मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर २८ आइतबार ०६:३९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा शतबीज छरी मनाइँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर २८ आइतबार ०६:३९:००

आज बालाचतुर्दशी, पितृको सम्झनामा शतबीज छरी मनाइँदै छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने याे पर्व शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने भक्तजनको संख्यामा उल्लेख्य कमी आयो । 

बालाचतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गर्दछन् । तर, यस वर्ष कोरोना फैलने डरले दीपदान नगर्न पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको थियो । यद्यपि पशुपति आएका भक्तजनलाई शनिबार राति ९ बजेसम्म मात्रै दीपदान गर्न दिइएको थियो ।  मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान गरी चतुर्दशीका दिन बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । 

पशुपतिमा  दिवंषत पितृका नाममा  शनिबार साँझ दीपदान गर्दै भक्तजन 

पशुपतिमा सामाजिक दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।  

यस्तो छ किंवदन्ती      

भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको गौतमले बताए ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । 

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै वेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसैबखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै वेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंषत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।  

मातापिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने समितिका अध्यक्ष गौतमले बताए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।