मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी
२०७७ मङ्सिर २६ शुक्रबार १५:५८:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर २६ शुक्रबार १५:५८:००

अमेरिकी विज्ञहरूले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड– १९ को खोप व्यापक रूपमा लगाउने बाटो खुलेको छ । 

संयुक्त राज्य अमेरिका विश्वमै कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । यहाँ विगत ४८ घन्टाको अवधिमा ६ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

पछिल्लो मृत्युदर बढेसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

उत्तरी गोलार्द्धका मुलुकहरूमा चिसो बढेर कोरोना संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको ठानिएको बेलायतमा यसै साता फाइजरको खोपलाई स्वीकृत गरी आम रूपमा खोप लगाउन थालिएको छ । 

क्यानडा, बहराइन र साउदी अरेबियाले पनि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरिसकेका छन् । 

युरोपेली युनियनका मुलुकहरूले पनि फाइजरसमेतका कम्पनीका खोपलाई स्वीकृत गर्नेबारेमा छलफल गरिरहेका छन्।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले आयोजना गरेको विज्ञहरूको बैठकमा १७ जनाले फाइजरको खोपको पक्षमा मतदान गरेका थिए भने चारजनाले विपक्षमा र एक जना अनुपस्थित रहेका थिए ।

यद्यपि यो मतदान बाध्यकारी भने छैन, तर आपतकालीन प्रयोगको बाटो खोल्न यो मतदानले विशेष महत्व राख्नेछ । 

न्यू इंग्ल्यान्ड मेडिसिन जर्नलले फाइजरको खोप लगाएका करिब ४४ हजार व्यक्तिमाथि गरिएको क्लिनिकल परीक्षणको पूर्ण विवरण प्रकाशन गरेको छ जसले फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको र खोप लगाउने व्यक्तिमा कुनै गम्भीर शारीरिक असर नदेखिएको जनाएको छ । 

जर्नलको सम्पादकीयमा फाइजरको खोपको नतिजा कोभिड– १९ विरुद्ध ठूलो विजय हो भनिएको छ । 

कोरोना भाइरस महामारीबाट विश्वभर १५ लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकाले यसै डिसेम्बर महिनाभित्र दुई करोड मानिसलाई खोप लगाउने योजना अघि बढाएको छ जसमा केएर होममा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरू पहिलो प्राथमिकतामा छन् ।