यश कुमारसँग ७२ घन्टा

२०७५ माघ २६ शनिबार ०७:४५:००

काठमाडौंबाट जनकपुर हिँडेको बुद्ध एयरको जहाज आकाशमा पखेँटा रन्काइरहेको छ । ऊ आहारा खोज्न होइन, गन्तव्यमा पु-याउनका लागि मान्छे बोकेर एकोहोरो उडिरहेको छ । सानो झ्याल छ । अलि हुनेखाने महिलाले मेकअप टेबलमा राखेको कलात्मक ऐनाजस्तो झ्याल । झ्यालभन्दा पर हिमाल देखिन्छ, त्यो पनि आफ्नो पैतालामुनि हुन्छ भन्थे भन्नेहरूले त । तर, यसपटक नांगो आँखाले आफूलाई नांगै देख्छ भनेर होला, हिमालले बादल पहिरिएको छ । सायद, आज हिमाललाई कुनै क्यामरामा बन्दी हुन रहर छैन ।
कहिलेकाहीँ आफ्नै सुर र तालमा बाँच्न मान्छेलाई मात्र मन पर्दैन क्यार ! 

हामी फिल्मी संवादमा थियौँ । मजिद मजिदीदेखि सत्यजित रे हुँदै झन्डै शताब्दीअघिको ‘बाइसाइकल थिप्स’सम्म पुग्यौँ । किम कि दुकसँग पनि संवाद ग¥यौँ । यी सबैसम्म पुग्नका लागि मलाई मित्र योगराजले एक समय खुबै सहयोग गरेका थिए । कलात्मक फिल्मको मन्टेस्वरीमा भर्ना हुनमा उसको ठूलो भूमिका छ । उसकै कारणले गर्दा आमदर्शकभन्दा अलि मास्तिर उठेर फिल्मलाई हेर्न थालेँजस्तो लाग्छ । अहिले भने मित्र कपिलसँग फिल्मका कुराहरू भइरहन्छन् । गेन्जालोजको प्रयोगदेखि टर्किस निर्देशक माइकल हेनेकेले दर्शकलाई दिएको यातनासम्म हामी पुग्छौँ । 

यश कुमार दाइसँग पनि यस्तै कुरा भए । उही फिल्मका, उही गीत–संगीतका । नेपाली फिल्मले बजार खोज्न नजानेकोप्रति भने हामी दुवैको सहमति भयो । विदेशमा प्रिमियर सो भन्यो, अनि विदेशमा पनि नेपाली नै दर्शक खोजेर हिँड्नु नै गल्ती भइरहेको मतमा सहमत भयौँ । यश दाइले आफ्नो फिल्म ‘छिरिङ’माथि मलाई घोर आलोचनात्मक हुन आदेश दिए । मैले किरिङमिरिङ मत जाहेर गरेँ । फिल्म अंग्रेजीमा आउँदै रहेछ, गीतलाई कटाएर । दाइलाई एक अँगालो बधाई दिएँ ।

करिब १९ मिनेटमा आधुनिक चिल जनकपुर एयरपोर्ट ओर्लियो । १९ मिनेटमा १७ मिनेटजति त अक्षर भुरुरु उडे, आकाशमै छुटे । ती नाबालक अक्षर उडेर कहाँ पुगे होलान्, कुनै दिन त फर्कनेछन् पक्कै पनि । भर्खर सिमसिम पानीमा रुझेको एयरपोर्टको कामुक बाटोमा हाम्रा पदचाप निर्बाध रूपमा क्रिडारत रहे । बाहिर गेटमा एक तराई मूलका टेम्पोचालक हामीलाई अपेक्षा नै अपेक्षा भरिएका आँखाले हेरिरहेका छन् । उनको आँखाबाट निस्केको वाक्यको अन्तिममा प्रश्नवाचक चिह्न खडा भएको थियो, ‘कहाँ जाने हो ?’ सायद, उनी आफ्नो खल्तीमा केही रकमलाई प्रवेश गराउन चाहन्थे । केही बुँद पसिना खसाल्न चाहन्थे र चुलो बाल्न चाहन्थे । उसको आँखा यस्तै–यस्तै केही बोलिरहेको थियो ।

उनका सारा चाहनाविरुद्ध भारतीय नम्बरप्लेटमा उभिएको बोलेरोले ‘कु’ ग-यो । हामीलाई लिन भनेर गुरुसरन सदा आएका रहेछन् । हाम्रो ज्यान गाडीमा बसेर सिरहा–गोलबजारतिर हुइँकियो । त्यतातिर भारतीय नम्बरप्लेट चल्नुको कारण सस्तो भाडामा पाइने रहेछ गाडी । अधिकांश सवारीचालक त्यस्ता गाडी चलाएरै उदाएको घाम र अस्ताएको घाम सजिलै हेर्न चाहँदा रहेछन् । आखिर हामीले खोज्ने भनेकै त सजिलो हो, गाह्रो भएर त हाम्रा हाँसो मुर्झाएको फूलजस्ता हुन्छन् । 

बाटाभरि यश कुमार दाइको गीतको प्रसंग आयो । संगीत कम सिकेका उनले गीत आफैँ लेखे, संगीत भरे र गाए । चालकले भोजपुरी गीत बजाइरहेका थिए । ‘नेक्स्ट’ बटम थिचे, गीत बज्यो, थाकेको यो नजरमा... । तर, हामी भने थाकेका थिएनौँ । कता–कता सुनेका मुसहरको बस्तीमा जाँदै थियौँ जसको जीवनको घडी सधैँ मालिकको हातमा चल्छ, भाग्यरेखा मालिकको हत्केलामा हुन्छ । जब समय चलेको आफैँले थाहा पाइन्न, मान्छेले सपना नै नदेख्दा रहेछन् । सपना देख्नका लागि पनि प्रतिकूल या अनुकूल जे भए पनि आफ्नै नाडीमा घडी चल्नुपर्दो रहेछ, आफ्नै मर्जीमा भोग्नुपर्दोरहेछ दुःख पनि । 

गुरुशरणको कुराले यस्तै कुराहरूलाई दबाब दिन्थ्यो । जब मानिसले आफूलाई विश्वास गर्दैनन्, तब न उसले दबाब दिएर कुनै कुरालाई प्रस्ट्याउन खोज्छ । गुरुशरणको कुरामा पनि दबाब त थियो, तर मीठो दबाब । हामी उसका कुराले दबिएका छौँ, तर खुब चाख मानेर दबिएका छौँ । बाटोमा खानेकुराको पनि प्रसंग आयो । स्थानीय खाना के छ, त्यही खाने कुरा भयो । ठ्याक्कै बाटोमै यश दाइले देखे, कटिया (माटोको भाँडोमा कोइलाको रापमा मात्र पकाइएको खसीको मासु) ।

हामीभन्दा विपरीत साइडमा थियो त्यो पसल । ड्राइभरले सुस्तरी चनाखो भएर गाडीलाई घुमाए । जीवनमा जब मोड आउँछन् या जब विपरीत दिशामा फर्कनुपर्छ, निकै सचेत हुनुपर्छ । नत्र जीवनको गाडी दुर्घटनामा पर्छ । ७० को स्पिडमा हिँडिरहेको गाडीलाई १५ को स्पिडमा ल्याएर घुमाइरहेको ड्राइभरको व्यवहारले यही भनिरहेको छ ।

हाम्रो गाडी कटिया पसलअघि उभियो । सबैले एउटा सेल्फी पनि लियौँ । अहिलेका सम्झना छोटा भएका छन् । पहिलेका लामा हुन्थे, डायरीमा बाँचिरहन्थे, निजी हुन्थे । अहिले त सम्झना अति छोटा हुन्छन्, अनि सार्वजनिक पनि । खासमा सम्झना निजी तवरमा बाँच्दामै मीठा हुनेरहेछन् । हतारमा छौँ हामी सारा मानिस, तर पुग्नका लागि त्यस्तो चमत्कारी ठाउँ कहीँ छैन, मृत्युको अन्तिम गेटबाहेक । सिरहा गोलबजार साँझमा पुग्यौँ । अक्सर पुग्न चाहेको ठाउँमा साँझमै पुगेको राम्रो । उज्यालो र अँध्यारोको मधुर प्रेम भइरहेका वेला पुगेर सुस्ताउनुको आनन्द अर्कै हुने गर्छ । तर, हामी सुस्ताएनौँ, तात्यौँ । 

मधेस आन्दोलनको पूर्वी नाका सिरहा तातो नै रहेछ । केन्द्रबाट हेर्ने नजर मात्र चिसो लाग्यो । मान्छेहरू पनि  उस्तै ताता ।
 

यश दाइले नयाँ फिल्मको ‘वन लाइन स्टोरी’ सुनाए । उनका फिल्मले जो–कोही दर्शकलाई तान्दैनथे । न त हिरोको इन्ट्री हुँदा सिठी फुक्ने दर्शकले नै मजा लिने किसिमका थिए । स्टोरी नै स्लो थियो, तर फिलोसोफिकल । कमर्सियल एप्रोचबाट बनाउनै नसकिने, दर्शक खोज्नलाई प्रचार गरेर हिँड्न नपर्ने । हलबाट उठिसकेपछि मात्र मजाले चल्ने स्टोरी । केही छोटेमोटे बहस भए हामीबीच । 

भोलि कार्यक्रम थियो आफ्नै माटोमा शरणार्थीजस्ता मुसहरको । मधेस आन्दोलनको पूर्वी नाका सिरहा तातो नै रहेछ । केन्द्रबाट हेर्ने नजर मात्र चिसो लाग्यो । मान्छे पनि उस्तै ताता । काठमाडौंमा पानी छुन डराउने म खुब मजाले नुहाएँ । तर, जति सफा देखिए पनि मन सफा गर्न त चेतना चाहिने रहेछ । नुहाउँदै गर्दा बोध भयो । यश दाइका केही गीत र मेरा केही कविता आधा रातको भागमा प-यो । बाँकी आधा रातलाई हामीले मीठो निद्रा दियौँ लियौँ ।

बिहानै घाम सुस्तसुस्त महेन्द्र राजमार्गमा पोखिँदै रहेछ । हामी बसेको होटेलको नाम, एलिसा होटेल । नामै मीठो । एलिसा होटेलको ‘होटेल’ हटाउने हो भने नामले मीठो भाइब्रेसन दिन्छ । समयले टुक्क ठुंगेर फक्रक्क फुलेको फूलजस्ती युवतीको नाम । घामको कोमल स्पर्शमा तरंगित र काल्पनिक हुने युवतीको नाम । कतैबाट आएको पैतालाको आवाजले चनाखो हुने युवतीको नाम । दाइ सुतिरहेका थिए । 

हरेक दिन १२ बजे मात्र मेरा लागि घाम झुल्कन्थ्यो, आज भने चाँडो झुल्कियो । कोठाबाट बाहिर निस्किएँ । गमलामा एलिसाजस्ती फूल फुलेकी रहिछे । सफेद सेतो फूल । जसको आँखामा गाजलले लेखिदिन पाए... । ओठमा लिपिस्टिकले लेखिदिन पाए... । लेखेर थाकिन्नथ्यो होला । भनेको कुरा यसरी पाउने भए, संसार किन यति धेरै लफडामा पथ्र्याे होला र !
कहिलेकाहीँ त सृष्टिकर्तालाई पनि विरक्त लाग्दो होला ।

आफैँले बनाएको मानिस आफैँ झगडा गरेर बस्छ । आफैँले बनाएको संसार नामक पेन्टिङमा मानिस नराखेको भए या मानिसमा चेतना नराखेको भए ! आहा, संसार कति गजब हुँदो होला । यसरी नै सोच्दो होला । आफ्नै पेन्टिङ हेरेर मुर्म‘रिँदो होला । पेन्टिङ बनाउँदा प्रयोग भएका रङका बट्टा, सुकेर अरट्ठ बनेका कुची लातले पर पुग्ने गरी हु-याउँदो हो । आफ्नै औँलासँग पनि रिस उठ्दो हो, झट्कार्दो हो औँला । खुट्टा जोडले बजार्दो हो भुइँमा । आँखा चिम्म गर्दो हो र भन्दो हो आफैँलाई, मसँग पनि कमजोरी छन् ।

यति सोचिसकेर मनमनै भनेँ, आहा ! सृष्टिकर्तासँग पनि कमजोरी छन् यार ! होटेलको अगाडि सपना लोड गरिएका बस हुइँकिरहेका छन् । रोडमा बसले थरीथरीका सपना हुइँकाइरहेका छन् । कुनै सपना प्रेमको युद्धमा परेर घायल होला, कुनै सपना अन्तर्वार्तामा फालिएको होला, कुनै सपना तिरस्कारको चपेटामा परेको होला । आ, जेसुकै होस् । अब हामीलाई कार्यक्रममा निस्कनु छ ।

कार्यक्रम सकियो । हामी दोस्रो दिन सहर छि-यौँ । आउँदा सुमोमा आएका थियौँ । सिन्धुलीको घुम्तीहरूमा स्मृति छुट्दै गए । यश दाइका गीत बज्दै गए, सकिँदै गए । दोहोरिँदै गए । नदोहोरिने भनेको त हामी मानिस न हौँ । हाम्रो भेट जति मीठो थियो, छुटाइ पनि उस्तै नै भयो । किनभने हामीलाई थाहा थियो, फेरि पनि भेट हुनेछ । हरेक भेट नछुटिएसम्म पूर्ण हुनै सक्दैन । लगभग ७२ घन्टापछि हामी छुटियौँ । ७२ घन्टामा समयले थुप्रै स्मृति छाडी गएको छ । हामी पनि यसरी नै केही न केही छाडेर संसारबाट जानेछौँ र जीवन पूर्ण हुनेछ । मृत्युको ढोका पार नगरेसम्म मानिस पूर्ण हुन सक्दोरहेनछ । 

प्रतिकृया दिनुहोस