१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर २५ बिहीबार १७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पौडेलको प्रश्न– दुईतिहाइ हाराहारीको सरकार कसरी कमजोर ?

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २५ बिहीबार १७:५३:००

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको अवस्था कमजोर नभएको दाबी गरेका छन् । बिहीबार हेटौँडामा भूमिसम्बन्धी समस्या समाधान आयोग काठमाडौंले लालपुर्जा वितरणका लागि बागमती प्रदेशका स्थानीय तहसँग सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संघीय र प्रदेश सरकार दुवै कमजोर अवस्थामा नरहेको दाबी गरेका हुन् । 

सरकारको अवस्था कमजोर रहेको भन्ने हल्ला झुठो भएको बताउँदै उनले संघीय र प्रदेश दुवै सरकार दुईतिहाइको हाराहारीमा रहेको हेक्का राख्न अनुरोध गरे । ‘दुवै सरकार करिब दुईतिहाइको हाराहारी छ ।’ उनले भने ‘यस्तो अवस्थामा सरकार कसरी कमजोर हुन्छ ?’ सरकार छिट्टै ढल्छ भन्दै देशमा अस्थिरता सिर्जना गर्न खोजिएको उनले आरोप लगाए । देशलाई अस्थितरतातर्फ लैजान र पुरानै शासन पद्धतितर्फ पुनरावृत्ति गराउन यस्तो झुठो हल्ला गरिएको उनको भनाइ छ । 

तीन तहको सरकारबीच केही विषयमा समन्वय अभावका कारण योजनाअनुसारको काम अघि बढाउन नसकेको स्विकारे। तीन तहको सरकार तीन दिशामा फर्किएका कारण समन्वय अभाव रहेको उनले 
बताए ।
 
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः प्रमुख प्रतिपक्ष कांग्रेस

सोही कार्यक्रममा प्रमुख प्रतिपक्ष कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले तीनै तहको सरकारको कामले जनतालाई संघीयताप्रति वितृष्णा पैदा भइरहेको दाबी गरे । ‘तीनै तहको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन’ उनले भने ‘सरकारले समयमै आफ्नो कार्यशैलीमा सुधार ल्याउन जरुरी छ ।’ 

जनताको योगदानले प्राप्त उपलब्धि र व्यवस्थालाई सदुपयोग गर्दै यसको संरक्षण गरेर जनअपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ छ । ‘पुरानै शासन पद्धतिमा फर्किने र देशलाई अस्थिर बनाउने छुट कसैलाई छैन’ उनले भने ‘त्यसैले दलहरूले आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्दै जनअपेक्षाअनुसार जिम्मेवारी निर्वाह गर्नैपर्छ ।’