेको हो ।

सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन् । एकदिन उनले अचम्मको समाचार पढ्छिन्– चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदै छ । उनलाई यो कुरा पढेर अब के हुने हो भन्ने चिन्ता लाग्छ । त्यो उल्काले पृथ्वीलाई ठक्कर दिन लागेको थाहा पाएपछि उनको चिन्ता झनै बढ्छ ।

तर, सुपरमु सजिलै हार मान्ने गाई होइनन् । उनले इन्टरनेटबाट साथीहरूसँग यो समस्याबारे छलफल गर्छिन् । उनीहरू सबै मिलेर एउटा उपाय निकाल्छन् । त्यो उपाय के होला ? सुपरमुले र उनका साथीहरूले पृथ्वीलाई कसरी बचाए होलान् ? पाठकमा यस्तै प्रश्न र जिज्ञासा जगाउने रमाइलो कथाका चित्रहरू पनि आकर्षक छन् । यसले कथालाई अझै रोचक बनाएको छ । किताब आठ–नौ वर्षका बालबालिका लक्षित छ ।

त्यस्तै, ‘म ढिलो भएँ’ बालबालिकाका लागि लेखिएको उनको अत्यन्तै चर्चित बाल पुस्तक शृंखला हो । हालसम्म यो शृंखलाको १० लाखप्रति बिक्री भइसकेको छ । यो किताब अंग्रेजी, चाइनिज, बोस्नियन, अजरबैजानी, अरबिक, मलयामी आदि भाषामा प्रकाशित भइसकेको छ ।

म्याभीबुलुत किताबको मूल प्रकाशक हो । टर्कीमा १९८० मा स्थापना भएको माभीबुलुत बालबालिका केन्द्रित किताब निकाल्ने पहिलो बालसाहित्य प्रकाशन गृह हो । यसको स्थापना लेखक फती एर्दोआनले गरेका हुन् । बालसाहित्यमा करिब ७० वटा किताब लेखिसकेका उनको १० लाखभन्दा बढी किताब बिक्री भइसकेका छन् । 

सन् १९८० मा एर्दोआनले लेखेको पहिलो किताब ‘पान एन्ड हिज फ्लावर’ले बेस्ट पिक्चर बुक अवार्ड पाउन सफल भएको थियो । त्यसयता हरेक वर्षजस्तै उनी उत्कृष्ट लेखक वा बालसाहित्यको सूचीमा पर्दै आएका छन् । टर्कीका उत्कृष्ट किताब र लेखकको सूचीमा पटक–पटक पर्दै आएका उनले कैयौँ राष्ट्रिय पुरस्कार जितेका छन् । उनी बालसाहित्यकै विश्व प्रतिष्ठित एस्ट्रिड लिन्डग्रेन मेमोरियल अवार्ड (एलएमए)का लागि २०१६ देखि २०१९ सम्म लगातार मनोनीत भएका थिए ।

मेसिडोनियन र नेपाली भाषामा प्रकाशित ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ आठ हजारप्रति बिक्री भइसकेको छ । ३४ पृष्ठको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ । २० पृष्ठको ‘म ढिलो भएँ’ पुस्तकको मूल्य १५० रुपैयाँ तोकिएको छ ।