संविधानसभा निर्वाचनअघि बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जिउँदैै जलाएकोसम्बन्धी मुद्दामा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् ।
उनलाई आइतबार राति रौतहटको मौदीमाई नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । २७ चैत, ०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा महताब फरारको सूचीमा थिए । घटनाका मुख्य योजनाकार मानिएका पूर्वमन्त्री एव कांग्रेस सांसद आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ मा राजपुरस्थित शेख इद्रिसको गोठघरमा बम विस्फोट भएको थियो । स्थानीय बासिन्दाका अनुसार बम बनाउने क्रममा विस्फोट भएको थियो । विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोप लागेको थियो । त्यसैमध्येका एक यमुनामाई गाउँपालिकाको सरुअठाका श्रीनारायण सिंहले आफ्ना छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई इँटाभट्टामा हालेर जलाएको भन्दै जाहेरी दिएका थिए ।
उनको जाहेरीको आधारमा प्रहरीले २६ असोज ०७६ मा तत्कालीन सांसद एवं पूर्वमन्त्री आलमलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतले २९ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गरेको थियो । अहिले उनलाई रौतहट कारागारबाट काठमाडौंको नख्खु कारागार सारिएको छ । त्यही मुद्दामा उनका भाइ महताब पक्राउ परेका हुन् ।
राजपुर बमकाण्डमा संलग्न व्यक्तिहरूविरुद्ध १९ कात्तिकदेखि जिल्ला अदालत, रौतटहमा साक्षीको बकपत्र गराउन थालिएको थियो । अहिलेसम्म वादी र प्रतिवादी गरी १८ जनाको बकपत्र भएको छ भने २० जनाको बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार सुशील यादवले बताए ।