मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभागको आयोजनामा मंगलबार सगरमाथाको उचाइ घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीन सरकारका स्ट्रेट काउन्सिलर वाङ ईले संयुक्तरुपमा घोषणा गर्दै । तस्बिर : रासस
२०७७ मङ्सिर २४ बुधबार ०६:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र चीनका राष्ट्रपतिले भने–  दुई देशको सम्बन्ध सगरमाथाजस्तै

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २४ बुधबार ०६:४१:००

- सगरमाथा दुई देशको सम्बन्धको प्रतीक : राष्ट्रपति भण्डारी

- नेपाल र चीनबीच अनन्त मित्रताको प्रतीक : राष्ट्रपति सी

सगरमाथाको नयाँ उचाइ (८८४८.८६ मिटर ) घोषणा कार्यक्रममा नेपाल र चीनका राष्ट्रपतिले एक–अर्कालाई पठाएको बधाई सन्देशमा विगतका भ्रमणको चर्चा गर्दै सम्बन्ध सगरमाथाजस्तै उच्च हुने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो चीन भ्रमण र गत असोजमा चिनियाँ समकक्षीको नेपाल भ्रमणपछि सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गरेकी छिन् । चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँग राजनीतिक विश्वास बढेको बताएका छन् । 

मंगलबार नापी विभागमा आयोजित सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई पठाएको सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुनाएका थिए । सन्देशमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरेकी छिन् । उनले सगरमाथा दुई देशको सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै नेपाली जनताको गर्वको विषय सगरमाथा भएकोसमेत स्पष्ट पारेकी छिन् । 

समकक्षीलाई पठाएको सन्देशमा राष्ट्रपति भण्डारीले दुई देश सधैँ असल मित्र र विश्वसनीय साझेदारका रूपमा अघि बढिरहेको उल्लेख गरेकी छिन् । उनले बहुआयामिक सीमापार सम्पर्क सञ्जाल (ट्रान्स–हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क)को ढाँचामा नेपालसँग सहयोगको रणनीतिक साझेदारीमा अघि बढ्ने गत वर्षको सहमति स्मरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै चिनियाँ समकक्षीले अघि सारेको बिआरआईमा नेपाल प्रवेश गरेको र पछिल्लो समयमा सम्बन्ध थप सुदृढ भएको बताएकी छिन् । 

राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा चिनियाँ समकक्षी सीले पछिल्ला दिनमा नेपाल र चीनबीच राजनीतिक विश्वास बढेको बताएका छन् । ‘नेपालको एकता, स्थिरता र विकासका लागि चीन सहकार्य गर्न तयार छ,’ चिनियाँ राष्ट्रपतिले भनेका छन् । सगरमाथा नेपाल र चीनबीच अनन्त मित्रताको प्रतीक भएको उनको भनाइ छ । उनले हिमाली क्षेत्रमा थप अध्ययन–अनुसन्धान गर्न र वातावरण संरक्षणका लागि नेपालसँग सहकार्य गर्ने गत वर्षको सहमति पनि स्मरण गरेका छन् ।

दुई राष्ट्रपतिले एक–अर्कालाई पठाएको चिठीमार्फत सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर घोषणा गरेका थिए । नेपाल र चीनबीच ६० वर्षअघि सीमा विवाद सुल्झिनेक्रममा सगरमाथाको उचाइ नेपालमा पर्ने, उत्तरी मोहोडा चीनमा र दक्षिणी मोहोडा नेपालमा पर्ने सहमति भएको थियो । तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपाल भ्रमणमा आउँदा चीनले सगरमाथाको दाबी छाडेको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको उचाइको स्पिरिटमा नेपाल र चीनबीच धेरै काम गर्न बाँकी रहेको बताएका छन् । उनले सगरमाथाको उचाइ घोषणाको दिनलाई ऐतिहासिक भनेका छन् । नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गरे पनि मापनका लागि प्राविधिक काम भने बेग्लाबेग्लै गरेका थिए ।

नेपाल सरकारले चाहिँ पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गरेको हो । यसअघि सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यही आधारमा सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर भनिँदै आएको थियो ।